close

हाइड्रोजनबाट चल्ने रासायनिक मल कारखाना नेपालमा कति सम्भव ?

टेकपाना टेकपाना

साउन २३, २०७९ १८:४०

हाइड्रोजनबाट चल्ने रासायनिक मल कारखाना नेपालमा कति सम्भव ?

काठमाडौं । नेपालमा हाइड्रोजनको प्रयोगबाट रासायनिक मल उत्पादन गर्ने विषयमा नीतिगत छलफल सुरु भएको छ । लामो समयदेखि चासोको विषय बन्दै आएको हरित हाइड्रोजन उपयोग गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समेत चासो देखाएकी छन् ।

नेपालमै रासायनिक मल उत्पादन गर्ने भन्दै सरकारले त्यसका लागि बजेटमा समेत समावेश गरिसकेको हो । तर यो विषयले ठोस रूप लिन सकेको छैन ।

केही दिनअघि मात्र मन्त्री भुसालले काठमाडाैं विश्वविद्यालयसँग रासायनिक मल उत्पादनमा हाइड्रोजन प्रयोग गर्न सकिने सम्भाव्यताको विषयमा चासो राखेकी थिइन् ।

उनले त्यसका लागि आवश्यक नीतिको विषयमा समेत सुझाव मागेको काठमाडौं विश्वविद्यालय अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका संयोजक विराजसिंह थापाले बताए ।

“सोही अनुसार हामीले नीतिगत मस्यौदा उहाँहरूलाई उपलब्ध गराएका छौँ,” उनले भने, “उक्त मस्यौदा अध्ययन गरेपछि उहाँले हामीलाई छलफलका लागि बोलाउनु थियो ।” 

आइतबार ऊर्जा मन्त्रालयको टिम र काठमाडौं विश्वविद्यालयको टोलीबीच उक्त विषयमा छलफल भएको थियो । त्यसक्रममा आफूहरूले यसका लागि नीतिगत व्यवस्था भइसकेकाले अब कानूनी व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले बताए ।

“कानूनी व्यवस्था भइसकेपछि लगानी गर्न तथा अन्य काम कारबाही अगाडि बढाउन सहज हुन्छ,” उनले भने, “अहिले स्पष्ट कानून नहुँदा कुन मन्त्रालय अन्तर्गत यो प्रक्रिया अघि बढाउने भन्ने विषय अन्यौलमा रहेको छ । त्यसैले यसका लागि तत्काल कानूनी व्यवस्था गरिदिन सुझाएका हौँ ।”

काठमाडौं विश्वविद्यालयको अध्ययन प्रतिवेदनले खाद्य उत्पादन, ऊर्जा सुरक्षा, कार्बन उत्सर्जन न्यूनीकरण लगायतका हिसाबले प्राविधिक रूपमा नेपालकै पानी र बिजुली प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिबाट रासायनिक मल उत्पादन सम्भव र सहज देखाइसकेको छ ।

नेपालमा विद्युत महसुल एकदमै सस्तो भएकाले त्यसबाट हरित हाइड्रोजन उत्पादन सहज र सम्भव देखिएको हो । पेट्रोलियम पदार्थको साटो बिजुलीबाट हाइड्रोजन उत्पादन गरी कार्बन उत्सर्जन न्यूनीकरण हुने गरी रासायनिक मल उत्पादन सम्भव रहेको थापाले बताए ।

उत्पादित बिजुली खेर जान नदिन हरित हाइड्रोजनमा जानुपर्ने तर्क विज्ञहरूले दिँदै आएका छन् । सामान्य प्रविधिले तयार हुने रासायनिक मलमा कार्बनडाइअक्साइड मिश्रित हुन्छ । त्यस्तो मल बालीनालीमा राखिसकेपछि बोट बिरुवाले नाइट्रोजन मात्र पकड्ने भएकाले कार्बन उडेर जान्छ ।

“तर ग्रिन हाइड्रोजन प्रविधिबाट उत्पादन गरिने रासायनिक मलमा कार्बन प्रयोग गर्नु पर्दैन,” ल्याबका संयोजक थापाले भने ,”तर अहिले बङ्गलादेशबाट आउने रासायनिक मलमा मिश्रित कार्बन नेपालमा आएर उत्सर्जन भइरहेको हुन्छ ।”

छलफलका क्रममा ऊर्जा मन्त्री भुसालले यसका लागि प्रधानमन्त्री र अन्य सरोकारवाला मन्त्रालयका मन्त्रीहरूको सहभागितामा विज्ञ सहितको छलफल आयोजना गर्ने बचन दिएकी छन् ।

सोही उच्च स्तरीय छलफल पश्चात हाइड्रोजन तथा रासायनिक मल उत्पादनलाई व्यवस्थित गर्न आवश्यक कानूनी व्यवस्था गरिने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३