close

इजरायलको जागिर छोडेर पब्जीकै लागि नेपाल फर्किएकी लेडी स्ट्रिमर वाइफी (भिडिओसहित)

गणेश सुवेदी गणेश सुवेदी

भदौ ३, २०७९ १४:२४

इजरायलको जागिर छोडेर पब्जीकै लागि नेपाल फर्किएकी लेडी स्ट्रिमर वाइफी (भिडिओसहित)

काठमाडौं । पब्जी नेपाली युवाहरू माझ लोकप्रिय अनलाइन गेम हो । पब्जी सार्वजनिक भएदेखि नै यो गेमले नेपालमा निकै लोकप्रियता पाएको छ । यो गेम मनोरञ्जनको माध्यम मात्र नभएर अहिले धेरैका लागि आयआर्जनको स्रोत पनि बनेको छ ।

नेपालमा अहिले पब्जी खेलेरै नाम र दाम कमाउनेहरू थुप्रै भेटिन्छन् । पुरुषहरूको बाहुल्यता रहेको  यो क्षेत्रमा आफूलाई सफल स्ट्रिमरको रूपमा स्थापित गर्न सफल एउटा महिला नाम हो,  वाइफी ।

वाइफी नेपाली गेमरहरू माझ पछिल्लो समय परिचित मात्र होइन, लोकप्रिय समेत बन्दै गएकी छिन् । वाइफी नामले परिचित भए पनि उनको नाम हो, श्रेया लामा महर्जन । पब्जी सार्वजनिक हुँदा उनी आफ्नी आमासँगै इजरायल थिइन् ।

कक्षा नौमा पढ्दै गरेकी उनलाई आफ्नो पढाइलाई निरन्तरता दिन मुस्किल पर्‍यो । इजरायली भाषाले गर्दा नै आफूले राम्रोसँग पढ्न नसकेको उनी बताउँछिन् । पढाइलाई निरन्तरता दिन नसकेपछि उनी इजरायलमै काम गर्न थालिन् ।

इजरायलमा बस्दा नै उनले रमाइलोमै पब्जी खेल्न थालिन् । साथीहरूसँग रमाइलोको लागि पब्जी खेल्दा खेल्दै उनको गेम पनि राम्रो भइरहेको थियो । त्यति बेला नेपालमा पब्जी स्ट्रिमरहरू थोरै थिए ।

त्यसमाथि महिला स्ट्रिमर त छँदै थिएनन् भन्दा हुन्छ । त्यस्तोमा साथीहरूले उनलाई युट्युबमा स्ट्रिमिङ गर्न सुझाए । उनलाई पनि यो सुझाव राम्रो लाग्यो र स्ट्रिमिङ गर्ने निधो कसिन् । तर स्ट्रिमिङका लागि उनीसँग कम्प्युटर थिएन ।

यद्यपि उनीसँग पहिले देखि नै आईफोन एट थियो । आईफोनबाट स्ट्रिमिङ गर्दा आवाजको समस्या हुने गर्थ्यो । त्यसैले उनले स्ट्रिमिङकै लागि कम्प्युटर किन्ने निर्णय गरिन् । कामको  एक महिनाको तलब र घरपरिवारबाट केही रकम जोहो गरेर कम्प्युटर खरिद गरिन् ।

काम छोडेर लाइभ स्ट्रिमिङ गर्न थालेपछि उनलाई चिन्ने तथा फलो गर्नेको सङ्ख्या बढ्न थाल्यो । अरुको मुखबाट आफ्नो छोरीको बारेमा राम्रो कुरा सुन्न थालेपछि परिवारले उनलाई साथ नदिने कुरै भएन ।

आफ्नो छोरीले प्रगति गरिरहेको थाहा पाएपछि आमाले पनि छोरीसँगै खेलेर झनै हौसला दिन थालिन् । युट्युबबाट पनि राम्रो साथ मिल्न थाल्यो । युट्युबमा सब्सक्राइबर अनि इन्स्टाग्राममा फलोअर थपिन थाले ।

गेममा उनीसँग खेल्ने साथीहरू पनि बढ्न थाले । युट्युबमा लाइभ गर्दा धेरैजसो सकारात्मक कमेन्ट आउन थाले । केहीले नराम्रा कमेन्ट पनि गर्थे । “पहिला पहिला केही नराम्रा कमेन्ट आउँदा अलि नराम्रो लाग्थ्यो । तर अहिले त्यस्ता कुरामा वास्ता नै गर्दिनँ,” उनी भन्छिन् । 

इजरायलमा बसेर नेपाली साथीहरूसँग गेम खेलेर  नेपालीमै स्ट्रिमिङ गर्दा उनको मनले नेपाल तिरै तानिरहेको थियो । त्यसैले उनले इजरायलको आफ्नो स्ट्रिमिङ सेटअप बेचेर नेपाल फर्किने निधो गरिन् । 

पब्जी खेल्न थाल्दा नेपालका स्ट्रिमर मिस्टर ह्युजु अर्थात सफल ह्युजुलाई फलो गर्थिन् । उनी आफूले स्ट्रिमिङ गर्न पनि मिस्टर ह्युजुले सिकाएको बताउँछिन् । इजरायलमा छँदा स्ट्रिमिङ गर्ने उनलाई नेपाल आइसकेपछि पनि स्ट्रिमिङ गर्नु थियो ।

तर उनीसँग फेरि कम्प्युटरकै अभाव खट्कियो । इजरायलमा हुँदा पब्जी गेमिङमा राम्रो छाप बनाएकी उनलाई कम्प्युटरको लागि त्यति धेरै सङ्घर्ष गर्नु परेन । उनलाई एजवान युनिटीले कम्प्युटर स्पोन्सर गरिदियो । कम्प्युटर भएपछि उनले नेपालमै बसेर स्ट्रिमिङ गर्न सक्ने भइन् । 

स्ट्रिमिङले गर्दा नै उनको परिचय अझै धेरै माझ विस्तार हुँदै गयो । उनले नेपालमै बसेर गेमिङका विभिन्न प्रोजेक्ट तथा कन्टेन्टहरूमा काम गर्दै गइन् । यसै क्रममा उनलाई एउटा गीति भिडियोमा अभिनयको अफर आयो ।

उनका लागि यो नयाँ क्षेत्र थियो । तै पनि उनले त्यसलाई अझै धेरै मानिसबीच आफूलाई चिनाउने अवसरको रुपमा लिइन् । स्ट्रिमिङको क्षेत्रमा सबैले राम्रो गर्न नसक्ने उनको धारणा छ ।

“स्ट्रिमिङ गर्न चाहने मान्छे अलि हँसिलो हुनुपर्छ, स्ट्रिम हेर्नेलाई मनोरञ्जन दिन सक्ने खालको हुन सक्नुपर्छ । त्यस्ता मान्छे मात्र अहिले टिकिरहेका छन्,” उनी अनुभव मिश्रित भावमा भन्छिन् । तर ई-स्पोर्टस खेल्ने हो भने धेरै नै मेहनत गर्नुपर्ने उनको बुझाइ छ । 

इजरायल भन्दा नेपालमा बसेर स्ट्रिमिङ गर्न गाह्रो रहेको कुरा उनी सुनाउँछिन् । नेपालमा बेलाबेलामा इन्टरनेट जानेआउने भइरहन्छ । त्यसैगरी बत्तिको लाइन पनि जाने भएकाले स्ट्रिमिङ गर्न सहज नभएको उनको भोगाइ छ । यस्तै समस्याले गर्दा अहिले उनले ब्याकअफको लागि इन्भर्टर पनि राखेकी छिन् । 

उनको अबको योजना पब्जीमा अझै राम्रो गर्ने छ । कुनै पब्जी टिममा आवद्ध भएर देशको लागि खेल्ने विषयमा सोचिरहेको कुरा उनले सुनाइन् । त्यसैले अहिले उनी ‘ट्रेन टु किल’ (टीटूके) नामक टिममा आबद्ध भएकी छिन् ।

यदि भविष्यमा केही गरी पब्जी नरहेमा वा पब्जीबाट केही गर्न नसकेको खण्डमा फेरि इजरायल नै फर्किनेसम्मको योजना समेत उनले बनाएकी छिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४