close

ज्ञान बटुल्न र सीप सिक्न उपयोगी ९ युट्युब च्यानल

टेकपाना टेकपाना

भदौ ५, २०७९ ८:४६

ज्ञान बटुल्न र सीप सिक्न उपयोगी ९ युट्युब च्यानल

काठमाडाैं । अनलाइनमा हुँदा तपाईँ के गर्नुहुन्छ ? साथीभाइ आफन्तसँग कुराकानी गर्ने, समाचार पढ्ने, भिडिओ हेर्ने । धेरैले अनलाइनमा छँदा गर्ने कामहरू यिनै हुन् । तर अनलाइन नयाँनयाँ सीप सिक्ने सजिलो माध्यम पनि हो ।

जसबाट तपाईँले आफ्नो पेसागत जीवनलाई निखार्नुका साथै फ्रिल्यान्सिङमार्फत अतिरिक्त आम्दानी समेत गर्न  सक्नुहुन्छ ।  सीप सिकाउनका लागि तयार पारिएका धेरैजसो अनलाइन माध्यमहरू सशुल्क हुने गर्दछन् ।

तर तपाईँले युट्युबाट निःशुल्क रूपमा त्यस्ता सीप सिक्न सक्नुहुन्छ । यसका लागि तपाईँले सीप सिकाउने च्यानलहरू फलो गरे पुग्छ । आज हामी तपाईँलाई सीप विकासमा मद्दत गर्ने ९ ओटा युट्युब च्यानलबारे बताउँदै छाैँ ।

१. भिसस (Vsauce)

सन् २०१० मा शिक्षाविद् माइकल स्टिभेन्सले सुरु गरेको युट्युब च्यानल हो भि,सस । त्यसो त अहिले भिसस २, सभिसस ३ लगायतका अरु च्यानलहरू पनि  छन् ।

विशेषत यी च्यानलहरूबाट विज्ञान, मनोविज्ञान, गणित, दर्शन लगायतका विषयमा ज्ञान लिन सकिन्छ ।  साथै यसमा गेमिङ, प्रविधि, लोकप्रिय संस्कृति र अन्य सामान्य रुचिका विषयका भिडिओ समेत हेर्न पाइन्छ । 

२. नम्बरफिल (Numberphile)

गणित तथा अङ्कहरूमा आधारित भिडिओ बनाउने यो युट्युब च्यानल बीबीसीका पूर्व भिडिओ  पत्रकार ब्राडी हरानले सन् २०११ मा सुरु गरेका थिए । गणितमा रुचि राख्नेहरूका लागि याे निकै उपयोगी च्यानल हो । अहिले यसैको अर्को च्यानल नम्बरफाइल २ पनि सञ्चालनमा छ ।  

३. बिग थिङ्क (Big Think)

२१ औं शताब्दीमा आवश्यक गर्ने विचार र सीप सिक्न तथा बुझ्न याे च्यानल उपयुक्त छ । यसको उद्देश्य नै विज्ञहरूबाट तपाईँकाे आफ्नाे जीवनमा रहेका प्रश्न र चुनौतीहरूकाे समाधान दिनु हाे ।

४. मार्क राेबर (Mark Rober)

मार्क रोबर एक अमेरिकी युट्युबर हुन् । उनले आफ्नाे च्यानलमा विज्ञान र इन्जिनियरिङ सम्बन्धी भिडिओ राख्ने गर्दछन् । यसका साथै उनले डीआईवाई (डु इट याेरसेल्फ) सामग्रीहरू पनि बनाइरहेका हुन्छन् । उनले नासा र  एप्पल इन्कमा समेत काम गरेका थिए । 

५. टक्स एट गुगल (Talks at Google)

याे च्यानल गुगल आफैँले सञ्चालन गरेकाे युट्युब च्यानल हाे । यसमा गुगलले विश्वभरका सफल लेखक, वैज्ञानिक, कलाकार,  सङ्गीतकार आदि सफल व्यक्तिहरूलाई अन्तरवार्ताका लागि बाेलाउने गर्दछ ।  संसारभरका सफल व्यक्तित्वहरूका विचार सुन्न तथा हेर्न याे च्यानल उपयुक्त हुन्छ ।

६. वाई कम्बिनेटर (Y Combinator)

वाई कम्बिनेटर मार्च २००५ मा सुरु भएको एक अमेरिकी ‘स्टार्टअप एक्सिलेरेटर’ (नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने) कम्पनी हाे । तपाईँ नयाँ स्टार्टअप खाेल्ने याेजनामा हुनुहुन्छ भने याे च्यानल उपयुक्त हुन सक्छ । स्टार्टअपबारे यो च्यानलमा थुप्रै कुराहरू सिक्न  सकिन्छ ।

७. क्र्याशकोर्स (CrashCourse)

यसको नामले नै तपाईँले अनुमान गरिसक्नु भयाे हाेला, याे च्यानल काेर्ष उपलब्ध गराउने युट्युब च्यानल हाे । यसले विश्व इतिहास, रसायन विज्ञान, जीव विज्ञान, साहित्य/दर्शन लगायत  ४२ विषयका काेर्षहरूमा  भिडिओ बनाएकाे छ ।

८. टेड एड (TED Ed)

यसले विभिन्न विषयहरूमा एनिमेटेड भिडिओ बनाउने गर्छ । जसले गर्दा  ती विषय सजिलैसँग बुझ्न सकिन्छ । संसारका उत्कृष्ट शिक्षक र एनिमेटरहरूले बनाएकाा भिडिओ बुझ्न यो च्यानल उपयोगी छ ।

९. अली अब्दाल (Ali Abdaal)

अली अब्दाल एक भूतपूर्व बेलायती डक्टर हुन् । उनी आफ्नाे भिडिओमा उत्पादकत्व, ‘साइड हसल’ (साइड जब), एन्टरप्रेनर्शिप आदिको बारेमा चर्चा गर्छन् । यसका साथै उनले पाेडकास्ट सञ्चालन र किताब लेखनको काम पनि गर्दै आइरहेका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४