close

के तपाईँलाई ‘सोसल मिडिया म्यानेजर’ बन्न मन छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ ५, २०७९ १२:५०

के तपाईँलाई ‘सोसल मिडिया म्यानेजर’ बन्न मन छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईँले इन्टरनेटमा कहिल्यै ‘मार्केटिङ जब’ ब्राउज गर्नुभएको छ भने पक्कै पनि ‘सोसल मिडिया म्यानेजर’ वा ‘डिजिटल मिडिया म्यानेजर’ जस्ता शब्दावली त देख्नुभएकै हुनुपर्छ । वास्तवमा यसको अर्थ के होला ? 

अहिलेको समयमा सामाजिक सञ्जाल ई-कमर्सको एउटा हिस्सा बन्न पुगेको छ । भन्नुको अर्थ सामाजिक सञ्जालका माध्यमहरू प्रयोग गरेर अनलाइनबाटै व्यक्ति तथा कम्पनीहरूले आफ्नो व्यापार व्यवसाय बढाइरहेका छन् ।

यस्तोमा त्यस्ता रोजगारदाता वा कम्पनीका लागि सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विषय निकै महत्त्वपूर्ण बन्दै गएको छ । अहिले यसैका लागि विभिन्न डिजिटल मार्केटिङ कम्पनी सञ्चालनमा आएका छन् ।

कतिपय प्रतिष्ठित व्यक्ति तथा कम्पनीहरूले यस्ता कम्पनीहरूलाई नै आफ्नो ‘सोसल मिडिया म्यानेजमेन्ट’ (सामाजिक सञ्जाल व्यवस्थापन तथा प्रबन्ध) गर्ने जिम्मेवारी दिइरहेका हुन्छन् ।

तर ठूला कम्पनीहरूले भने आन्तरिक रूपमा नै ‘सोसल मिडिया म्यानेजर’ को पद नै सिर्जना गरेर रोजगारी समेत दिन थालेका छन् ।

हुन त ‘सोसल मिडिया म्यानेजमेन्ट’ अर्थात् सामाजिक सञ्जाल व्यवस्थापन तुलनात्मक रूपमा नयाँ क्षेत्र नै हो, जसले गर्दा डिजिटल म्यानेजरको जिम्मेवारीमा कुन कुन विषयहरू पर्दछन् भन्ने कुरामा केही अलमल वा अस्पष्टता हुनसक्छ ।

यदि तपाईँ ‘सोसल मिडिया म्यानेजर’ बन्न चाहनुहुन्छ, तर ‘सोसल मिडिया म्यानेजर’ले के गर्छ वा कहाँबाट यसको सुरुवात गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने तपाईँलाई यो सामग्रीले सहयोग पुर्‍याउन सक्छ । 

डिजिटल मार्केटिङ अन्तर्गत कन्टेन्ट मार्केटिङ, सोसल मिडिया मार्केटिङ, पेड मिडिया लगायतका विभिन्न शाखा उपशाखा हुन्छन् । ती सबैको आआफ्नै निश्चित पदीय जिम्मेवारी हुने गर्दछ ।

त्यसमध्ये सोसल मिडिया म्यानेजरले भने ब्रान्ड वा रोजगारदाताका समाजिक सञ्जाल अकाउन्टहरू व्यवस्थापन गर्नुका साथै समग्र सामाजिक सञ्जाल रणनीति समेत तय गर्दछ, जसमा आगामी समयमा समाजिक सञ्जालमा राखिने पोस्टहरूका लागि भिडिओ तथा फोटो तयार पार्ने र क्याप्सन लेख्ने काम समेत हुन्छ ।

यति मात्र होइन, कतिपय सोसल मिडिया म्यानेजरले ब्रान्डको ‘डिजिटल कम्युनिटी’मा समेत ध्यान दिनुपर्ने हुनसक्छ । यस्तोमा उसले फलोअर्स तथा लक्षित व्यक्तिहरूलाई सहायता समेत उपलब्ध गराउँछ । 

केके हुन्छ सोसल मिडिया म्यानेजरको जिम्मेवारी ?

तपाईँ एउटा कुशल सोसल मिडिया म्यानेजर बन्नका लागि त्यस अन्तर्गत कुन कुन जिम्मेवारी हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । जसका लागि तपाईँले आफूलाई सक्षम बनाउनुपर्ने हुन्छ ।

१. सामाजिक सञ्जालमा एनालिटिक्स नियाल्नु 

हरेक कुराको सुरुवात सही स्थानबाट उचित जानकारी पाउनुबाट हुन्छ । हरेक सोसल मिडिया म्यानेजरले आफ्नो समय र छुट्याइएको बजेट सही ठाउँमा जाओस् र त्यसले नतिजा दिन सकोस् भन्ने चाहिरहेको हुन्छ ।

एउटा सोसल मिडिया म्यानेजरको रूपमा तपाईँले प्रतिस्पर्धीहरूको विषयमा पनि अनुसन्धान गर्नुपर्ने हुन्छ । साथै पछिल्लो ट्रेन्ड तथा सम्बन्धित उद्योग क्षेत्रको औसत अभ्यास बारे जानकार हुनुका साथै आफ्नो ब्रान्डका लागि निश्चित लक्षित समूह पहिचान गर्न र विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा चलाइएको क्याम्पेनले कस्तो नतिजा दिइरहेको छ भन्ने कुरा ट्र्याक समेत गर्नुपर्ने हुन्छ ।

यस्तोमा एनालिटिक्स टुलले तपाईँको धेरै समय जोगाइदिन सक्छ । यसका लागि सम्बन्धित सामाजिक सञ्जालमा उपलब्ध एनालिटिक्सका साथै विभिन्न एप तथा वेबसाइटको सहयोग समेत लिन सकिन्छ । 

२. सामाजिक सञ्जाल रणनीति तयार पार्नु 

सम्पूर्ण तथ्याङ्क विश्लेषण गरिसकेपछि सोसल मिडिया म्यानेजरले हरेक सामाजिक सञ्जालका माध्यमहरूमा ब्रान्डको सन्देश तय गर्नु पर्ने हुन्छ ।

यस्तो सन्देश कम्पनीको लक्ष्यसँग सान्दर्भिक हुने कुरामा ध्यान दिनुपर्छ । यदि निर्धारित योजनाले राम्रोसँग काम नगरेको खण्डमा आफ्नो सामाजिक सञ्जाल रणनीति परिष्कृत गर्नुपर्ने हुन्छ । 

३. विभिन्न माध्यमका लागि सामग्री डिजाइन गर्नु 

सोसल मिडिया म्यानेजर भइसकेपछि तपाईँले कुन माध्यमका लागि कस्तो प्रकारको सूचना सामग्रीले राम्रो काम गर्न सक्छ भन्ने कुरा समेत पहिचान गर्नुपर्ने हुन्छ । जसमा फोटो, भिडिओ, गिफ, इन्फोग्राफिक्स, ब्लग आदि हुन सक्छन् ।

यस्तोमा तपाईँको सन्देशले कति प्रभाव पार्न सक्छ भन्ने कुरा तपाईँले कुन माध्यममा शेयर गर्दै हुनुहुन्छ भन्नेमा निर्भर हुन्छ । लिङ्कडिन र ट्वीटरमा राम्रो हुने सामग्रीले इन्स्टाग्राम वा टिकटकमा काम नगर्न सक्छ ।

त्यसैले विभिन्न लक्षित प्रयोगकर्ताका लागि विभिन्न सन्देशहरू कसरी सञ्चार गर्ने भन्ने कुरा बुझ्न सक्नु सोसल मिडिया म्यानेजरका लागि एउटा महत्त्वपूर्ण सीप मानिन्छ । समय सान्दर्भिक र नवीनतम् सामग्री तयार पार्ने कुरामा निकै ध्यान दिनुपर्ने हुन्छ । 

४. सामाजिक सञ्जालमा पब्लिस गर्ने सामग्रीलाई ‘शेड्युल’ (समय तालिका) मा राख्नु

बजारमा ब्रान्डलाई प्रतिस्पर्धी बनाइराख्न सोसल मिडिया म्यानेजरले केही दिन वा केही हप्ताकै लागि अग्रिम रूपमा कन्टेन्ट क्यालेन्डर बनाइराख्नु पर्ने हुन्छ ।

निश्चित समय अगावै सामाजिक सञ्जालका पोस्ट शेड्युल गरेर राख्दा त्यसले कामको बोझ समेत कम गर्छ र तपाईँले चाहेकै समयमा (तपाईँ सुतिरहेको भए पनि) त्यस्तो सामग्री प्रकाशित हुन्छ ।

खासगरी विभिन्न देशमा लक्षित समूह रहेको खण्डमा यो तरिका लाभदायक हुन्छ । आखिर जे भए पनि अहिलेको समयमा उद्योग निकै छिटो गतिमा अघि बढिरहेको छ, चिजबिजहरू तत्कालै परिवर्तन भइरहेका हुन्छन् र सेकेन्डभरमै नयाँ प्रवृत्तिले जन्मिन सक्छ । त्यसैले आफ्नो क्यालेन्डरलाई आवश्यक परिवर्तन गर्न तम्तयार भएर बस्नुपर्ने हुन्छ ।  

५. लक्षित केही निश्चित व्यक्तिहरूसँग ‘इङ्गगेज’ (संलग्न) रहने

मानिसहरू किन कुनै निश्चित प्लेटफर्ममा हुन्छन्, उनीहरूले किन अरुसँग अन्तरसम्वाद गर्छन्, अनि किन उनीहरू केही निश्चित सामग्रीहरूमा मात्रै संलग्न हुन्छन् र तर किन अरुमा त्यस्तो छैन भन्ने कुरा सामाजिक सञ्जाल रणनीतिका लागि महत्त्वपूर्ण पक्ष हो । 

सामाजिक सञ्जालको उद्देश्य भनेकै सामुदायिक भावना विकास गर्नु हो । त्यसैले सोसल मिडिया म्यानेजरले सबै कमेन्ट र ग्राहकका प्रश्नको प्रतिक्रिया दिनुपर्ने हुन्छ । 

६. ब्रान्डले गरिरहेको प्रदर्शनको प्रतिवेदन तयार पार्ने

सामाजिक सञ्जाल प्रतिवेदनमा विभिन्न सामाजिक सञ्जालबाट निश्चित समय अन्तरालको फलो, लाइक, कमेन्ट जस्ता मूल्यवान मापनको अध्ययन तथा विश्लेषण समेटिन्छ ।

सामाजिक सञ्जाल व्यवस्थापकका लागि यो त्यति रोमाञ्चक त नहुन सक्छ, तर निसङ्कोच यो एकदमै महत्त्वपूर्ण काम हो ।

किन भने तपाईँले सामाजिक सञ्जालमा के कति प्रगति गरिरहनु भएको छ भन्ने कुरा यकिन रूपमा बुझ्नका लागि प्रतिवेदनमा उल्लेख गरिने यो एउटा मात्र तरिका हो ।

यदि तपाईँको सामग्री सफल भयो, बजेट बुद्धिमत्तापूर्ण किसिमले प्रयोग भयो भने मात्रै तपाईँको सामाजिक सञ्जाल रणनीति सफल भएको प्रमाणित गर्न सक्नुहुन्छ । 

७. अन्य विभागसँग समन्वय गर्ने । 

समाजिक सञ्जालको सम्पूर्ण प्रयासले डिजिटल मार्केटिङको लक्ष्यलाई साथ दिइरहेको छ भन्ने कुरा सुनिश्चित गर्न सोसल मिडिया म्यानेजरले नियमित रूपमा कम्पनीका अन्य टिम तथा विभागहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ । 

कसरी बन्ने सोसल मिडिया म्यानेजर ?

तपाईँले एउटा कुशल सोसल मिडिया म्यानेजर बन्न पत्रकारिता, सञ्चार, अङ्ग्रेजी, रचनात्मक लेखन, ग्राफिक डिजाइन जस्ता मार्केटिङ सम्बन्धी विषयको अध्ययन गर्नुपर्ने हुन्छ ।

यसबाहेक सम्भावित सोसल मिडिया म्यानेजरले आफू निश्चित सीपहरूमा निपूर्ण हुन, विभिन्न टुल तथा प्लेटफर्महरूको बारेमा सिक्न र पछिल्ला सोसल मिडिया ट्रेन्डको बारेमा अपडेट हुन पर्याप्त समय दिनुपर्ने हुन्छ । 

सही सीप र उचित तालिम लिएर जोकोही एउटा सोसल मिडिया म्यानेजर बन्न सक्छ । समग्रमा यो एउटा क्रियटिभ अर्थात रचनात्मक, नयाँ प्रविधि र ट्रेन्डमा अभ्यस्त हुनुका साथै नयाँ कुराप्रति  उत्सुक रहने कार्य हो ।

एउटा सोसल मिडिया म्यानेजरको रूपमा तपाईँमा संलग्न रहने, राम्रो सामग्री तयार पार्ने र सामाजिक सञ्जालका च्यानलहरूमा रहेर लाभ उठाउन सक्ने खुबी चाहिन्छ । 

सोसल मिडिया म्यानेजरको करियर चुन्नका लागि तपाईँसँग कुनै किसिमको अनुभव जरुरी छैन । सामाजिक सञ्जालमा काम गर्न सक्नु नै यसका लागि योग्य हुनु हो । तर सोझै सोसल मिडिया म्यानेजरको व्यवस्थापकीय पदमा पुग्न खोज्ने भन्दा बरु सोसल मिडिया मार्केटिङको सिद्धान्त सिकाउन सक्ने सामान्य रोजगारीको खोजी गर्नुहोस् ।

साथै सामाजिक सञ्जालमा यो पेसासँग सम्बन्धित ग्रुपहरूमा जोडिनु होस् । त्यसका लागि तपाईँ फेसबुकमा द सोसल मिडिया गिकआउटसोसल मिडिया म्यानेजर्समा आवद्ध हुन सक्नुहुन्छ । साथै अनलाइनमा यसका लागि थुप्रै ईबुक र अनलाइन कोर्षहरू समेत उपलब्ध छन् । 

एउटा सोसल मिडिया म्यानेजरको रूपमा तपाईँमा हुन आवश्यक सीपहरू

  • सङ्गठनात्मक सीप -विस्तृत जानकारीमा लिने कुरामा राम्रोसँग ध्यान दिनसक्ने । 
  • सामाजिक सञ्जालका माध्यमहरूको बारेमा राम्रो ज्ञान र बुझाइ भएको । 
  • मार्केटिङ अनुसन्धान र मल्टी टास्किङ 
  • उत्कृष्ट प्रतिलिपि लेखन र ‘स्टोरी टेलिङ’ (कथा भन्नसक्ने) सीप 
  • मौलिक सामग्री (अक्षर, तस्वीर र भिडिओ) तयार पार्न र वितरण गर्न सक्ने खुबी । 
  • उत्कृष्ट सञ्चार गर्न सक्ने सीप 
  • ग्राफिक डिजाइन र क्रियटिभ टुलसँग परिचित 
  • मार्केटिङ विषयमा डिग्री प्राप्त वा सम्बन्धित विषयको अनुशासन 
  • परियोजना व्यवस्थापन 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४