close

फेसबुक च्याटमा कसैलै पैसा माग्यो ? सावधान !

टेकपाना टेकपाना

भदौ ८, २०७९ १७:५६

फेसबुक च्याटमा कसैलै पैसा माग्यो ? सावधान !

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी भइरहेका घटना बढेका छन् । हालै प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका १० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई यस्तै घटनामा संलग्न भएको आरोपमा पक्राउ गर्‍यो ।

पाठकले विभिन्न व्यक्ति फेसबुक अकाउन्ट ह्याक गरी मानिसहरूबाट रकम ठगी गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ ।

उनले फेसबुक अकाउन्ट ह्याक गर्दै सो अकाउन्टमा रहेका साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न बहाना बनाई रकम माग्ने गरेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

पाठकले करिब डेढ दर्जन भन्दा बढी महिला तथा पुरुषहरुबाट विभिन्न डिजिटल पेमेन्ट गेट वे मार्फत रकम जम्मा गर्न लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसरी सामाजिक सञ्जालका प्रयोगकर्ताको अकाउन्ट ह्याक गरी रकम ठगी गरेका घटनाको संख्या बढ्दो छ । अनधिकृत रूपमा अन्य व्यक्तिको अकाउन्टमा पहुँच पुर्‍याई विभिन्न व्यक्तिबाट रकम असुल्ने गिरोह नै सक्रिय भएको पाइएको छ ।

केही दिनअघि मात्रै यस्तै घटनामा संलग्न तीन किशोर पक्राउ परेका छन् । उनीहरूले २५ भन्दा बढी फेसबुक अकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट दुई लाख रुपैयाँभन्दा बढी ठगी गरेको अनुसन्धानबाट खुलेकाे थियाे ।

पछिल्लो समय प्रहरी कार्यालयमा फेसबुक च्याटबाट पैसा मागी रकम ठगी भएका उजुरी दिनहुँ आउने गरेका छन् ।

यदि तपाईंलाई पनि यस्तो म्यासेज आयो भने पैसा पठाउनुअघि विचार गर्नुहोला । सम्बन्धित व्यक्ति हो कि होइन भनेर फोन कल वा अन्य माध्यबाट सम्पर्क गरी विश्वस्त हुन सकिन्छ ।

याे पनि पढ्नुहाेस्: समस्यामा परेँ भन्दै सामाजिक सञ्जालबाट कसैले पैसा मागे नदिनू: ईसेवा

सुरक्षित रूपमा फेसबुक चलाउन जान्नैपर्ने ६ सेटिङ

१. बलियो पासवर्ड राख्ने र टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने

फेसबुक अकाउन्ट सुरक्षित गर्नका लागि पासवर्ड सबैभन्दा महत्वपूर्ण पक्ष हो । फेसबुक अकाउन्ट असुरक्षित भएको खण्डमा सेक्युरिटी पेजमा गएर नयाँ पासवर्ड राख्न सकिन्छ ।

पासवर्ड राखेपछि अब टु फ्याक्टर अथेन्टिकेसन अर्थात् टूएफए एक्टिभ गर्नुपर्ने हुन्छ । टूएफए एक्टिभ भएपछि तपाईंलाई अकाउन्ट लगइन गर्दा सेक्युरिटी कोड इन्टर गर्नुपर्ने हुन्छ ।

टु फ्याक्टर अथेन्टिकेसन कोड धेरै पासवर्ड म्यानेजरले स्टोर गर्न सक्छन् । तसर्थ आवश्यकता अनुरुप गुगल अथेन्टिकेटरको प्रयोग गरी कोड स्टोर गर्न सकिन्छ ।

२. प्राइभेसी सेटिङ एन्ड टुल म्यानेज गर्ने

फेसबुकले अकाउन्टका लागि प्राइभेसी सेक्सन छुट्याएको छ । यसमार्फत आगामी दिनमा गर्ने पोष्ट तथा अपडेटहरूमा डिफल्ट सेटिङ राख्न सकिन्छ ।

क-कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्ने र सूचना हेर्न मिल्ने भन्ने निश्चित गर्न सकिन्छ । प्राइभेसी सेक्सनमा उपलब्ध सबै अप्सनहरू चेक गरी मिलाउन सकिन्छ । 

३. पुराना पोष्टहरू पब्लिकबाट हटाउने

फेसबुकमा उपलब्ध अपडेटका आधारमा व्यक्तिगत विवरण बाहिरिन सक्ने हुँदा पुराना पोष्टहरू व्यवस्थित गर्नुपर्छ । फेसबुकका पोष्टलाई प्राइभेसी सेटअप गर्न प्राइभेसी सेक्सनमा गइरहनु पर्दैन । टाइमलाइनमा गएर सोझै एक-एक गरी कसले हेर्न मिल्ने भनी नियन्त्रण गर्न सकिन्छ । 

४. अकाउन्ट लगइन भएका डिभाइस परीक्षण गर्ने

फेसबुक अकाउन्ट लगइन भएको डिभाइस लोकेसन र समय हेर्न मिल्ने व्यवस्था छ । सेक्युरिटी एन्ड लगइन पेजमा गएर अकाउन्ट लगइन भएका डिभाइस जाँच गर्न सकिन्छ ।

यदि उक्त लगइनहरू तपाईंले आँफै गर्नुभएको होइन भने रिपोर्ट गर्न र अकाउन्ट लगआउट गर्न सकिन्छ । यदि आफैं लगइन गरेको भएपनि लगआउट गर्नुपर्छ ।

५. फेसबुकको पहुँचमा भएका एपहरू जाँच गर्ने

फेसबुक अकाउन्टसँग लिंक गरी विभिन्न एपहरूमा अकाउन्ट चलाउन सकिन्छ ।

यसो हुँदा कतिपय एप फेसबुकले अस्वीकार गरेकाे हुन्छ, जुन सुरक्षाका हिसाबले जोखिमयुक्त भएका हुन्छन् । एप्स एन्ड वेबसाइटमा गएर एक्सपायर भइसकेका एप तथा वेबसाइट रिमुभ गर्नुपर्छ ।

६. लोकेसन हिस्ट्री डिलिट गर्ने

फेसबुकले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोग गरी आफैं नक्सा बनाउने गर्छ । लोकेसन सेक्सनमा गएर लोकेसन हिस्ट्री डिलिट गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो लोकेसन हिस्ट्री फेसबुकमा स्टोर नहोस् भन्ने चाहनुहुन्छ भने लोकेसन शेयरिङ बन्द (टर्न अफ लोकेसन) गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३