close

अनलाइन फाराम भर्न ‘नजान्नेहरू’ अमेरिका जाने लाइनमा

टेकपाना टेकपाना

असोज २८, २०७९ १३:५६

अनलाइन फाराम भर्न ‘नजान्नेहरू’ अमेरिका जाने लाइनमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष विभिन्न अविकसित तथा विकासोन्मुख देशका नागरिकहरूलाई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) मार्फत आफ्नो देशमा लैजाने गर्दछ । यो विशेषगरी एक किसिमको चिठ्ठा हो, जसमा विभिन्न देशबाट फाराम भर्ने लाखौँमध्ये केही हजारले अमेरिका जाने अवसर पाउँछन् ।

देशमा रोजगारीको अभावका कारण केहीले डीभी फाराम भर्न खोजिरहेका हुन्छन् भने कतिपय अमेरिका बस्ने रहरले पनि हरेक वर्ष डीभी फाराम भरिरहेका हुन्छन् । ईडिभीमार्फत गएका मानिसहरूले अमेरिकामा सहजै काम तथा अन्य विभिन्न सुविधा पाउने भएपछि यसतर्फ धेरैको आकर्षण हुने गर्छ ।

त्यस्तै प्राथमिक तहदेखि विद्यावारिधि गरेका व्यक्तिसम्मले सहभागी हुन पाउने भएपछि ईडीभी भर्नेको सङ्ख्या गनी साध्य छैन । सुरुवाती समयदेखि नै ईडीभी फाराम अनलाइनबाटै भर्न मिल्ने सुविधा ल्याइएको हो । प्रारम्भिक दिनमा ईडीभी फाराम साइबरबाट भर्ने प्रचलन थियो ।

पछिल्लो समय स्मार्टफोन वा ल्यापटप तथा इन्टरनेटको पहुँच धेरैमाझ पुग्दा पनि साइबरमा ईडीभी फाराम भर्नेको लाइन उस्तै देखिन्छ ।

अझ ईडीभी फाराम खुलेको समाचार सामाजिक सञ्जालका माध्यमबाट धेरैमाझ पुगेपछि त झन् साइबरमा गई ईडीभी फाराम भर्नेको लाइन हरेक दिन बढ्दाे छ । चर्को गर्मी, सहरको धुँवा धुलो, त्यसैमाथि घण्टौँ लाइनमा लागेर ईडीभी भर्नेहरू प्रशस्तै देखिन्छन् ।

ईडीभी विशेषगरी अविकसित देशका नागरिकलाई लक्षित गरी ल्याइएको कार्यक्रम भएकाले यो फाराम भर्ने प्रक्रिया पनि सहज नै छ । सामान्य स्मार्टफोनबाटै निःशुल्क रूपमा आफैं फाराम भर्न सकिने सुविधा छ । तर पनि थुप्रै नागरिकहरू साइबर तथा चाेकचाेकका पसलहरूमा भर परिरहेका हुन्छन् ।

त्यसो त अमेरिका जाने भनेपछि अधिकांश पढेलेखेका र धेरथोर भए पनि अङ्ग्रेजी बुझ्ने खालकै हुन्छन् । तर त्यस्ता व्यक्तिहरू समेत आफैँ अनलाइनमा फाराम नभरी साइबर धाइरहेका छन् ।

आफूले फाराम भर्दा केही गल्ती भएको अवस्थामा फाराम अस्वीकार हुने डरले केही साइबर धाउने गर्छन् । त्यस्तै कतिपयले साइबर बाहिर ईडीभी चिठ्ठा पाएकाहरूको नाम देख्दा बढी आशावादी भई घण्टौं लाइनमा लागेर साइबरबाटै फाराम भर्ने गरेकाे पाइएकाे छ ।

वास्तवमा साइबरबाट फाराम भर्दा ईडीभी चिट्ठा पर्छ भन्ने कुरा भ्रम मात्र हो । यदि सही तरिकाले फाराम भरिएको छ भने जोकोहीलाई पनि उक्त चिट्ठा पर्न सक्छ । साइबरमा घण्टौँ लाइन बसेर चर्को शुल्क तिर्दै धेरैले ईडीभी फाराम भरिरहेका छन् ।

यसैबीच नेपालस्थित अमेरिकी राजदूतावासले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत डिभी आवेदन निःशुल्क भएकाले कुनै कन्सल्टेन्सी अथवा अन्य संस्थाहरूको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

''डीभी आवेदन नि:शुल्क हो । केही कन्सल्टेन्सीहरूले डीभीका लागि छनौट भएन/भएको पत्ता लगाइदिने, छनोट भएको खण्डमा तपाईंकै कागजपत्र तपाईंलाई फर्काउने, स्पोन्सर भेट्टाइदिने तथा अन्य विभिन्न अनावश्यक सेवाको बहानामा हजारौं, लाखौंं रुपैयाँ उठाइरहेको सुनिन्छ । यो अपराध हो,'' पोस्टमा उल्लेख छ ।

आफ्नो व्यक्तिगत विवरण कुनै पनि अज्ञात साइबरमा बुझाउँदा त्यसको दुरुपयोग हुने जोखिम पनि उत्तिकै हुन्छ । पछिल्लो समय मानिसहरूको नागरिकताको दुरुपयोग गरी सिम झिकेर अवैध कारोबार गरी पक्राउ परेका घटना समेत बाहिर आएका छन् । त्यसैले अन्यत्र गएर ईडीभी भर्नुको साटो आफैँले त्यस्ता फाराम भर्दा व्यक्तिगत विवरण बढी सुरक्षित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १६:२