close

सबै प्रयोगकर्ताले अब फोरके क्वालिटीमा युट्युब भिडिओ हेर्न पाउने

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १२:३४

सबै प्रयोगकर्ताले अब फोरके क्वालिटीमा युट्युब भिडिओ हेर्न पाउने

काठमाडौं । युट्युबले केही समयदेखि आफ्ना प्रिमियम प्रयाेगकर्ताका लागि फोरके रेजोलुसनका भिडिओ तथा अन्य फिचर परीक्षण गरिरहेको थियो । अहिलेलाई भने कम्पनीले उक्त परीक्षण बन्द गरेको छ । प्रिमियम ग्राहकका लागि मात्र उपलब्ध गराउने भनिएको यो निर्णयबाट युट्युब पछि हटेको छ ।

यससँगै सबै युट्युब प्रयाेगकर्ताले फोरके रेजोलुसनमा युट्युब भिडिओ हेर्न सक्नेछन् । अक्टोबर महिनाको सुरुवातमा सामाजिक सञ्जाल रेडिटमा थुप्रै युट्युब प्रयोगकर्ताले फोरके अप्सनमा प्रिमियम शब्द देखेको उल्लेख गरेका थिए ।

परीक्षण चरण भएकाले यस्ता अप्सन सीमित प्रयोगकर्ताले मात्र देखेका थिए । युट्युबले आफ्ना प्रिमियम ग्राहकलाई आकर्षित गर्न विभिन्न सुविधा ल्याइरहेको हुन्छ । त्यसै अन्तर्गत युट्युबले आफ्ना प्रिमियम ग्राहकलाई यो सेवा उपलब्ध गराउन परीक्षण थालेको थियो ।

तर, यस फिचरलाई लिएर थुप्रै टिकाटीप्पणी भएपछि युट्युबले उक्त निर्णय फिर्ता लिएको छ । अब भने नन-प्रिमियम अर्थात् निःशुल्क रूपमा युट्युब प्रयाेग गरिरहेकाहरूले पनि फोरके भिडिओ हेर्न सक्नेछन् ।

सोमबार युट्युबले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै परीक्षण सकिएको र अब शुल्क नतिरेरै युट्युबमा फोरके रेजोलुसनका भिडिओ हेर्न सकिने जानकारी दिएको छ । युट्युबले उक्त परीक्षण किन अन्त्य गरेको भन्ने कुराको कुनै जानकारी दिएको छैन ।

त्यस्तै ट्वीटरमा एक जापानी प्रयोगकर्ताले उक्त परीक्षणको बारेमा आफ्नो जिज्ञासा राखेका थिए, जसलाई रिप्लाई दिँदै युट्युबले उक्त फिचरको प्रतिक्रियाको अपेक्षा गरेको उल्लेख गरेको थियो ।

प्रिमियम ग्राहकका लागि उपलब्ध गराउने परीक्षण सकिएसँगै युट्युबले यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराउने जानकारी दिएको छ । यसै विषयलाई लिएर प्रिमियम प्रयोगकर्तालाई युट्युबले यस फिचरको ठाउँमा अन्य आकर्षक फिचर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १२:३४