close

विश्वकप फुटबलमा सेमी-अटोमेटेड अफसाइड प्रविधि, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १७:५७

विश्वकप फुटबलमा सेमी-अटोमेटेड अफसाइड प्रविधि, कसरी गर्छ काम ?

काठमाडौं । मंसिर ४ गतेदेखि एसियाली राष्ट्र कतारमा फिफा विश्वकप २०२२ सञ्चालन भइरहेको छ । यसपालीकाे विश्वकपको चर्चा र आलोचना विगतका अन्य फुटबल प्रतियाेगिताभन्दा धेरै छ । विशेषगरी त्यहाँ प्रयोग भएका प्रविधिले बढी चर्चा पाएका छन् । यसमध्ये एक हो सेमी-अटोमेटेड अफसाइड टेक्नोलोजी । के होला फिफा विश्वकप २०२२ मा प्रयोग भएको सेमी-अटोमेटेड अफसाइड प्रविधि ?

यो प्रविधिको बारेमा फिफाले गत जुलाई महिनामा जानकारी दिएको थियो । तर, यो प्रविधिले गत मंगलबार भएको अर्जेन्टिना र साउदी अरेबियाको खेलबाट थप चर्चा पाएको छ । अफसाइड हुँदा टिभी स्क्रिनमा वास्तविक समयमा बल कसरी अफसाइड भएको भन्ने कुराको थ्रीडि डिजाइन देखिँदा दर्शक चकित परेका थिए ।

थ्रीडिभन्दा पनि त्यति सटिक रूपमा छोटो समयमा अफसाइड भएको जानकारी दिँदा दर्शक चकित बनेका हुन् । सन् २०१८ मा रुसमा आयोजना भएको फिफा विश्वकपमा भीएआर प्रविधिले निकै सफल मानिएको थियो । त्यसको सफल परीक्षणपछि यो विश्वकपमा पनि भीएआर प्रविधि समावेश गरिएको छ ।

भीएआर भनेको 'भर्चुअल असिस्टेन्ट रेफ्री' हो । यो प्रविधिले सहायक रेफ्रीको काम गरेको हुन्छ । विशेषगरी सम्भावित रेड कार्डका लागि, पेनाल्टी, काउन्टरचेक जस्ता कुरामा याे प्रविधिले सघाउँछ ।

विश्वकप स्टेडियमको छानामा १२ ओटा क्यामेरा छुट्टाइएको छ । जसले बल र प्रत्येक खेलाडीलाई २९ ओटा पक्षबाट ट्रयाक गरिरहेको हुन्छ । जसले गर्दा खेलाडी कुन समयमा कुन स्थानमा छ भन्ने कुरा भीएआर रूमबाट हेर्न सकिन्छ ।

त्यो २९ ओटा पक्षबाट संकलन गरिएको डेटाले हात-खुट्टाको स्थान हेरी अफसाइड भए/नभएको जानकारी दिन्छ । यो प्रणाली स्वचालित छ । फिफा विश्वकप २०२२ मा प्रयोग भएको एएल रिह्ला (al rihla) बलमा भएको मोसन सेन्सरले पनि सेमी-अटोमेटेड अफसाइड प्रविधिलाई सघाएको हुन्छ ।

क्यामेराले उपलब्ध गराएको खेलाडीको हातखुट्टा स्थानको डेटा र बलले ट्रयाक गरेको डेटालाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी अफसाइड भए नभएको जानकारी लिइन्छ । यसरी दुवै डेटा मूल्याङ्कन गरी भीएआर रूममा रहेका प्राविधिकले कुन खेलाडी अफसाइड स्थानमा छ भन्ने कुरा पुस्टि गर्छन् । र, वास्तविक समयमा त्यसको जानकारी दिन्छन् ।

यो प्रक्रिया यति छिटो हुन्छ कि त्यहाँ अफसाइड हुँदा भीएआरले जानकारी दिइसक्छ । अफसाइड अवस्थालाई प्रस्ट बनाउन भीएआर रुमबाट थ्रीडी एनिमेसनका रूपमा खेलाडीको स्थान देखाइन्छ । यसरी संसारभरका दर्शकले थ्रीडीका माध्यमबाट सम्भावित अफसाइड हेर्न सक्छन् ।

बल तथा भीएआर प्रविधिबाट आएका डेटा एमआईटी स्पोर्ट ल्याबमा परीक्षण समते गरिएको थियो । त्यसबाट उक्त प्रविधिले सटिक डेटा उपलब्ध गराएको पुष्टि भएपछि विश्वकप २०२२ मा त्यसलाई मान्यता दिइएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १७:५७