close

लाखौँमा पर्ने हरेक ग्राहकलाई उपहारमा वर्ल्डलिङ्कले दियो ४३ इन्चको स्मार्ट टिभी

टेकपाना टेकपाना

मंसिर १२, २०७९ १३:१७

लाखौँमा पर्ने हरेक ग्राहकलाई उपहारमा वर्ल्डलिङ्कले दियो ४३ इन्चको स्मार्ट टिभी

काठमाडौं ।  वर्ल्डलिङ्क  कम्युनिकेसन्स लिमिटेडले कोसेलीको रूपमा आफ्ना सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी  प्रदान गरेको छ । कम्पनीले देशभरबाट छनौटमा परेका ग्राहकलाई स्मार्ट टिभी उपहार दिएको हो । 

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी आफ्ना ग्राहकलाई टेलिभिजन दिएको हो ।

एक लाखदेखि सातौँ लाख नम्बरका ग्राहकलाई कोसेली प्रदान गरिएको  वर्ल्डलिङ्कले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिषा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।

बराइली  वर्ल्डलिङ्कको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वर्ल्डलिङ्कले एक लाख ग्राहक पुर्‍याएको थियो ।

यस्तै, बिर्तामोडकी राई  वर्ल्डलिङ्ककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा  कम्पनीको ग्राहक सङ्ख्या दुई लाख नाघेको थियो ।

बुटवलका थापा तीन लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वर्ल्डलिङ्कको ग्राहक बनेका थिए । सोही वर्षको फेब्रुअरीमा  वर्ल्डलिङ्कले तीन लाख ग्राहक बनाउन सफल भएको थियो ।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल,  पोखराका रविन र बालाजुका अधिकारी क्रमशः चार लाख, पाँच लाख, छ लाख र सात लाख नम्बरका ग्राहक हुन् । उनीहरू सन् २०२० यता  वर्ल्डलिङ्कको ग्राहक बनेका हुन् ।

सन् १९९५ मा सेवा सुरु गरेको  वर्ल्डलिङ्कले गत नोभेम्बर १४ मा ग्राहकको सङ्ख्या सात लाख पुर्‍याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको  कम्पनीले जनाएको छ । सन् २०१९ को फेब्रुअरीसम्म तीन लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म नयाँ चार लाख ग्राहक थपिएका हुन् ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा पाँच हजार जनाले रोजगारी पाएका छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा  वर्ल्डलिङ्कको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने  वर्ल्डलिङ्कले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिङ्कको छ । साथै कम्पनीले  देशका १४ हजारभन्दा बढी स्थानमा वाई-फाई एक्सप्रेसमार्फत निःशुल्क वाई-फाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घर/कार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०७९ १३:२८