close

प्रिन्ट भएर थन्किए साढे ६ लाख राष्ट्रिय परिचयपत्र, सरकारसँग छैन बाँड्ने जनशक्ति

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १५:४१

प्रिन्ट भएर थन्किए साढे ६ लाख राष्ट्रिय परिचयपत्र, सरकारसँग छैन बाँड्ने जनशक्ति

काठमाडौं । करिब साढे ६ लाख नेपालीकाे राष्ट्रिय परिचयपत्र तयार भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कात्तिक मसान्तसम्म ६ लाख २४ हजार बढी नागरिककाे कार्ड छापिएकाे छ ।

तर आवश्यक जनशक्ति तथा पूर्वाधार नहुँदा छापिएका कार्ड विभागमै थन्किएका छन् । हाल सिंहदरबारस्थित विभागको दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका करिब १० हजार सेवाग्राहीलाई कार्ड वितरण गरिए पनि देशव्यापी रुपमा वितरण कार्य सुरु हुन सकेको छैन ।

विभागका सूचना अधिकारी लक्ष्मण ढकालले तयार कार्डलाई वितरण गर्न थप जनशक्ति र पूर्वाधारको कमी रहेको स्वीकारे ।

''कार्ड वितरणका लागि सेवाग्राहीको बायोमेट्रिक पहिचान गर्न फेरि छुट्टै स्टेसन चाहिन्छ । पर्याप्त जनशक्ति र पूर्वधारको व्यवस्था नभएकाले कहिलेदेखि कार्ड वितरण हुन्छ, यसै भन्न सकिन्न,'' उनले भने ।

उनका अनुसार काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयमा रहेका दर्ता स्टेसनमा वैयक्तिक एवं जैविक विवरण दर्ता गराएका सेवाग्राहीले चाँडै नै कार्ड पाउनसक्ने छन् । यसका लागि दुवै जिल्ला प्रशासन कार्यालयमा पहिलाे चरणमा ८-८ हजारका दरले कार्ड पठाइएको उनले जनाए ।

अन्य ठाउँमा कार्ड वितरणका लागि ठोस योजना नआइसकेको उनको भनाइ छ ।

यसैबीच राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक करोड बढी नागरिकको विवरण संकलन भएको ढकालले जानकारी दिए । कात्तिक मसान्तसम्म ९९ लाख ५४ हजारको बायोमेट्रिक विवरण संकलन गरिएको छ । ''मंसिरको आधा सकिँदा एक करोड बढीको विवरण संकलन गरिएको अनुमान छ,'' उनले भने ।

हाल विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले देशैभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो छ । विभागका अनुसार ४३ जिल्लामा घुम्ती टोलीमार्फत नागरिकको वैयक्तिक एवं जैविक विवरण संकलन कार्य सम्पन्न भएको छ भने थप १५ जिल्लामा यो अभियान सुरु गरिएको छ ।

यसबाहेक ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिन्छ । तर तत्कालै कार्ड दिन नसक्दा विभागले राष्ट्रिय परिचयपत्र नम्बर मात्रै उपलब्ध गराइरहेको छ । 

राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ ?

– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

– नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र

– बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र

– विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल

– राहदानी लिएकाको हकमा सक्कल राहदानी (सक्कल संभव भएसम्म) 

यो पनि पढ्नुहोस्ः विवरण भर्दा समेत राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन ? यसो गर्नुहोस् 

 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०७९ १७:६