close

नेपालमा सामसङ इनोभेसन क्याम्पस, कोडिङदेखि आर्टिफिसियल इन्टेलिजेन्स विषयसम्म तालिम दिने

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १२:३३

नेपालमा सामसङ इनोभेसन क्याम्पस, कोडिङदेखि आर्टिफिसियल इन्टेलिजेन्स विषयसम्म तालिम दिने

काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ ।

यस कार्यक्रमअन्तर्गत सामसङले नेपाली युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने छ, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ दक्षिण पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्क र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले गरेका थिए ।

पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. शिवलाल भुसालको सहभागिता रहेको थियो ।

सामसङका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता र रोजगारीमा सहयाेग गर्नेछ ।

२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस कार्यक्रमले विद्यार्थी र बेरोजगार युवाहरूलाई सक्षम बनाउँदै चौंथो औद्योगिक क्रान्तिका मुख्य प्रविधिमा अनुभव गर्न तालिम प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १२:३६