काठमाडौं । निःशुल्क र सुरक्षित रूपमा फोटो भण्डारण गर्न, एडिट गर्न, शेयर वा भण्डारण गर्नका लागि गुगल फोटोज निकै भरपर्दो एप हो । आज हामी गुगल फोटोजलाई स्मार्ट तरिकाले प्रयोग गर्न सकिने उपायका बारेमा जानकारी दिँदैछौँ ।
फोटो ब्याकअप राख्न
तपाईँ आफ्ना हजारौँ वा लाखौं फोटो गुगल फोटोजमा सुरक्षित रूपमा भण्डारण गर्न सक्नुहुन्छ । त्यस्तै एउटा कुनै डिभाइसमा राखेका फोटो अन्य डिभाइसबाट प्रयोग गर्न पनि गुगल फोटोजको सहयोग लिन सकिन्छ ।
उदाहरणका लागि तपाईँले गुगल फोटोजमा फोटो भण्डारण गर्नुभएको छ र फोन घरमै छोड्नु भयो, यस्तो अवस्थामा कुनै पनि ठाउँबाट गुगल अकाउन्ट लगइन गरी उक्त एपमा भएका फोटो वा भिडिओ पाउन सक्नुहुन्छ ।
भौतिक रूपमा पेनड्राइभ वा हार्डवेयरमा फोटो वा भिडिओ राख्नुभन्दा यस्ता डिजिटल माध्यममा राख्नु उपयुक्त हुन्छ । किनभने भौतिक उपकरणहरू बिग्रिने वा हराउने डर हुन्छ । यसो त केही गरी अकाउन्टको एक्सेस हरायो भने गुगल फोटोजमा भएका भिडिओ वा फोटो त हराउँछन् नै । तर, अधिकांश गुगल अकाउन्टबाट आफ्नो पहुँच हराए पनि भने फिर्ता ल्याउन सकिन्छ ।
गुगल फोटोज एपमा आफूले भण्डारण गरेका कुनै पनि फोटो खोज्न सहज हुन्छ । उदाहरणका लागि तपाईँको 'राम' भन्ने साथीको फोटो खोज्न पर्यो, त्यस्तो अवस्थामा गुगलले तपाईँले भण्डारण गरेका फोटोमध्ये हरेक व्यक्तिको छुट्टाछुट्टै फोल्डर बनाएको हुन्छ ।
यसरी आफूलाई आवश्यक परेको व्यक्ति, कागजात, विभिन्न दृश्यका फोटो सहजै खोज्न सकिन्छ ।
फोटो स्तरीय तरिकाबाट एडिट गर्न सकिन्छ
गुगल फोटोजका माध्यमबाट हामी हरेक किसिमका फोटो एडिट गर्न सक्छौं । साधारण, मध्यम र उच्चस्तर गरी तीन तरिकाबाट गुगल फोटोजमा फोटो एडिट गर्न सकिन्छ ।
-आधारभूत स्तरको एडिट
गुगल फोटोजमा कुनै पनि फोटोलाई अटोकरेक्सन गर्दा त्यसमा भएका कमीकमजोरीलाई गुगलको एआईलाई सुधार्ने गर्छ । यसमा हामीले केही गर्न पर्दैन । कलर मिलाउने, लाइट थपघट गर्ने जस्ता काम सबै एआईले नै गर्छ । हामीलाई फोटोका प्राविधिक पक्षको ज्ञान नभएको खण्डमा यसरी अटो करेक्सनमा राख्न सक्छौँ ।
-मध्यम स्तरको एडिटिङ
फोटोलाई क्रप गर्नुपर्यो, आवश्यकता अनुसार ब्राइटनेस, कन्ट्रयास्ट आदि थपघट गर्नुपर्यो, फिल्टर प्रयोग गर्नुपर्यो भने गुगल फोटोजको मध्यम स्तरको एडिटिङ फिचर प्रयोग गर्न सक्छौं । फोटोको तल रहेको एडिटको अप्सनमा गएर यस्ता मध्यम स्तरका एडिटिङ गर्न सकिन्छ ।
-उच्च स्तरको फोटो एडिटिङ
यदि तपाईँलाई फोटोका प्राविधिक पक्षबारे धेरै ज्ञान छ भने गुगल फोटोजबाट उच्च स्तरीय फोटो एडिटिङ गर्न सक्नुहुन्छ । विशेषगरी अपार्चर, फोकल लेन्थ प्रोफेसनल मोडमा काम गरिरहनु भएको छ भने गुगलले पनि यो सुविधा उपलब्ध गराएको हुन्छ ।
काेलाज, गिफ वा भिडिओ बनाउन
गुगल फोटोज फोटो भण्डारण गर्नका लागि मात्र नभएर काेलाज, गिफ वा भिडिओ बनाउन समेत प्रयोग गर्न सकिन्छ ।
-गिफ बनाउन
कुनै पनि फोटोको संकलनलाई भिडिओ जस्तो बनाइर देखाउनु पर्यो भने हामी गिफ प्रयोग गर्छौं । गिफ एक प्रकारको भिडिओ फर्म्याट हो जसमा ध्वनी हुँदैन । त्यसैले यस्ता फोटो अनलाइन माध्यममा विज्ञापन गर्नका लागि प्रयोग गर्न सकिन्छ ।
-काेलाज बनाउन
आफूसँग भइका विभिन्न फोटोलाई जोडेर सिङ्गो एउटा फोटो बनाउनुलाई फोटो कलेज बनाउने भनिन्छ । गुगल फोटोजका माध्यमबाट एउटा फोटोमा दुईदेखि नौ ओटासम्म फोटो राखेर काेलाज तयार पार्न सकिन्छ ।
-भिडिओ बनाउन
गुगल फोटोजबाट एक पटकमा ५० ओटा फोटो वा भिडिओ क्लिप छानेर सिङ्गो भिडिओ बनाउन सकिन्छ । यसमा गुगलले उपलब्ध गराएका विभिन्न टेम्प्लेट प्रयोग गरेर भिडिओ बनाउन सकिन्छ ।
फोटोमा आकर्षक फिल्टर प्रयोग गर्न
हामीले खिचेको कुनै पनि फोटो पूर्ण हुँदैन । भन्नुको अर्थ त्यसमा केही न केही कुराको कमी भइरहेको हुन्छ । त्यस्ता अपूर्ण कुराहरू ढाकछोप गर्न फिल्टर निकै भरपर्दो तरिका हो ।्
गुगल फोटोजबाट आफ्नो फोटो अनुकुलको फिल्टर प्रयोग गरेर उक्त फोटोलाई आकर्षक बनाउन सकिन्छ ।
प्राइभेट वा सार्वजनिक एल्बम
गुगल फोटोजमा आवश्यकता अनुसार सार्वजनिक वा नीजि एल्बम बनाउन सकिन्छ । सार्वजनिक एल्बम भन्नाले उक्त इलम्बममा जोसुकैलाई एक्सेस दिन सकिन्छ । तर, प्राइभेट अर्थात नीजि एल्बम तपाईँले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ । त्यस्ता प्राइभेट एल्बममा आफ्ना महत्त्वपूर्ण काजगात, फोटो वा भिडिओ राख्न सकिन्छ ।
यसैगरी कसैलाई सबै एल्बम नै शेयर गर्नु छ भने त्यस्तो अवस्थामा पब्लिक एल्बम प्रयोग गर्न सक्नुहुन्छ ।
अन्य एपहरूमा फोटो लिन सहज
गुगल फोटोज एपमा रहेका फोटो अन्य विभिन्न एपमा तानेर प्रयोग गर्न सकिन्छ । विशेषगरी विक्स, वर्डप्रेस, मगिस्टो, टाइमहप जस्ता प्लेटफर्मबाट वेबसाइट बनाउनु भएको छ भने त्यस्ता प्लेटफर्ममा गुगल फोटोज सहजै इन्ट्रिगेट गर्न सकिन्छ ।
फोटोमा भएको शब्द कपी गर्न सकिने
गुगलले पछिल्लो समय ल्याएको नयाँ फिचरका माध्यमबाट गुगल फोटोज एपमै गुगल लेन्सको काम गर्न सकिन्छ । अर्थात तपाईँले गुगल फोटोजमा रहेका फोटोको टेस्ट कपी गर्न, वाचन गर्न वा उक्त फोटो सर्च गर्न सक्नुहुन्छ ।
पुराना फोटोको लोकेसन थाहा पाउन
हामीसँग गुगल फोटोजमा पुरानो ठाउँको फोटो भएको हुनसक्छ । त्यस्तो फोटो कुन ठाउँको हो भन्ने जान्न मन लागेको अवस्थामा गुगल फोटोजको फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसका लागि कुनै पनि ठाउँको फोटो छान्नुहोस् । अनि तल रहेको गुगल लेन्सको आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि प्लेसेस भन्ने अप्सन छान्नुहोस् । यसरी पुरानो फोटो कुन ठाउँको हो भन्ने जानकारी पाउन सकिन्छ ।