close

अनलाइन अकाउन्टका लागि कसरी छनोट गर्ने उत्कृष्ट पासवर्ड म्यानेजर ?

टेकपाना टेकपाना

पुस १६, २०७९ १२:३९

अनलाइन अकाउन्टका लागि कसरी छनोट गर्ने उत्कृष्ट पासवर्ड म्यानेजर ?

काठमाडौं । सुन्दा सामान्य लागे पनि सम्भवत: पासवर्ड याद गर्ने काम धेरैका लागि गाह्रो हुनसक्छ । अनलाइन अकाउन्टको पासवर्ड नबिर्सियोस् भनेर कसैले आफ्नो नोटमा सेभ गर्ने अथवा कुनै कागजमा टिपेर राख्ने पनि गर्छन् । यो त्यति सुरक्षित काम त होइन, तर पनि धेरैले पासवर्ड सुरक्षा यसरी नै गर्छन् । 

हालै सेक्युरिटी डट ओआरजी नामक एक वेबसाइटले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार विश्वमा पासवर्ड म्यानेजर प्रयोग गर्ने प्रयोगकर्ताको संख्याको तुलनामा पासवर्ड म्यानेजर प्रयोग नगर्ने प्रयोगकर्ताको संख्या तीन गुणाले बढी छ ।

यसले प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी हुने जोखिम उच्च बनाएको छ । पासवर्ड म्यानेजर हाम्रो अनलाइन दुनियाँलाई सुरक्षित राख्नको लागि महत्त्वपूर्ण त छ, तर यसको पनि आफ्नै फाइदा र बेफाइदा छन् । 

ब्राउजर-आधारित विकल्पहरू सुविधाजनक, तर असुरक्षित

पासवर्ड म्यानेजरहरू विभिन्न प्रकारका हुन्छन् । धेरैजसो वेब ब्राउजरमा पासवर्ड म्यानेजर हुने गर्छन्, जुन सुविधाजनक र प्रयोगकर्ता-अनुकूल छन् । तर यस्तो पासवर्ड म्यानेजरमा सीमित सुरक्षा र केही कमजोरी हुनसक्ने सम्भावना हुन्छ । थप बलियो सुरक्षा र सुविधाका लागि एउटा डेडिकेटेड पासवर्ड म्यानेजर प्रयोग गर्नु उपयुक्त हुने विज्ञ बताउँछन् ।

त्यस्ता थर्ड पार्टी एपले प्रयोगकर्तालाई एउटै अथवा मास्टर पासवर्डमार्फत नै अन्य अकाउन्टमा पनि लगइन गर्न सहयोग गर्छ । यस्ता डेडिकेटेड पासवर्ड म्यानेजरले बलियो पासवर्डहरू बनउन र प्रयोगकर्तालाई वेबसाइटमा पासवर्ड कपी गरेर पेस्ट गर्न पनि सहयोग गर्छन् ।

यस्ता पासवर्ड आफ्नो महत्त्वपूर्ण पिनकोड, क्रेडिट कार्ड नम्बरहरू, फोटोहरू, ड्राइभिङ लाइसेन्सको विवरण, मेडिकल डेटा लगायतका अन्य धेरै प्रकारका जानकारी सुरक्षित रूपमा स्टोर गर्न प्रयोग गर्न सकिन्छ ।

बलियो पासवर्ड म्यानेजर पनि ह्याक हुनसक्छ 

केही यस्ता उत्कृष्ट पासवर्ड म्यानेजर पनि छन्, जसले ग्राहकको डेटाको लागि बलियो इन्क्रिप्शन प्रदान गर्छन । अरुले मात्र नभई पासवर्ड म्यानेजर विकास गर्ने कम्पनी आफैंले पनि उक्त डेटामा पहुँच पुर्‍याउन नसक्ने व्यवस्था हुनेगर्छ । यस प्रकारको बलियो सुरक्षाले ग्राहकको डेटा सुरक्षित राख्न मद्दत गर्दछ । यसको अर्थ यो पूर्ण रुपमा सुरक्षित हुन्छ भन्ने चाहिँ पक्कै पनि हुन्न ।

लास्ट पास 'LastPass' विश्वको सबैभन्दा ठूलो पासवर्ड म्यानेजरमध्ये एक हो । तर २०२२ को अगस्टमा लास्ट पासको सोर्स कोड र प्राविधिक विवरण चोरी भएको कम्पनीले खुलासा गरेको थियो । यो चोरीमा कम्पनीको नाम, प्रयोगकर्ताका नाम, बिलिङ ठेगानाहरू, ईमेल ठेगाना, टेलिफोन नम्बरहरू र आईपी एड्रेसहरू लगायतका विवरणहरू चोरी भएको थियो ।

यद्यपि ह्याकरले धेरैजसो विवरणमा भने पहुँच बनाउन सकेको थिएनन् । यसको अर्थ हो, कुनै पनि पासवर्ड म्यानेजर प्रयोग गर्नु भनेको आफूले गर्ने विश्वास नै हो । 

निःशुल्क वा सशुल्क कुन सेवा प्रयोग गर्ने ? 

केही राम्रा पासवर्ड म्यानेजरहरू पनि निःशुल्क हुन्छन् भने केहीका लागि शुल्क तिर्नुपर्ने हुन्छ । केहीले भने सीमित सेवा निःशुल्क दिएर थप सुरक्षित सेवाका लागि शुल्क लिने गर्छन् । त्यसैले निःशुल्क वा सशुल्क सेवा प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्ताको आवश्यकतामा पनि भर पर्छ ।

यदि आफ्ना निकै नै संवेदनशील जानकारीको सुरक्षा गर्नु छ भने सशुल्क सेवाले बढी सुरक्षा दिनसक्छ । तर सामान्य प्रयोगको लागि मात्र हो भने निःशुल्क सेवा नै प्रयोग गर्नु उपयुक्त हुन्छ । 

कस्तो सेवा प्रदायकको सेवा प्रयोग गर्ने ?

बजारमा कुनै नयाँ सेवा सार्वजनिक हुने वित्तिकै सोही प्रकारका अन्य कम्पनीले सेवा दिनु स्वभाविक नै हो । तर कस्तो प्रकारको सेवा प्रदायकको उत्पादन प्रयोग गर्ने भन्ने विषय निकै नै महत्त्वपूर्ण हुन्छ । बजारमा अहिले थुप्रै पासवर्ड म्यानेजरहरू उपलब्ध छन् ।

नाम चलेको पासवर्ड म्यानेजरमा बिटवार्डेन, लास्टपास, वनपासवर्ड, ड्यासलेन, किपास, किपर लगायत छन् । साथै क्यास्परस्की, म्याकफी, नोर्टन लगायतका साइबर सुरक्षा कम्पनीले पनि पासवर्ड म्यानेजर सेवा दिन्छन् । ठूला कम्पनीहरुको ठूला नामको पछि लागेर पनि उत्पादनहरू प्रयोग गर्ने गरिन्छ ।

उदाहरणका लागि सन् २०१७ मा अमेरिकी सरकारले क्यासपरस्कीलाई कालोसूचीमा राखेको थियो । यद्यपि त्यो घटनाले उक्त कम्पनीलाई केही पनि असर गरेन । कम्पनीका प्रयोगकर्ताको संख्यामा कुनै कमी आएन । कम्पनीले पनि सरकारले प्राविधिक कारणले कालोसूचीमा राखेको होइन भन्दै विज्ञप्ति जारी गरेको थियो । 

बलियो पासवर्ड कसरी छान्ने ? 

पासवर्ड राख्ने बेलामा कसैले पनि सोच्न नसक्ने गरी अप्ठ्याराे प्रकारका पासवर्ड छनोट गर्नु उपयुक्त हुन्छ । अझ एक-दुई ओटा शब्द प्रयोग गर्नुभन्दा पनि कुनै वाक्य नै पनि पासवर्डको रुपमा प्रयोग गर्न सकिन्छ । प्रायजसो मानिसले आफूलाई मनपर्ने मानिसको नाम, खेलको नाम, आफ्नो कुकुर वा बिरालोको नाम वा आफूसँग जोडिएको खास कुराको नामलाई पासवर्ड राख्ने गर्छन् ।

तर यो काम जोखिमपूर्ण हुन्छ । यस्तोमा तपाईँलाई राम्रोसँग चिनेको मान्छेले तपाईँको पासवर्ड सहजै पत्ता लगाउन सक्छन् । यसैले कुनै वाक्य नै राख्ने अथवा परक प्रकारको शब्द र चिन्ह प्रयोग गरेर पासवर्ड राख्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १३:३