काठमाडौं । पछिल्लो केही वर्षयता व्यक्ति वा संस्थाका लागि पासवर्ड मेनेजर निकै महत्त्वपूर्ण बन्दै गइरहेको छ । पासवर्ड मेनेजरले प्रयोगकर्तालाई पासवर्ड सुरक्षा, अटो लगइन र बलिया पासवर्डको सुविधा दिने गर्छ ।
यद्यपि यसमा पनि कमजोरी भने अवश्य छन् । जस्तै: गुगल एड्भाइजरीले गत जनवरीमा एक रिपोर्ट सार्वजनिक गर्दै अनधिकृत साइटहरूमा समेत पासवर्ड मेनेजरले स्वत: लगइन विवरण हालेको खुलासा गरेको थियो । त्यस्ता घटनाले प्रयोगकर्तालाई पासवर्ड मेनेजरमा सधैं जोखिम हुन्छ भन्ने कुराको सम्झना गराइरहन्छ ।
यसकारण प्रयोगकर्ताले त्यस्ता कमजोरीहरू बुझ्नु र निरन्तर सतर्कता अपनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । अझ विशेष गरी वेबसाइटमा अटो फिल हुने फिचरको सन्दर्भमा त बढी नै सचेत हुनु पर्छ ।
पासवर्ड मेनेजरका दुई किनारा
प्रयोगकर्ताका पासवर्डको डेटाबेस स्टोर गर्न बनाइएका एप्लिकेसन नै पासवर्ड मेनेजर नै हुन् । अप्ठ्यारा र जटिल पासवर्डहरू सम्झनु पर्ने समस्याको समाधान नै यिनका उद्देश्य हुन् । यसलाई चलाउन एउटा मास्टर पासवर्ड चाहिन्छ । त्यसपछि प्रयोगकर्ताले त्यहाँ स्टोर गरिएका अन्य पासवर्डमा पहुँच पाउन सक्छन् ।
पासवर्ड मेनेजरले जटिल खालका पासवर्डहरू जेनेरेट गर्न सक्छ । साथै विभिन्न वेबसाइट, एपहरूमा तिनलाई अटो फिल गर्न सक्छ । तर जोखिम पनि उत्तिकै छ । किनकी पासवर्डहरू सेभ गरेको सर्भरलाई ह्याकरले ह्याक गर्न सक्छन् ।
अटो-फिलिङको समस्या
सुरक्षालाई अझै बलियो बनाउन पासवर्ड मेनेजर विकास गरिएको हो । तर पासवर्ड मेनेजरको अटो फिलिङले शङ्कास्पद वा अनधिकृत वेबसाइटमा पासवर्डहरू स्वत: भर्न सक्छन्, जुन ठूलो समस्या हो ।
यो फिचर त्यतिबेला समस्या बन्छ, जब प्रयोगकर्ताहरूले साइटबारे अध्ययन नगरी यो फिचर प्रयोग गर्न लाग्छन् । यता साइबर अपराधीहरूले फिशिङ साइटहरू बनाएर त्यस्ता पासवर्ड मेनेजरलाई झुक्याउन खोजी रहेका हुन्छन् । जहाँ लापरवाही गर्ने प्रयोगकर्ताहरूले सजिलै फस्न सक्छन् ।
सामान्यत: फरक टुलले फरक फरक डिभाइस तथा सफ्टवेयर सपोर्ट गर्छ । यसकारण तपाईंको आवश्यकतालाई पूरा गर्ने र काम राम्रो गर्ने पासवर्ड मेनेजर लिनु राम्रो उपर्युक्त हुन्छ । बजारमा अहिले थुप्रै प्रकारका पासवर्ड मेनेजर उपलब्ध छन् ।
केही पासवर्ड मेनेजरले सबै डिभाइसमा काम गर्दैनन्, त्यस्तै केहीले विशेष वेब ब्राउजरमा मात्र काम गर्छन् । तर सबैमा पासवर्ड सुरक्षा जोडिन्छ । यो हरेक हिसाबले महत्त्वपूर्ण छ । पासवर्ड मेनेजरको सुरक्षात्मक मेकानिज्मले प्रयोगकर्ताको केही त्रुटिहरूलाई रोकेर क्षति हुनबाट बचाउन सक्छ । तर प्राय: कमजोर पासवर्ड स्वयं व्यक्ति कै कारण हुने गर्छ ।
बलियो पासवर्ड
कमजोर पासवर्ड राख्नु नै मुख्य समस्या हो । यसको समाधान पासवर्ड मेनेजरले केही हदसम्म भए पनि गर्न सक्छ । किनकी पासवर्ड मेनेजरले जेनेरेट गर्ने पासवर्डहरू लामो तथा बलियो हुने गर्छन् । तपाईं स्वंय आफैं पनि निम्न विधि अपनाएर बलियो पासवर्ड राख्न सक्नुहुन्छ ।
साना ठूला अक्षर: हालैका अध्ययनहरूले साना ठूला अक्षर (अपर/लोअरकेस) राख्दैमा बलियो पास नहुने निष्कर्ष निकालिसकेका छन् । तर पनि यसले सुरक्षालाई बलियो बनाउने सुझाव दिइन्छ । यदि तपाईंले कम अक्षर राखेर पासवर्ड बनाउनु भए यो विधि प्रयोग गर्न सक्नुहुन्छ ।
लामा अक्षर: बलियो पासवर्ड अर्को उपाय लामा अक्षरको पासवर्ड प्रयोग गर्नु हो । पासवर्ड सुरक्षाको सबैभन्दा प्रभावकारी रणनीतिहरू मध्येमा पर्छ यो । यसले ह्याकरको प्रयासलाई पनि चुनौती दिने बताइन्छ ।
सङ्केतको प्रयोग: पछिल्ला अध्ययनले सङ्केतहरू राख्दा पासवर्ड अझ बढि बलियो हुने देखाएको छ । अपर/लोअरकेसले भन्दा पनि सङ्केतले पासवर्ड बलियो हुने बताइन्छ ।
अनौठा शब्द: पासवर्डको सुरक्षा लागि अपनाउन सकिने अर्को विधि शब्द आफैं निर्माण गर्ने हो । यसो गर्दा ह्याकरहरूले पासवर्ड सजिलै अनुमान लगाउन सक्दैनन् । तर शब्दकोशका शब्द प्रयोग गर्दा पासवर्ड सजिलै ह्याकरले थाहा पाउन सक्छन् ।
यी कुराहरू पालना गरेर तपाईंले आफ्नो पासवर्डलाई बलियो बनाउँदै डिजिटल संसारमा सुरक्षित हुन सक्नुहुन्छ । यस लागि प्रयोग गरिने पासवर्ड मेनेजरको मात्र भने भर पर्नुहुन्न । तपाईं स्वयं पनि आफ्नो अनलाइन आचरण सुधार्नु पर्ने हुन्छ ।