close

२ पटक एसएलसी फेल राजभाइ यसरी बने नेपालकै नामी फोटोग्राफर

सञ्जीवन राई सञ्जीवन राई

पुस १७, २०७९

२ पटक एसएलसी फेल राजभाइ यसरी बने नेपालकै नामी फोटोग्राफर

काठमाडौं ।  एकताका बाग्मतीमा कञ्चन पानी बग्थ्याे । काठमाडाैं फराकिलाे र स्वतन्त्र लाग्थ्यो । हाल भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड रहेकाे १० राेपनी जग्गा राजभाइ सुवालका परिवारकै थियाे ।

राजा महेन्द्रकाे विकास नीतिका कारण त्याे जग्गा गुम्यो । राजभाइका हजुरबुबाले जसाेतसाे गरेर मैतिदेवीमा जग्गा जाेडे । बुबाले त्यसैमा केही जोडे । 

त्यहाँ उनले अहिले आधुनिक र प्रविधियुक्त फाेटाे स्टुडियाे बनाएका छन् । जहाँ सेलिब्रेटीदेखि विभिन्न उत्पादनका फाेटाे तथा भिडिओको सुटिङ गरिन्छ । नेपाल भित्रिने अधिकांश स्मार्टफाेनदेखि गाडीहरूकाे तस्वीर त्यहीँ खिचिन्छ ।

सामान्य किसान परिवारमा जन्मेका राज भाइ सुवालकाे साेचले यो स्टुडियाे बनेकाे हाे । उनले करिब चार दशक फाेटाेग्राफीमा बिताएका छन् । विशेषत: उनी कमर्सियल र फेसन फाेटाेग्राफीका लागि नामी छन् । 

राजभाइ अमेरिकी सरकारकाे सहयाेगमा स्थापना भएकाे निजी विद्यालय ल्याबरेटोरीमा अध्ययन गर्थे । उनलाई विद्यालय तहमा सबैले ‘फुच्चे’ नामले बाेलाउँंथे । उनी सुन्दर देखिन्थे ।

राम्राे अनुहार भएकाले एक शिक्षिकाले उनकाे तस्वीर समेत खिचिदिएकी थिइन् । उनी सानो छँदा घरमा फाेटाेग्राफर बोलाएर परिवारकाे तस्वीर खिच्ने गरेको सम्झिन्छन् । बाल्यकालमा फाेटाेग्राफीसँग आफू नजिक भएकाे राजभाइको अनुभव यत्ति हाे । 

एसएलसीमा उनी दुई पटकसम्म अनुत्तीर्ण भए । पटकपटक अनुत्तीर्ण हुँदा उनलाई जिन्दगी नै सिद्धिए झैँ लागेकाे थियाे । अब केही गर्न सक्दिनँ कि भनेर उनले हरेस् समेत खाइसकेका थिए ।

सँगै पढेका साथीहरू कुन कलेजमा भर्ना हुने भन्दै दाैडधुपमा जुटिरहेका थिए । तर उनलाई भने हजुरबुबाले भनेको एउटा कुराले सताइरहेकाे हुन्थ्यो । हजुरबुबाले उनलाई सीप भएकाे व्यक्ति जसरी पनि बाँच्न सक्छ भनेर ढाडस दिइरहेका हुन्थे ।

याे कुराबाट उनी निकै प्रभावित बने । यसैबीच सुवाल परिवारमा ‘सबैले फरकफरक काम गर्ने’ सल्लाह भयाे । त्यसपछि उनी अनेक सीप सिक्न थाले ।

१३ वर्षकै उमेरमा राजभाइले सिलाइकटाइ सिके । घरमा सबैका लागि कपडा सिलाइदिन्थे । सिलाइ बाहेक उनले छालाका जुत्ता बनाउने, स्वेटर बुन्ने, पेन्टिङ गर्नेदेखि लिएर इलेक्ट्रिसियनकाे काम पनि सिके । 

उनका बुबा डबलीका कलाकार थिए । राजभाइको भित्री मनमा पनि कताकता कलाकार बन्ने रहर थियाे । त्यही सपना पूरा गर्न उनले नृत्य, गायन र वाद्यवादन सिके ।

उनलाई देशविदेश घुम्ने चाह पनि  थियो । त्यसैका लागि भनेर उनले ‘लाेकनृत्य’ सिके । तर विदेश घुम्ने उनकाे सपना नाचबाट पूरा भएन । त्यसपश्चात् उनले नृत्य गर्नै छाडिदिए । 

 

फाेटाेग्राफीको यात्रा

हुर्काइका क्रममा उनले अनेकौँ हिन्दी चलचित्र हेरेका  थिए । जसले गर्दा बम्बई उनको सपनाको सहर थियाे । त्यहाँ जान उनले बारम्बार प्रयास गरिरहे । तर मौका पाएका थिएनन् । सोही समयमा उनी शिक्षण पेशामा आवद्ध थिए । 

सिद्धार्थ शिशु निकेतनमा उनी अध्यापन गर्थे । त्यही पेशाले नै उनलाई आफ्नाे सपनाकाे सहर जानबाट रोकिरहेको थियो । तर उनका साथीहरू भने पहिले नै मुम्बई गइसकेका थिए । 

जसरी पनि जाने याेजनाका साथ उनले आवश्यक तयारी थाले । अन्तत: १९८४ मा उनी मुम्बई पुगे । त्यसबेला उनी फाेटाेग्राफर भइसकेका थिएनन् । मुम्बईमा उनले सामुन्नेमै चलचित्रकाे छायाङ्कन भइरहेको देखे ।

त्यहाँ बस्दा उनी फाेटाेग्राफी सम्बन्धी किताब, पत्रपत्रिका किनेर पढ्न थाले । त्यसैका लागि १५ रुपैयाँ पर्ने खाना नखाएर पैसा जोगाउँथे । त्यहाँ उनी साथीसँग बस्थे ।

तर बाहिर जाँदा खाना खानै पर्थ्याे । उनलाई यता फाेटाेग्राफी सम्बन्धी पुस्तक पढ्नु पनि थियाे, उता खाना खानु । त्यसैले उनी बाहिर जाँदा खानाकाे साटो दुई रुपैयाँ पर्ने वडापाउ खाने थाले ।

एक महिना मुम्बई बसेर नेपाल फर्केपछि ‍उनमा फाेटाेग्राफी प्रतिको माेह पलाउन थाल्याे । ‘फाेटाेग्राफर बन्न पाए पनि हुन्थ्याे’ भन्ने साेचाइ मनमा आइरहेको  थियो । विभिन्न सीप सिकिरहने भएकाले उनलाई घरबाट कुनै रोकतोक थिएन ।

उनलाई फाेटाेग्राफी गर्न मन थियाे, तर साथमा क्यामेरा थिएन । रहरै रहरबीच २०४२ मा उनले औपचारिक रुपमा फाेटाेग्राफी सुरु गरे । क्यामेरा भएका साथीसँग मागेर उनी फाेटाेग्राफी गर्न थाले ।

फाेटाेग्राफीमा उनले सकेसम्म धेरै प्रयाेग गरे । विभिन्न विधामा आफूलाई जाँचिहेरे । मानौँ फाेटाेग्राफीमा त्यस्तो कुनै शक्ति थियो, जसले उनलाई त्यतातर्फ तानिरहेकाे थियो । 

 

चलचित्र छायाङ्कन

उनले फाेटाेग्राफी सुरु गर्दैगर्दा त्यति धेरै फाेटाेग्राफर थिएनन् । त्यो डिजिटल नभएर एनालग फाेटाेग्राफीकाे जमाना थियाे । यसकारण म्यानुअल्ली अपार्चर, सटर स्पिड र आईओएस मिलाएर फाेटाे खिच्न सक्ने व्यक्ति नै अब्बल फाेटाेग्राफरको रूपमा गनिन्थ्याे ।

त्यसबेलामा अहिलेकाे जस्ताे फाेटाे तुरुन्तै हेर्न मिल्दैनथ्याे । समग्रमा भन्दा क्यामेराकाे प्राविधिक कुरा थाहा पाएकाहरू नै फाेटाेग्राफर हुने गर्थे । जस्ताे प्रविधि छ, उनी त्यसैगरी अगाडि बढिरहेका थिए ।

याे समयमा उनी विवाह र कार्पेट फाेटाेग्राफी गरिरहेका थिए । उनकाे फाेटाेग्राफी यात्राबारेमा साथीहरूलाई थाहै थियाे । यसकारण साथीहरूले नै उनलाई चलचित्र छायाङ्कन गर्ने प्रस्ताव गरे । त्यसपछि उनकाे यात्रामा नयाँ माेड आउँछ । उनी चलचित्र छायाङ्कार बन्छन् । 

नेपाल भाषाकाे चलचित्र ‘चरित्र’ उनले खिचेको पहिलो चलचित्र थियो । साे चलचित्रकाे छायाङ्कन नसकिँदै उनलाई अन्य अवसरहरू पनि आए । त्यसपश्चात् उनी फाेटाेग्राफी र चलचित्र दुवैमा काम गर्न थाले ।

त्यही समयकालमा उनकाे विवाह भयाे । उनी कामका लागि विभिन्न ठाउँमा जाँदा फर्किने समय निश्चित हुँदैन थियाे । एक दिन कामबाट फर्केका बेलामा श्रीमतीले उनीसँग दु:खेसाे पोखिन् ।

त्यसपछि उनले चलचित्र नखिच्ने निर्णय लिए । चलचित्र नखिच्नुकाे कारण समय व्यवस्थापन बाहेक यस क्षेत्रमा आएका अनेकन् नराम्रा कुराहरू पनि थिए । 

त्यसो त चलचित्रमा काम गरिरहँदा उनले खासै आर्थिक समस्या झेल्नु परेको थिएन । तर चलचित्रकाे काम छाडेपछि उनमा आर्थिक समस्याको सामना गर्नु पर्‍यो ।

चलचित्र छायाङ्कन गर्न भनेर उनले आमाकाे तीन ताेलाकाे सुनकाे सिक्री बेचेर क्यामेरा किनेका थिए । भिडिओग्राफी गरेर उनी आमाकाे सिक्री फिर्ता गर्न चाहन्थे । तर भिडिओग्राफी नगर्ने भएपछि उनले त्याे बाचा पूरा गर्न सकेनन् ।

यसैबीच उनले पुतलीसडकमा आफ्नै फाेटाे स्टुडियाे पनि खाेलेका थिए । त्याे कहिले चल्थ्याे, कहिले खाली हुन्थ्याे । विवाहकाे माैसममा उनी ‘वेडिङ फाेटाेग्राफी’ गर्न कुदिहाल्थे । बाँकी समय उनी स्टुडियाेमा हुन्थे र फ्रिल्यान्सिङको काम गर्थे । 

त्यसैताका उनीमा जागिर गर्ने मुड सवार भयो । एक दिन ‘फाेटाेग्राफर आवश्यकता’ भन्ने शीर्षकमा प्रकाशन भएकाे विज्ञापनमा उनको आँखा पर्‍यो । त्यसमा आवेदन पनि दिए ।

तर उनी छनाैट भएनन्। त्यसपछि उनले फाेटाेग्राफी अध्यापन गराउन थाले । उनले पढाएकाे पहिलाे वर्षका विद्यार्थी २०५० सालमा ‘पासआउट’ भए । यसबाहेक ब्रिटिस काउन्सिलले आयाेजना गरेकाे फाेटाेग्राफी सम्बन्धी ‘ट्रेनर्स ट्रेनिङ’मा भाग लिए । त्यसले फाेटाेग्राफी प्रतिको उनको अभिरुचि अझ जगायाे ।

 

ड्रिम स्टुडियाे

लामाे अध्ययनपछि उनले आधुनिक स्टुडियाेको रूपमा ‘क्रियटिभ डी स्टुडियाे’ खाेले । याे बहुउद्देश्यीय स्टुडियाे हो । नाममा भएकाे ‘डी’ काे पछाडि क्रियटिभ, डिजाइनर, डाइमेन्‍सन र डिग्री जोडिएको छ ।

नेपालकाे विज्ञापन बजारका लागि याे स्टुडियाे परिपूरक जस्तै बन्यो । यस क्षेत्रमा भएका सिर्जनशील मान्छेका लागि आफूले याे स्टुडियाे बनाएकाे सुवाल बताउँछन् । 

सुवालले एड्भेन्चर नेपाल, नेपाल ट्राभलर, वेलकम नेपाल जस्ता ट्राभल म्यागजिनमा काम गरिरहेका थिए । त्यसबेला नेपालबाट निर्यात हुने अधिकांश कार्पेट जर्मनी जान्थ्यो ।

त्यहाँ कार्पेट सम्बन्धी हुने सबैभन्दा ठूलाे मेलामा फाेटाेग्राफरकाे आवश्यकता पर्दा उनी नेपालबाट विकल्पहीन भएका थिए । त्यसपश्चात् उनलाई सधैँजसो कार्पेटकाे फाेटाे खिच्ने अवसर मिल्न थाल्यो ।

तर ठूला कार्पेटकाे फाेटाे लगातार खिच्नु मामुली कुरा थिएन । उनलाई आरामले कार्पेटकाे फाेटाे खिच्‍ने स्टुडियाे चाहिरहेकाे थियाे । त्यसपछि उनी उक्त आवश्यकता पूरा गर्न आफैँ कस्सिए । 

नेपालमा आफ्नै आधुनिक स्टुडियाे निर्माण गर्नु अघि उनी भारत, जर्मनी, फ्रान्सका धेरै स्टुडियाे पुगे । उनी जहाँजहाँ जान्थे, आफ्नाे पोर्टफोलियो पनि देखाउँथे ।

उनकाे पोर्टफोलियो देखेर जर्मनका एक स्टुडियाे मालिकले सन् २००४ मा आफ्नोमा कामकाे प्रस्ताव समेत गरे । “सुरुमा दुई हजार युराे, छ महिना पछि तीन हजार युराे र त्यसपछि काम अनुसार पारिश्रमिक दिने प्रस्ताव थियाे,” उनी सुनाउँछन्, “त्याे समयमा एक युराेकाे मूल्य ९४ रुपैयाँ थियाे ।”

याे कुरा उनले सँगै गएकी श्रीमतीलाई सुनाए । तर श्रीमतीलाई कामका लागि विदेश बस्ने कुरा चित्त बुझेन । “हामी स्टुडियाे हेर्न आएका हाैँ । काम खाेज्न हाेइन,” श्रीमतीले कडा जवाफ दिँदै भनेकी थिइन्, “तपाईं यहाँ बस्नुहुन्छ भने बस्‍नुहोस्, म नेपाल जान्छु ।” 

जर्मनीमा यस्तो प्रस्ताव पाउँदा उनलाई त्यतै बसाैंँबसौँ नलागेकाे हाेइन । तर श्रीमतीकाे असहमति र नेपालमै स्टुडियाे खाेल्ने प्रणले उनी फर्किए । 

यो स्टुडियोलाई एकै पटक चार/पाँच ओटा स्टुडियाेको सञ्चालन गर्न सकिन्छ । जुन नेपालकै पहिलाे अटाेमाेबाइल स्टुडियाे पनि हाे । हाल य‍ो स्टुडियाेमा छ जना प्राेफेसनल फाेटाेग्राफर कार्यरत छन् ।

त्यहाँ ३६० डिग्रीमा फाेटाे तथा भिडिओ खिच्न सकिन्छ । खासमा याे ‘अल इन वान’ स्टुडियाे भएकाे सुवाल बताउँछन् । फाेटाेग्राफी गर्दा आउने चुनाैती र आवश्यकताकाे परिपूर्ति गर्न उनले आफ्नै स्टुडियाे बनाएका हुन् ।

विशेष गरेर याे स्टुडियाे ‘कार्पेट र कार’ फाेटाेग्राफी गर्न बनाइएकाे थियो । मैतिदेवीकाे क्रियटिभ डी स्टुडियाे बनाउनु अघि उनले पुतलिसडक, बागबजार लगायतका ठाउँमा पनि स्टुडियाे बनाएका थिए ।

तर त्यहाँ अर्कै समस्या थियाे । पुतलिसडककाे पूरानाे स्टुडियाेमा बाइककाे फाेटाे खिच्न तीन तला माथि लानुपर्थ्याे । यसका लागि उनले चार/पाँच जना मान्छे लगाउँथे ।

त्यही स्टुडियाेमा एक जना ग्राहकले बाइक केरिएला भनेर फाेटाे खिचाउन मानेनन् । तर अहिलेको नयाँ स्टुडियाेमा ४० ओटा बाइक र २० वटा कार अटाउन सक्ने पार्किङ छ ।

क्रियटिभ डी स्टुडियाेकाे डिजाइन उनी स्वयम् आफैँले गरेका हुन् । स्टुडियाे डिजाइनमा इन्जिनियरहरूसँग उनकाे कुरा मिलिरहेकाे थिएन । उनले साेचेकाे जस्ताे डिजाइन निस्किरहेकाे थिएन ।

त्यसपछि उनले एक हप्ता अटाेक्याड (autoCAD) सफ्टवेयर सिके । थप एक हप्ता लगाएर उनी आफैँले चाहेको बनाए । याे स्टुडियाे बनाउन उनकाे श्रीमतीले पनि विशेष भूमिका खेलेकी छिन् ।

उनी स्वयम् आर्किटेक्ट इन्जिनियर हुन् । सुवाल फाेटाेशुटका लागि अन्त गएकाे बेलामा सबै जिम्मा श्रीमतीले नै सम्हाल्छिन् । सुवालले याे स्टुडियाेमा आउने ग्राहकलाई स्वस्थ खानाकाे व्यवस्था पनि मिलाएका छन् । सकेसम्म उनी याे स्टुडियाेलाई ‘घर र कार्यालय’ दुवै महसुस गराउने वातावरण सिर्जना गर्न लागिपरेका छन् ।

 

फाेटाेशप र वेबसाइट

आफ्नाे फाेटाेलाई ‘फाेटाेशपमा धेरै रिटच गर्नु पर्‍यो’ भन्ने माग आएपछि उनले फोटोशपबारे चाल पाएका थिए । त्यसमा उनलाई रुचि पलायाे । सन् १९९९ मा उनी फेरि मुम्बई हानिए ।

त्यहाँ फाेटाेशप सिके । डिजिटल फाेटाेग्राफीको तालिम लिए । भारतमा फाेटाेशप सिक्न जाँदा उनकाे व्यक्तिगत वेबसाइट बनिसकेकाे थियाे ।

उनी त्यहाँ छँदा त्यही वेबसाइटमा आफ्नाे पोर्टफोलियो देखाउँथे । अन्य व्यक्तिसँग सम्पर्क बढाइदिए बापत डेभलपरले उनकाे वेबसाइट सित्तैमा बनाइदिएका थिए । 

फोटोग्राफीको जीवन दर्शन

सुवालले फाेटाग्राफीका क्रममा अनेकौँ सरसामग्री जुटाएका छन् । त्यसमा भएको सबै लगानी जग्गामा गरेकाे भए काठमाडाैंमा अहिले आफूसँग १५ राेपनीभन्दा बढी जग्गा हुने उनी बताउँछन् ।

“भाैतिक सम्पत्तिभन्दा पनि आत्मसन्तुष्टि ठूलाे कुरा जस्तो लाग्छ,” उनी भन्छन्, “आफू वरिपरि भएकालाई खुसी राख्न सकियाे भने खुसी आफैँ मिल्छ । जीवनमा पैसाले खुसी किन्न सकिँदैन ।”

साथमा क्यामेरा हुँदैमा जोकोही फाेटाेग्राफर बन्न सक्दैनन् । सुवालले ग्राहकका विभिन्न मागलाई लाइट (प्रकाश), क्यामेराकाे सहयाेगमा पूरा गर्छन् । ग्राहकहरूकाे मागले नै आफूलाई याे अवस्थामा पुर्‍याएकाे उनी बताउँछन् ।

उनका लागि फाेटाग्राफीमा अरुले नै दिने सल्लाह सुझाव नै सिकाइ हाे । त्यसले आफूलाई परिष्कृत गर्ने उनकाे अनुभव छ । तर समयसँगै आफू पनि हिड्नु पर्नेमा पनि उनी जाेड दिन्छन् । क्यामेरा चयन गर्ने सन्दर्भमा उनी राम्राे भन्दा पनि कस्ताे फाेटाेग्राफी गर्ने भन्ने कुराले कुराले बढी फरक पार्ने बताउँछन् । 

फाेटाेग्राफी गरेर उनले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । तर सबैभन्दा ठूलाे उनी आफ्नाे कामलाई मान्छन् । कसैले हात मिलाउँदै मैले चिनेकाे छु भनेर भन्नु नै उनका लागि पुरस्कार समान छ ।

उनी सन् १९९७ देखि कै ‘मिस नेपाल’काे अफिसियल फाेटाेग्राफर हुन् । उनले नयाँ फाेटाेग्राफरहरूलाई अवसर सिर्जना गर्ने उद्देश्यका साथ ‘ग्यालरी १८२७’ खाेलेका थिए ।

तर त्याे अझै सञ्चालनमा आउन सकेकाे छैन । त्यस्तै फाेटाेग्राफी सम्बन्धी आवश्यक पर्ने विभिन्न ग्याजेट्स उपलब्ध गराउने हेतुले उनले सन् २०१२ बाट ‘फाेटाेकिपा’ एक्स्पाेकाे सुरुवात समेत उनैले गरेका हुन् ।