close

डिजिटल कारोबार प्रवर्द्धन गर्दै बैंक, के लकडाउन ‘क्यासलेस’ को सुरुवात बन्ला ?

टेकपाना टेकपाना

बैशाख ७, २०७७ ९:३४

डिजिटल कारोबार प्रवर्द्धन गर्दै बैंक, के लकडाउन ‘क्यासलेस’ को सुरुवात बन्ला ?

काठमाडौं । लकडाउनले अधिकांश सरकारी र निजी कार्यालय बन्द भएपछि ठूलो मात्रामा नगद कारोबार घटेको छ । दैनिकी कामका लागि नगद कारोबार भइरहेपनि अनलाईनमा उपलब्ध सेवामा भने डिजिटल कारोबारको प्रयोग बढ्दो छ । रिचार्जदेखि अनलाईन सामान खरिद गर्दासम्म यस किसिमको कारोबार प्राथमिकतामा छ ।

डिजिटल कारोबारको प्रवृत्ति बढ्न थालेपछि नेपाली बैंकहरु पनि त्यस्तै किसिमको कारोबार सुविधा उपलब्ध गराउन प्रयासरत छन् । डिजिटल कारोबार गर्दा क्यास ब्याकदेखि छुटका योजना बैंकले अगाडि सारेका छन् ।

यसबाहेक कागजी नोटबाट कोरोना संक्रमण बढ्छ की भन्ने मान्यताले पनि डिजिटल प्रणालीतर्फ ग्राहकहरु आकर्षित भइरहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई छ । प्रविधिमा विश्वास गर्ने खासगरी युवापुस्ता डिजिटल कारोबारमा अहिले बढी सक्रिय रहेको उनले बताए ।

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले आफ्नो बैंकले पनि यसलाई बढाउन प्रोत्साहन गरिरहेको जानकारी दिए । सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न कारोबार शूल्क लकडाउनका कारण निःशूल्क गरेको छ ।

पछिल्लो समय ५ प्रतिशतभन्दा बढी ग्राहक नगद कारोबारबाट क्यासलेसमा ‘सिफ्ट’ भएको बताउँछन् प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन । पहिले प्रयोग नगरेका पनि अहिले डिजिटल कारोबारको सदुपयोग गरिरहेको उनको अनुभव छ ।

डिजिटल कारोबारलाई टिकाइराख्न यसप्रतिको सचेतना, विश्वास र सुरक्षाको विषय महत्वपूर्ण हुने भएकाले त्यसै अनुसारको नीतिको आवश्यकता देख्छन् उनी । ‘अन्यथा अहिले बढ्यो भन्दैमा पछि यहि रुपमा अघि बढ्छ भन्न सकिन्न्’ उनी भन्छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने केन्याको ‘एम पेसा’ सँग जोडेर नेपालमा बढ्दो डिजिटल कारोबारलाई तुलना गर्छन् । ‘केन्यामा बारम्बार हुने आतंकका कारण खल्तीमा पैसा लिएर हिंड्नै डर लाग्ने अवस्था भएपछि त्यहाँ एम पेसा भरपर्दो माध्यम बन्यो’ उनी भन्छन् ‘त्यहीं परिस्थिती नेपालमा कोरानाले निम्त्याएको छ ।’

घरबाहिर निस्कन बन्देज लगाएपछि अनलाईबाटै औषधी, खाद्यान्न तरकारी सबै अनलाईन नै अर्डर गर्नुपर्ने र अनलाईनमै भुक्तानी गर्नुपर्ने अवस्था आएकोले डिजिटल कारोबारको विकल्प नरहेको उनी बताउँछन् । ‘नजानेर पनि जान्नुपर्ने, विश्वास नलाग्दा नलाग्दै पनि डिजिटल कारोबार विश्वास गर्नुपर्ने बाध्यता भएको छ’ उनी भन्छन् ।

सुरुमा एटीएम प्रयोग गर्न पनि मान्छेहरु असजिलो मान्ने गरेकोमा अहिले त्यो सामान्य बन्दै गएकोमा भविष्यमा डिजिटल कारोबारको पनि बानी बस्दै जाने शाहको बुझाई छ । अब डेबिट र क्रेडिट कार्डबाट नभई मान्छेले हातमा बोक्ने मोबाइलबाटै स्क्यान एण्ड पेको अवधारणमा सबै बस्तु खरिद र कारोबार गर्न सक्ने प्रणालीतर्फ जानुपर्ने उनको सुझाव छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४