close

टिकटक अकाउन्ट सधैंका लागि डिलिट गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ १०:२५

टिकटक अकाउन्ट सधैंका लागि डिलिट गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । पछिल्लो पटकको रिपोर्ट अनुसार बाइट ड्यान्स कम्पनीको भिडियो शेयरिङ प्लेटफर्म टिकटकको डाउनलोड संख्या २ अर्बभन्दा धेरै पुगेको छ । टिकटकमा सबै उमेरका उत्साही प्रयोगकर्ताहरु रहेका छन् ।

लोकप्रियताको माझ यो एप विभिन्न अवसरमा निकै विवादास्पद पनि बन्न पुग्यो । कहिले अश्लील सामग्रीलाई प्रवर्द्धन गरेको, कहिले डेटा बिक्री गरेको, त कहिले चिनियाँ सरकारको सुराकीको हतियार भएको आरोप यो भिडियो शेयरिङ प्लेटफर्ममाथि लाग्दै आएको छ ।

यो एपमाथि विभिन्न मुलुकले विभिन्न समयमा प्रतिबन्ध समेत लगाउँदै आएका छन् । तपाईं पनि टिकटकलाई कुनै व्यक्तिगत कारणले हटाउन चाहनुहुन्छ वा टिकटक अकाउन्ट डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंले केही निर्धारित प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ ।

कुनै पनि सामाजिक सञ्जाल एपहरुले आफ्ना प्रयोगकर्तालाई सजिलै आफ्नो प्लेटफर्मबाट निस्किन दिँदैनन् । टिकटक पनि त्यस्तै एप हो । यसबाट पनि तपाईं आफ्नो अकाउन्ट डिलिट गर्न चाहनुहुन्छ भने यसबाट हुने असरको विषयमा तपाईं जानकार हुनैपर्छ ।  

तपाईंले एकपटक टिकटक अकाउन्ट डिलिट गरिसकेपछि पुन: फेरी त्यही अकाउन्टमा साइन ईन गर्न सक्नु हुने छैन  । तपाईंले अपलोड गरेका सबै भिडियोहरु सदाका लागि डिलिट हुनेछन् ।

तपाईंले किनेको कुनै पनि सामग्री यो प्लेटफर्मले फेरी अफर गर्ने छैन । अर्को ध्यान दिनुपर्ने कुरा के छ भने तपाईंको च्याट जस्ता जानकारी, जुन तपाईंको अकाउन्टमा स्टोर हुँदैन, ती कुराहरु अरुले देखिरहेका हुनसक्छन् ।

अस्थायी रुपमा टिकटक निष्कृय बनार्न चाहनुहुन्छ ?

तपाईं अस्थायी समयका लागि टिकटक अकाउन्ट डिएक्टिभ अर्थात निष्कृय गर्न चाहनुहुन्छ ? त्यो सुविधा भने तपाईंले पाउनु हुनेछ । जब तपाईं डिलिट बटन थिच्नुहुन्छ, तब तपाईंको यो अकाउन्ट ३० दिनसम्मका लागि डिएक्टिभेट हुनेछ ।

डिएक्टिभेट भएको समय तपाईंको अकाउन्ट अरुबाट लुक्नेछ । ३० दिनभित्र तपाईं पुनः त्यसलाई रिएक्टेभिट गर्न चाहनुहुन्छ भने सजिलै साइन ईन गरेर पुन: चलाउन सक्नुहुन्छ ।

टिकटक डेटा डाउनलोड गर्नुहोस् 

तपाईं टिकटक अकाउन्ट डिलिट गर्ने निर्णयमा पुग्नुभयो भने सबैभन्दा पहिले तपाईं आफ्नो टिकटक डेटा डाउनलोड गर्नुहोस् । तपाईंले जुनसुकै सामाजिक सञ्जालमा रहेको आफ्नो अकाउन्ट डिएक्टिभ गर्दै हुन्हुन्छ भने पनि डेटा भने सधैं डाउनलोड गर्ने गर्नुहोस् ।

टिकटकमा फाइल डाउनलोडको रिक्वेस्ट पठाउन सजिलो छ । तर कस्तो डेटा डाउनलोड गर्ने वा कस्तो डेटा डाउलोड नगर्ने भन्ने कुरा तपाईंले चयन गर्न भने पाउनु हुने छैन ।

डेटाको विषयमा जानिराख्नुहोस्

  • प्रोफाइल : यसमा तपाईंको युजरनेम, प्रोफाइल फोटो, प्रोफाइल डिस्क्रिप्सन, फोन नम्बर तथा ईमेल एड्रेस जस्ता सम्पर्क सम्बन्धि जानकारी राखिएका हुन्छन् ।
  • एक्टिभिटी : यसमा तपाईंका भिडियो, कमेन्ट हिस्ट्री, च्याट हिस्ट्री, पर्चेज हिस्ट्री , लाइक र फेब्रेट्स आदी रहेका हुन्छन् ।
  • एप सेटिङ : यसमा प्राइभेसी, नोटिफिकेसन र भाषा सेटिङ हुन्छ ।

टिकटकमा रहेको आफ्नो डेटा डाउनलोड गर्न यसो गर्नुहोस्

  • १. सबैभन्दा पहिले आफ्नो डिभाइसमा टिकटक ओपन गर्नुहोस् । त्यसपछि स्क्रीनको तल दायाँ कुनामा रहेको प्रोफाइल ट्याबमा ट्याप गर्नुहोस् । 
  • २. त्यसपछि माथि दायाँ कुनामा रहेको तेर्छो र ठाडो एलिप्सिसमा ट्याप गर्नुहोस् ।
  • ३. प्राइभेसी एण्ड सेफ्टीमा ट्याप गर्नुहोस् ।
  • ४. पर्सनलाइजेसन एण्ड डेटामा ट्याप गर्नुहोस् ।
  • ५. डाउलोड योर डेटामा गएर ट्याप गर्नुहोस् ।
  • ६. अब अर्को स्क्रीनमा आफूले रिक्वेस्ट गरेका सबै डेटाहरु देखा पर्छन् । त्यहाँ रिक्वेस्ट डेटा फाइलमा ट्याप गर्नुहोस् ।

अब ‘डाउनलोड डेटा’ ट्याब स्वत: छनौट हुन्छ । स्क्रीनमा पेन्डिङ रिक्वेस्ट भनेर देखिन्छ । जब टिकटकको डेटा तयार हुन्छ, तब एपले तपाईंलाई अलर्ट पठाउँछ । त्यसपछि फाइल डाउनलोड गर्नुहोस् ।

तपाईंले यहाँनिर एउटा कुरा भने ध्यानमा राख्नुपर्ने हुन्छ । टिकटकले सधैं क्रियट गरेको चार दिनपछि डाउनलोड फाइल हटाइदिन्छ । त्यसैले यसलाई चाँडोभन्दा चाँडो डाउनलोड गरिहाल्नुहोस् ।

अब सदाका लागि डिलिट गर्न यसो गर्नुहोस् 

  • १. एन्ड्रोइड तथा आईओएस जुनसुकै डिभाइस भए पनि टिकटक अकाउन्ट डिलिट गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् । तल दायाँ कुनामा रहेको प्रोफाइल ट्याबमा ट्याप गर्नुहोस् ।
  • २. त्यसपछि माथी दायाँ कुनामा रहेको तेर्छो र ठाडो एलिप्सिसमा ट्याप गर्नुहोस् ।
  • ३. म्यानेज माई अकाउन्टमा ट्याप गर्नुहोस् ।
  • ४. बटममा रहेको डिलिट अकाउन्ट ट्याप गर्नुहोस् ।
  • ५. तपाईंले आफ्नो अकाउन्ट कसरी सेटअप गर्नु भएको छ, त्यसैअनुसार डिलिट गर्न तपाईले अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ ।
  • ६. अब अकाउन्ट डिलिट गर्ने बारे एउटा कन्फर्मेसन पेज देखा पर्छ । त्यहाँ दिइएका आफ्टर इफेक्ट्सहरु पढ्न नबिर्सनुहोस् । त्यो टेक्स्ट पढिसकेपछि डिलिट अकाउन्ट बटन ट्याप गर्नुहोस् ।
  • ७. अब टिकटक अकाउन्ट सदाका लागि डिलिट गर्न त्यहाँ रहेको डिलिट अकाउन्टमा ट्याप गर्नुहोस् ।

यसरी अकाउन्ट सदाका लागि डिलिट गरे पनि ३० दिनसम्म त्यसलाई साइन ईन गर्ने सुविधा प्रयोगकर्तालाई हुन्छ । तर ३० दिनसम्म पनि अकाउन्ट पुनः एक्टिभेट भएन भने त्यो अकाउन्ट स्वतः सदाका लागि डिलिट हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१