काठमाडौं । टेक्नोलोजी सेल्स प्रालिले नेपालमै तयार पारेको थर्मोग्राफिक क्यामेरा सिंहदरबारमा जोडिएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौैपानेको पहलमा यो क्यामेरा सिंहदरबाार प्रवेश गर्ने मूल गेटमा जडान गरिएको हो ।
यसबाट एकसाथ समूहमा ज्वरो नाप्न मिल्छ । आफूहरुले परीक्षण पश्चात नमूना स्वरुप निःशूल्क रुपमा उक्त थर्मोग्राफिक क्यामेजा जडान गरेको कम्पनीका सहसंस्थापक लक्ष्मण रिमालले जानकारी दिए ।
तस्वीरः लक्ष्मण रिमाल
जडान पश्चात गेटमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यकर्मीहरुले आफूलाई सुरक्षित महशुस गरेका छन् । उक्त गेट भएर दैनिक ४ देखि ५ हजार जना सिंहदरबार प्रवेश गर्ने गरेका छन् ।
यस अघि आगन्तुक प्रत्येक व्यक्ति नजिकै गएर थर्मल गन प्रयोग गरेर कोरोनाको ज्वरो नाप्नुपर्दा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई निकै जोखिम रहेको थियो ।
यो उपकरण क्वारेन्टाइन स्थल, सरकारी कार्यालय, अस्पताल, सपिङ मल, प्रहरी कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरु, हाउजिङ तथा अपार्टमेन्ट लगायतका स्थानमा प्रयोग गर्न सकिने गरी तयार पारिएको छ ।
पछिल्लो समयमा थर्मोग्राफिक क्यामेराको विषयमा देशका विभिन्न ठाउँबाट सम्पर्क गर्नेक्रम बढिरहेको लक्ष्मणले सुनाए । उनले भने, ‘तिलगंगा आखा अस्पतालबाट डा सन्दुक रुइत सरले बोलाउनु भएको छ । अख्तियारमा र संसद सचिवालयमा राख्ने विषयमा समेत कुरा अगाडि बढेको छ ।’
विभिन्न अस्पतालहरुले समेत यो उपकरण राख्न चाँसो व्यक्त गरिरहेका छन् । महिनौं लामो लकडाउनका कारण पछिल्लो समय यसको उलंघन गर्ने क्रम समेत बढेको छ । यस्तो अवस्थामा कोरोना संक्रमितबाट जोगिन यस किसिमका उपकरण विभिन्न स्थानमा राख्नुपर्ने आवश्यकता झन् बढेको छ ।
अब निःशूल्क रुपमा उपलब्ध गराउन सक्ने आवस्थामा भने आफूहरु नरहेको लक्ष्मणको भनाई छ । क्यामेरा, कम्प्युटर सहितको यो उपकरणको मूल्य भ्याट समेत गरेर चार लाख ७९ हजार रुपैयाँ राखिएको छ ।
नेपालको प्रविधि क्षेत्रमा सुपरिचित जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालको १२ जनाको टिमले दुई महिनाको समय लगाएर यो माइक्रोबोलोमिटर अर्थात थर्मोग्राफिक क्यामेरा तयार पारेको हो । जसमा १९२ बाई २५६ (४९,१५२) सेन्सर प्रयोग गरिएका छन् ।
‘हामीले यो उपकरण खास गरेर भिडभाड हुने स्थानमा तथा मानिसहरुको आवतजावत बढी हुने स्थानमा व्यक्तिहरुको शरीरको तापक्रम नाप्न मिल्ने गरी तयार पारेका हौं,’ टेकपानासँगको कुराकानीमा कम्पनीका अर्का सहसंस्थापक राम रिमालले भने ।
५ मिटर टाढैबाट व्यक्तिको तापक्रम नाप्न सक्ने यो उपकरणमा तापक्रमको तस्वीर लिने र तापक्रमको मात्रा अनुसार कलर टेम्प्रेचर देखाउने गरी दुई वटा क्यामेरा प्रयोग भएका छन् ।
यदि तोकिएको (मानौं ९९ डिग्री) भन्दा बढी तापक्रम रहेको व्यक्ति फेला परेको खण्डमा क्यामेराले त्यस्तो व्यक्ति पहिचान गरेर अलार्म दिन्छ । जसले गर्दा विशेष सावधानीसाथ थप परीक्षणको लागि रोक्न सकिन्छ । यसरी संभावित संक्रमणको जोखिम कम गर्न सकिने राम रिमालले बताए ।