close

अब ईसेवाबाटै छिमेक लघुवित्तको किस्ता तिर्न सकिने

टेकपाना टेकपाना

जेठ २८, २०७७ १७:४४

अब ईसेवाबाटै छिमेक लघुवित्तको किस्ता तिर्न सकिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अब ई–सेवाबाटै आफ्नो किस्ता तथा बचत भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीलाई समेट्ने गरी यो सेवा सुरू गरेको हो ।

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका चोलराज शर्मा जोशीले अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

ई–सेवा अकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित रुपमा किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् । यसैगरी ई–सेवा अकाउन्ट नभएका सदस्यले नजिकैको ई–सेवा जोन, पोइन्ट तथा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्ने बताइएको छ ।

यससँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्रामीण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको बताए ।

उनले भने, ‘यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो । हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ ।’

यस्तै छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जोशीले अहिलेको डिजिटलाईजेसनको जमानामा नगदरहीत कारोबारका लागि ई–सेवासँगको सहकार्यले निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

‘सदस्यहरूले घरबाटै कारोबार गर्न सक्ने भएपछि उनीहरूको समय र यातायात खर्च पनि बचत हुनेछ,’ उनले भने, ‘भिडभाडमा जानु नपर्ने भएपछि कोरोनाभाइरस जस्ता संक्रात्मक रोगबाट हुने जोखिमलाई समेत यसले न्यूनिकरण गर्न सघाउ पुर्याउनेछ ।’

यस किसिमको डिजिटल भुक्तानीबाट संस्थाको लागत घटाउने भएकाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटल भुक्तानीतर्फ आकर्षित हुन थालेका छन् । ई–सेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनीको हो ।

यसमार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज तथा बसको टिकट, स्कूल÷कलेजको शूल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।

ई—सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । सदस्य बैंक तथा वित्तीय संस्थाबाट सहजै ईसेवामा रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

देशभर १ सय ३७ वटा शाखा तथा डीजिटल कार्यालय रहेको छिमेक लघुवित्तले तीन लाख ७३ हजार भन्दा धेरै सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले करीब २० अर्ब १२ करोड रूपैयाँ कर्जा लगानी गरेको छ भने बचत रकम १८ अर्ब भन्दा धेरै रहेको छ । संस्थाले नगदरहीत अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै विभिन्न डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०