close

सामसङलाई पछि पार्दै ह्वावे बन्यो ‘विश्व नम्बर वान’

टेकपाना टेकपाना

असार ५, २०७७ ११:३२

सामसङलाई पछि पार्दै ह्वावे बन्यो ‘विश्व नम्बर वान’

एजेन्सी । चिनियाँ कम्पनी ह्वावेले विश्वको सर्वश्रेष्ठ मोबाइल निर्माणकर्ता कम्पनी सामसङलाई उछिनेको छ । यसै वर्षको अप्रिलमा ह्वावेले सामसङलाई पछि पार्दै स्मार्टफोन जगतको बादशाह बनेको हो । 

काउन्टरप्वाइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्ट अनुसार गत अप्रिलमा विश्व बजारमा कम्पनीको हिस्सा १९ प्रतिशत थियो । जब कि सामसङको हिस्सा १७ प्रतिशतमा देखियो । 

गूगल सेवाबाट बञ्चित हुँदाहुँदै ह्वावेलाई यति ठूलो उपलब्धी हासिल गर्न कसरी सम्भव भयो ? काउन्टर प्वाइन्ट रिसर्चका उपाध्यक्ष नेल शाहले अमेरिकी व्यापार प्रतिबन्धपछि ह्वावेले स्वदेशी बजारमा नै व्यापार विस्तार गरेर उक्त उपलब्धी हात पारेको हो ।  

शाहका अनुसार ह्वावेको बिक्री बढेसँगै अहिले माग र आपूर्तिको बजार सामान्य अवस्थामा फर्किसकेको छ । रोचक कुरा गत अप्रिलमा भारत, अमेरिका, ल्याटिन अमेरिका र युरोप लगायतका सामसङका प्रमुख बजारमा कम्पनीको फोनले बजार लिन सकेन ।

ती क्षेत्रहरु कोरोनाभाइरसका कारण लकडाउनको सामना गरिरहेका कारण सामसङको ग्यालेक्सी एस ट्वान्टी सिरिजको बिक्री अस्वभाविक रुपमा न्यून रह्यो ।

ह्वावको बिक्रीमा एकाएक देखिएको उचाई स्वागतयोग्य कुरा हो । तर यो लामो समयसम्म नरहने बताइएको छ । कम्पनीको फोनमा गूगल मोबाइल सर्भिस नहुनु र अमेरिकी व्यापार प्रतिबन्ध थोपरिनुले २०२० मा उसको बिक्री दर २० प्रतिशतले ओरालो लाग्ने प्रक्षेपण गरिएको छ ।

गूगलका सेवा तथा एपहरुमा मात्र प्रतिबन्ध लगाएर अमेरिका सन्तुष्ट भएको भएको देखिँदैन । उसले ह्वावेको सबैभन्दा ठूलो चिप आपूर्तिकर्ता टीएसएमसीसँगको पहुँचलाई पनि रोकिदिएको छ । यसले कम्पनीलाई ठूलो धक्का दिएको छ ।

यसैबीच युरोपमा वर्षेनी ह्वावेको बिक्री दर ४० प्रतिशतले घट्दै गइरहेको छ र साओमीले उसको बजार लिइरहेको छ । 

यद्यपी अन्य बजार गुमाउँदै गइरहेको ह्वावेले चीनभित्र आन्तरिक बजारमा वर्चश्व कायम गर्न सक्ने सम्भावना रहेको आईडीसी बताउँछ ।

ह्वावेले आफ्नो मेट थर्टी र पी थर्टी सिरिजमा दिएको छूट र अनर भी थर्टी र नाइन एक्स सिरिजमा गरेको भारी मूल्य कटौतीका कारण २०२० को पहिलो चौमासिकमा कम्पनीले चिनियाँ बजारमा राज गर्न सफल भयो ।

यसरी नै आफ्नो आगामी मोडल मेट फोर्टी सिरिजका लागि समेत ह्वावेले यहि रणनीति अपनाउन सक्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१