काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले क्याम्बियम हिरो अवार्ड हात पारेको छ । कर्णालीको दुर्गम भेगमा वायरलेस प्रविधिमार्फत ब्रोडब्याण्ड सेवा पुर्याए वापत कम्पनीले यो अवार्ड प्राप्त गरेको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको परियोजनामार्फत वर्ल्डलिङ्कले त्यस क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । खास गरी डोल्पाको धो तराब, हुम्लाको लिमी जस्ता हाई अल्टिच्युड भएका ४६०० मिटरभन्दा उच्च स्थानमा वायरलेस प्रविधिमार्फत इन्टरनेट सेवा विस्तार गरेका कारण कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।
तस्वीरः राजेन्द्र विष्ट
क्याम्बियम नेटवर्कले प्रदान गर्ने यो अवार्ड वायरलेस प्रविधिमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरमा सहजता ल्याएर डिजिटल डिभाइड अर्थात डिजिटल विभेद कम गरे वापत प्रदान गरिँदै आएको छ । वर्ल्डलिङ्कसँगै अमेरिकाको एम्प्लेक्स इन्टरनेट, स्पेनको आईबरसिस्टम तथा पीबी सेगुरिड्याड र कोलम्बियाको स्काइनेटले समेत यो अवार्ड हात पारेका छन् ।
तस्वीरः राजेन्द्र विष्ट
वर्ल्डलिंक कम्युनिकेसन कर्णाली परियोजना प्रोजेक्ट म्यानेजर राजेन्द्र विष्टले हाल कम्पनीले कर्णाली क्षेत्रमा १० हजारभन्दा धेरै ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
तस्वीरः राजेन्द्र विष्ट
सुर्खेत, सल्यान र जुम्लामा भने कम्पनीले आफ्नै निजी प्रयासबाट एफटीटीएच प्रविधि नै पुर्याएको छ । तर त्यसमाथिका क्षेत्रमा भने ५.२ र ५.७ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गरी वायरलेस प्रविधिमार्फत इन्टरनेट उपलब्ध गराउँदै आएको विष्टको भनाई छ ।
‘निकै दुर्गम क्षेत्र भएको र यातायातको सुविधा समेत नभएकाले सेनाको हेलिकोप्टरबाट गएर आवश्यक संरचना सेटअप गरी सेवा दिँदै आएका छौं,’ उनले भने, ‘तर यो क्षेत्रमा विद्युत सेवा नपुगेकाले सोलार सिस्टमबाटै इन्टरनेट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
तस्वीरः राजेन्द्र विष्ट
यस्तोमा वर्षात् याममा मुस्किलसँग घाम लाग्छ । हिउँदमा हिँउँले छपक्कै छोपिदिन्छ । जसले गर्दा सोलार सिस्टमले काम गर्न नसकेको अवस्थामा सेवालाई निरन्तरता दिन निकै चुनतीपूर्ण अवस्था छ । कुनै अरु खालको समस्या देखिए कुनै ठाउँमा पुगेर मर्मत सम्भार गर्न पाँच सात दिन नै लाग्ने गरेको परियोजना प्रमुख विष्ट सुनाउँछन् ।
तस्वीरः राजेन्द्र विष्ट
‘हामी आर्मीकै हेलिकोप्टरबाट गएर भए पनि हिउँ हटाएर सेवा सुचारु राख्ने कोसिस गर्दै आएका छौं,’ विष्टले भने, ‘यो क्षेत्रमा हाम्रा लागि सबैभन्दा चुनौतीको विषय नै यातायात हुने गरेको छ ।’
कर्णाली जस्तो दुर्गम स्थानमा समेत कम्पनीले दुई एमबीपीएस गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दिँदै आएको छ । परियोजनाका लागि मात्रै वर्ल्डलिंकको ४५ जनाको टिम डेडिकेटेड रुपमा सक्रिय रहेको विष्टले सुनाए ।