काठमाडौं । एप्पलले खाना बनाउने एप ‘प्रिपेयर’ विरुद्ध निवेदन दर्ता गरेको छ । प्रिपेयर कम्पनीको लोगोमा नास्पातीको कार्टुन प्रयोग गरिएको छ ।
उक्त लोगो एप्पलको लोगोसँग धेरै हदसम्म मिल्ने दाबी गर्दै एप्पलले उक्त लोगो प्रयोग गर्न नदिन ट्रेडमार्क दर्ता गर्ने निकायमा निवेदन दिएको हो ।
उक्त लोगो प्रयोग गर्दा प्रिपेयर र एप्पलका उत्पादनमा प्रयोगकर्ता झुक्किन सक्ने एप्पलको भनाइ छ । यो कार्य लानहम ऐन विरुद्ध रहेको भन्दै एप्पलले निवेदन दिएको हो ।
यो विवादको सुरुवात प्रिपेयरको मुख्य कम्पनी सुपर हेल्थी किड ट्रेडमार्कमा लोगो दर्ता गर्न गएपछि उत्पन्न भएको हो । खानाका विभिन्न परिकार बनाउने उक्त कम्पनीले ट्रेडमार्कमा आफ्नो लोगो नास्पाती आकार भएको र त्यसमा दाँयातर्फ फर्किएको पात उल्लेख गरेको थियो ।
यो लोगोको विवरण धेरैजसो एप्पलको लोगोसँग मिल्ने भएपछी ट्रेडमार्क कम्पनीले एप्पललाई यसबारे जानकारी गराएको थियो ।
एप्पलले उक्त लोगो आफ्नो लोगोसँग मिल्दोजुल्दो देखिएको भन्दै यसलाई प्रयोग गर्न नपाउने दाबी सहित निवेदन दर्ता गराएको हो । एप्पलले फलको लोगो, त्यो पनि त्यसको पात दायाँतर्फ फर्किएको विषय आफ्नो प्याटेन्टमै दर्ता भएको उल्लेख गरेको छ ।