close

सैनामैनामा खल्ती एपको प्रयोग बढ्दै, घरबाटै कारोबार गर्न पाउँदा सेवाग्राही खुशी

टेकपाना टेकपाना

भदौ ९, २०७७ १३:१५

सैनामैनामा खल्ती एपको प्रयोग बढ्दै, घरबाटै कारोबार गर्न पाउँदा सेवाग्राही खुशी

बुटवल । लकडाउन र निषेधाज्ञाले गर्दा देशैभरी मानिसहरूको चहलपहल कम छ । यस्तो अवस्थामा सुरक्षित र सहज कारोबारका लागि डिजिटल भुक्तानी माध्यमको प्रयोग गर्ने जमात बढिरहेको छ ।

बजार बन्द हुँदा घरमै बसेर सामाग्री अर्डर गर्नेदेखि विभिन्न कार्यालयका महसुलकाे भुक्तानी गर्न डिजिटल वालेटहरूकाे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ ।

रूपन्देहीस्थित सैनामैना नगरपालिका रहेका प्राय: विद्यालय र सरकारी कार्यालयहरूले आफ्नो सेवाग्राहीको सुविधाका लागि खल्ती डिजिटल वालेटकाे व्यवस्था गर्न थालेका छन् ।

बिल भुक्तानी लिन मिल्ने गरी सैनामैना नगरभित्रका अधिकांश विद्यालय डिजिटल साक्षर बनेका छन् । यसअन्तर्गत सैनामैना मेमोरियल एकेडेमी, सिद्धार्थ मेमोरियल एकेडेमी, लिटिल बर्ड्स इङ्लिस स्कूल, सुनगाभा पब्लिक सेकेन्डरी स्कूल र प्रभात इङलिस बोर्डिङ स्कूलमा अनलाइन भुक्तानीका गर्न सकिने भएकाे छ ।

त्यस्तै बुद्ध दीप बोर्डिङ स्कूल, अक्स्फोर्ड मोर्डन इङलिस स्कूल, एपेक्स स्कूल, देवदह इङलिस स्कूल, न्यू लुम्बिनी बोर्डिङ स्कूललगायतका विद्यालयहरुमा पनि खल्ती वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

साथै बुटवलकाे अक्स्फोर्ड उच्च माविमा अनलाइन आवेदन दिई कक्षा ११ मा भर्ना हुन सकिने व्यवस्थासमेत सुरु भएको छ । यसले गर्दा विद्यार्थी र अभिभावकले घरमै बसेर पनि कलेज र स्कूलहरुकाे शुल्क तिर्ने सुविधा पाएका छन् ।

खल्ती वालेटले मुर्गिया खानेपानी संस्थाको बिल पनि अनलाइनबाट घरमै बसेर तिर्न मिल्ने सुविधा दिएकाे छ । साथै दुधराक्ष देवीस्थान खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे महसुल पनि अनलाइनबाटै तिर्न सकिन्छ ।

भदौ महिनाको दोस्राे सातादेखि सैनामैना खानेपानीको बिल पनि अनलाइनबाट भुक्तानी गर्न मिल्ने जानकारी खल्ती प्रतिनिधि इश्वरी ज्ञवालीले दिए ।

सैनामैना नगरपालिकामा खल्ती प्रयाेगकर्ता बढिरहेकाे जानकारी दिँदै ज्ञवालीले यसका लागि खल्तीकाे प्रयाेग कसरी गर्ने, अनलाइन भुक्तानी गर्दाका फाइदाका बारेमा सेवाग्राहीलाई नियमित जानकारीमूलक कार्यक्रम आयोजना गरिरहेको बताए ।

खल्ती वालेटको प्रयोग गरी यस नगरपालिकामा रहेका स्कूल, कलेज, बिजुली र खानेपानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, माेबाइल रिचार्जलगायतका काम गर्न सकिनन्छ ।

साथै फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल बुकिङ, ई–कमर्समार्फत सामान खरिद गर्दाको भुक्तानी, दैनिक पत्रपत्रिकाहरुको ग्राहक शुल्क तिर्नेजस्ता सेवाहरु पनि लिन सकिन्छ ।

सैनामैनास्थित इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कार्यालयका प्रबन्धक आकाश केसी भन्छन्, ‘खल्तीकाे आक्रामक बजार विस्तारले गर्दा पनि होला हाम्रा ६० प्रतिशत ग्राहकहरूकाे भुक्तानी अनलाइनबाटै भइरहेकाे छ ।’

हाल देशभर खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३