close

सामसङ ग्यालेक्सी जेड फोल्ड टूभन्दा निकै सस्तो र आकर्षक फोल्डेबल फोन

टेकपाना टेकपाना

असोज ६, २०७७ १९:३३

सामसङ ग्यालेक्सी जेड फोल्ड टूभन्दा निकै सस्तो र आकर्षक फोल्डेबल फोन

काठमाडौं । विश्वकै पहिलो फोल्डेबल फोन निर्माण गर्ने कम्पनी रोयोलले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन रोयल फ्लेक्सपाई टू सार्वजनिक गरेको छ । यो फोन सन् २०१८ मा सार्वजनिक भएको फ्लेक्सपाई को सक्सेसर स्मार्टफोन हो ।

सन् २०१२ मा स्थापना भएको रोयोलको यो दोस्रो फोल्डेबल स्मार्टफोन हो । जसलाई कम्पनीले मंगलबार चीनबाट सार्वजनिक गरेको हो ।

मूल्य र उपलब्धता

यो फोनको मूल्य ९९८८ युआन ((करिब एक लाख ७३ हजार रुपैयाँ)) रहेको छ । जुन सामसङ ग्यालेक्सी जेड फोल्ड टूको तुलनामा करिब ४० प्रतिशत सस्तो छ । हाललाई यो फोनका लागि चीनमा प्रि बुकिङ सुरु भएको छ ।

स्पेसिफिकेसन

यो फोनमा आफ्नो पूर्ववर्तीको तुलनामा निकै सधारिएको स्पेसिफिकेसन रहेको छ । यसमा थर्ड जेनेरेसन सिकाडा विङ फ्लेक्सिबल ओलेड डिस्प्ले प्रयोग गरिएको छ । जुन स्टेपलेस थ्री एसको साथमा आउनेछ ।

यो फोनको शून्य ग्यापमा (बीचमा कुनै पनि खाली ठाउँ बाँकी नरहने गरी) फोल्ड गर्न सकिन्छ । फोनलाई पूर्ण रुपमा फोल्ड गर्दा यसको मोटाई पूर्ववर्ती फोनको तुलनामा ४० प्रतिशतले पातलो छ ।

७.८ इञ्च अनफोल्ड डिस्प्लेका साथ आउने यो फोन अहिलेसम्मकै सबैभन्दा ठूलो फोल्डेबल स्मार्टफोन हो । जसको रेजोलुसन १९२० बाई १४४० पिक्सेल रहेको छ ।

फोल्ड गर्दा फोनको प्राइमरी डिस्प्ले ५.५ इञ्च तथा सेकेन्डरी डिस्प्ले ५.४ इञ्च रहेको छ । यो फोनमा स्नापड्रागन ८६५ चिपसेट प्रयोग गरिएको छ । जुन ८ तथा १२ जबी र्‍याम र २५६ तथा ५१२ जीबी इन्टरनल स्टोरेजको साथमा आउँछ ।

डुअल सिम कार्ड स्लट रहेको फोनमा फाइभजी कनेक्टिभिटी मोड समेत रहेको छ । यो फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा रन हुने गर्दछ ।

क्यामेरा तथा ब्याट्री

फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ भने यसको प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको छ । यस बाहेक १६ प्लस ८ प्लस ३२ मेगापिक्सेलका तीन अन्य सेन्सर समेत राखिएका छन् ।

यो फोन सनराइज गोल्ड, मिडनाइट ब्ल्याक र कस्मिक ग्रे गरी तीन वटा कलर भेरियन्टमा रहेको छ । यो फोनमा ४४५० एमएएचको ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०