काठमाडौं । अहिलेको समयमा गुगल म्याप एक अत्यन्त उपयोगी एप बनिसकेको छ । लोकेसनका लागि यसको प्रयोग गर्नेहरुको संख्या निकै बढ्दो छ ।
गुगल म्यापबाट तपाईं अरुसँग कुनै लोकेसन शेयर गर्न सक्नुहुन्छ । यदि कुनै नयाँ ठाउँसम्म पुग्नु छ भने गुगल म्यापको नेभिगेसन टुल नै तपाईंको गाइड बनिदिन सक्छ ।
तर कतिपय समयमा प्रयोगकर्तालाई लोकेसन शेयर गर्न तथा कुनै लोकेसन पत्ता लगाएर पुग्ने मामिलामा हैरानी पनि आउन सक्छ । यदि तपाईंको फोनमा इन्टरनेट चलिरहेको छैन भने गुगल म्याप प्रयोग गर्न मुस्किल हुन सक्छ ।
तपाईंलाई थाहा नहुन सक्छ, गुगल म्याप इन्टरनेट नहुँदा समेत प्रयोग गर्न सकिन्छ । यदि तपाईं यस्तो ठाउँमा जाँदै हुनुहुन्छ, जहाँ फोनको नेटवर्क नहुन सक्छ । इन्टरनेटले काम नगर्न सक्छ ।
यस्तो अवस्थामा तपाईंलाई सम्बन्धित स्थानसम्म पुग्न निकै मुस्किल पर्न सक्छ । त्यस्तो ठाउँमा जानु अघि आफ्नो स्मार्टफोनमा गुगल म्याप डाउनलोड गरिहाल्नुहोस् ।
जसबाट तपाईं अफलाइन जीपीएस सिस्टमको सहयोगमा इन्टरनेट तथा फोनको नेटवर्क नभएको ठाउँमा समेत सहजै पुग्न सक्नुहुनेछ । उदाहरणका लागि तपाईं काठमाडौंबाट अछामको मंगलसेन जाँदै हुनुहुन्छ ।
यदि तपाईंलाई बाटोमा इन्टरनेट हुन नसक्ने अन्दाज छ भने तपाईंले काठमाडौंदेखि मंगलसेनसम्मको गुगल म्याप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईं डेटा वा इन्टरनेट नहुँदा पनि आनन्दसँग गुगल म्यापको सहारा लिन सक्नुहुनेछ ।
आफू इन्टरनेट तथा डेटाको पहुँचमा भए पनि गुगलको अफलाइन म्याप डाउनलोड गरिरहँदा तपाईंलाई अप्ठ्यारोमा काम लाग्न सक्छ ।
किन भने आवश्यक पर्दा तपाईंको मोबाइलमा डेटा प्याक नहुन सक्छ । प्याक छ भने पनि तपाईंले अफलाइन म्याप प्रयोग गरेर आफ्नो डेटा खर्च हुनबाट जोगाउन सक्नुहुन्छ ।
कसरी प्रयोग गर्ने गुगलको अफलाइन नेभिगेसन ?
अफलाइन जीपीएस नेभिगेसन प्रयोग गर्नका लागि सुरुमा तपाईंले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट गुगल म्याप्स एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसो त कतिपय एन्ड्रोइड फोनमा प्रि इन्स्टल रुपमा समेत यो एप उपलब्ध हुने गरेको छ ।
एपमा गएर तपाईंले आफूलाई चाहिएको लोकेसनको म्याप डाउनलोड गर्न सक्नुहुन्छ । यति गरेपछि तपाईं त्यस क्षेत्रमा जाँदा इन्टरनेट तथा डेटाको पहुँच नभए पनि आनन्दसँग जीपीएस सिस्टम प्रयोग गर्न सक्नुहुनेछ ।
यसका लागि गुगल म्याप्सको एप खोल्नुहोस् र एपको माथी दयाँतर्फ रहेको प्रोफाइल फोटोमा दबाउनुहोस् । मेनुमा तपाईंले अफलाइन म्याप्स देख्न सक्नुहुन्छ, त्यसमा ट्याप गर्नुहोस् ।
अब सेलेक्ट योर ओन म्याप्समा दबाउनुहोस् ।
आफूले डाउनलोड गर्न चाहेको लोकेसनलाई औंलाले सार्दै फ्रेमभित्र पार्नुहोस् र डाउनलोड बटन थिच्नुहोस् ।
तपाईंलाई अलिक फराकिलो लोकेसनको अफलाइन म्याप आवश्यक छ भने यसैगरी तपाईंले छुट्टा छुट्टै रुपमा म्याप डाउनलोड गर्न पनि सक्नुहुनेछ ।
यसरी डाउनलोड गरिएको म्यापमा तपाईं अफलाइन हुँदा समेत जीपीएस नेभिगेसनले तपाईंलाई अनलाइनमा जस्तै सही तवरमा गन्तव्यमा पुग्न सघाउनेछ ।
तपाईंले निश्चित गन्तव्यमा जाँदा त्यसका लागि छुट्टै नेभिगेसन म्याप डाउनलोड गर्न समेत सक्नुहुन्छ । त्यसका लागि गुगल म्यापमा आफ्नो गन्तव्य सर्च गर्नुहोस् र तल बाँयातर्फ रहेको डिरेक्सन्स बटनमा दबाउनुहोस् ।
यति गरिसकेपछि तपाईंलाई माथि अफलाइन डिरेक्सन डाउनलोडको अप्सन देखा पर्नेछ । त्यसमा दबाउनुभयो भने म्याप अफलाइनका लागि डाउनलोड हुनेछ ।
यसरी एक पटक डाउनलोड गरिएको म्यापलाई तपाईं निश्चित समयपछि गुगल म्याप्सको एपबाटै अपडेट गर्न समेत सक्नुहुन्छ ।
यदि तपाईंको मोबाइलमा गुगल म्यापको एप छैन भने डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।