काठमाडौं । विश्वका दुई ठूला प्रविधि कम्पनी गुगल र फेसबुकको सेवा प्रयोग नगर्ने मानिसहरु इन्टरनेट विश्वमा कमै छन् । तर कुनै दिन यी दुवै प्लेटफर्म क्रमशः स्ट्यानफोर्ड विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरुको एउटा सानो प्रोजेक्ट थिए ।
तर विस्तारै कलेज एपको रुपमा विकास हुँदै यी एपहरु आज विश्वभर छाएका छन् । विगतका यी दृष्टान्तले पनि कलेज तथा विश्वविद्यालयहरु अन्वेषण र नवीन सोचको लागि उर्वर भूमि हुन् ।
हार्वर्ड र स्ट्यानफोर्डमा जस्तै नेपालकाे चितवन मेडिकल कलेजमा पनि अहिले यस्तै एउटा नवीन सोचका साथ विद्यार्थीहरुले काम गरिरहेका छन् । मेडिकल कलेजको एमबीबीएस चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरु अंकित श्रेष्ठ र सन्तोष रिजालले चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थी तथा यस क्षेत्रमा आबद्ध पेशाकर्मीहरुको साझा समस्यालाई चिर्न ‘मेडिकोस’ सुरु गरेका छन् ।
२२ वर्षीय अंकित र २३ वर्षीय सन्तोषले सुरु गरेको मेडिकोस स्टार्टअप अन्तर्गत अहिले चारवटा एपबाट चिकित्सा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सहायताहरु उपलब्ध गराउन थालिएको छ ।
चिकित्सा विज्ञानको अध्ययनमा लागेपछि यो क्षेत्रको समस्यालाई बुझेर त्यसैलाई समाधान गर्न आफूहरुले एप बनाएको मेडिकोसका यी युवा बताउँछन् । चितवनका यी दुवै युवाहरु विद्यालय जीवनदेखि नै प्रविधि र प्रोग्रामिङतिर चाख राख्थे ।
अध्ययनका क्रममा चिकित्सा विज्ञानतिर प्रवेश गरे । तर रुचिले डोर्याएर उनीहरुलाई एप विकासतिर धकेलिदियो । यसैबीच दुवैले मिलेर केही एप पनि बनाए ।
‘चिकित्सा विज्ञानको विद्यार्थी भए पनि हामीलाई विद्यालय तहदेखि प्रोग्रामिङतिर पनि उत्तिकै रुचि भएकोले धेरथोर प्राविधिक ज्ञान थियो,’ अंकित भन्छन्, ‘अरु एप बनि बनाएका थियौं । तर त्यति चलेनन् । मेडिकल क्षेत्रमा प्रवेश गरिसकेपछि यो क्षेत्रको बारेमा बुझ्दै गयौं । समस्याहरु थाहा पाउँदै गयौं र यसै क्षेत्रका लागि एपहरु बनाउन थाल्यौं ।’
अंकित र सन्तोषको मेडिकोस अन्तर्गत अहिले आठ वटा एपहरु छन् । जसमध्ये चारवटा एप आईओएस एप स्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध छन् ।
यसमा अंकित र सन्तोषले सबैभन्दा पहिले बनाएको एप हो, मेडिकोस पीडीएफ ।
एमबीबीएस पाठ्यक्रममा महंगा पुस्तक प्रशस्तै पढ्नुपर्छ । त्यस माथि सर्वसुलभ रुपमा नपाइने समस्या । कति पुस्तक त फेला पार्नै सकिन्न । इन्टरनेटमा खोज्दा भने जस्ता सामग्री पाइँदैनन् ।
पाइहाले पनि त्यसको खोजीमा धेरै समय लगाउनुपर्छ । यही समस्यालाई मध्यनजर गर्दै मोबाइलबाट पढ्ने पुस्ताका लागि मेडिकोसले पीडीएफ एप तयार गरेको हो ।
‘हामीले सुरुमा इन्टरनेटमा पाइने विभिन्न पस्तकहरुलाई क्याटलगको रुपमा एपमा राखेका थियौं । एपबाटै मेडिकल क्षेत्रका सबै किताबहरुको पीडीएफ पाउन सकिने बनाएका थियौं । त्यसबाट निकै राम्रो प्रतिक्रिया आयो,’ अंकित भन्छन् ।
सुरुवाती भर्सनमा पीडीएफ मात्र राखिएको थियो । पछि अपग्रेड गर्दै जाँदा शिक्षकहरुका लेक्चर नोट तथा स्लाइडहरु पनि राख्दै गए । यसैगरी मेडिकल आर्टिकल, जर्नल र रिसर्च पेपरहरु पनि एपमा थपिए ।
मेडिकल पीडीएफ एप नेपालमा मेडिकल पढ्ने विद्यार्थीदेखि डक्टरहरु सबैमाझ लोकप्रिय बनिसकेको छ । पीडीएफको उत्साहजनक प्रतिक्रियापछि उनीहरुले मेडिकोस ईसीजी एप बनाए ।
‘मेडिकोस ईसीजी चाहिँ मुटु सम्बन्धी अध्ययन सामग्रीको संगालो हो,’ सन्तोष भन्छन्, ‘त्यसको बारेमा हामीले पहिलो, दोस्रो वर्षदेखि नै विस्तृत रुपमा पढ्नुपर्छ । यो एकदमै गहिरो र व्यापक विषय हो । यसलाई बुझ्न एउटा किताब पर्याप्त हुँदैन ।’
विद्यार्थीहरुका लागि यसको सामान्य ज्ञानदेखि प्रयोग कसरी गर्न सकिन्छ भन्ने सम्मका कुराहरु ईसीजी एपमा राखिएका छन् । यसमा ईसीजीको आधारभूत देखि क्लिनिकल टेस्टहरु पनि समावेश गरिएका छन् ।
यो एप ईसीजी विषयका लागि गाइड जस्तै रहेको सन्तोषको भनाई छ । पहिलोदेखि दोस्रो वर्षमा आधारभूत विषय नै पढ्नुपर्ने हुन्छ । क्लिनिकल केसहरु हेर्न अन्तिम वर्षका विद्यार्थीहरुदेखि डक्टर सम्मलाई यो एप निकै उपयोगी छ ।
‘यसमा हामीले विद्यार्थीहरुले बनाएका राम्रो नोट, डायग्राम र यो विषयमा व्याख्या गरिएका युट्युबका राम्रा भिडियो पनि राखेका छौं । यो प्लस टूका विद्यार्थीहरुलाई पनि उपयोगी छ । ईसीजीसँग सम्बन्धित मल्टिपल च्वाइज कोइस्चन पनि यसमा समावेश गरेका छौं ।’
यस्तै एनाटोमी डायग्राममा केन्द्रीत रहेर मेडिकोसले तेस्रो मेडिकोस एप पनि तयार गर्यो । यो एपको नाम मेडिकोस हिस्टोलोजी हो ।
‘बेसिक साइन्समा पहिलो र दोस्रो वर्षमा मानव शरीरका अंगको राम्रो डायग्राम बनाएर एनाटोमी फाइल तयार गर्नुपर्ने हुन्छ । त्यो एकदमै झन्झटिलो हुन्छ । इन्टरनेटमा पनि पाइँदै । किताबमा पनि एकदमै झन्झटिलो छ ।
जस्तो पायो त्यस्तै बनायो भने चेक हुँदैन,’ सन्तोष भन्छन्, ‘यहि समस्यालाई समाधान गर्न हामीले यो एप बनाएका हौं ।’
हिस्टोलोजी एप तयार गर्न उनीहरुले सहपाठी तथा सिनियरहरुबाटै राम्रा राम्रा डायग्राम जुटाएका छन् । साथै इन्टरनेटबाट सर्च गरेर पाठ्यक्रमका सबै विषय समेट्ने गरी एमबीबीएस पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुका लागि सहज बनाइएको अंकित बताउँछन् ।
‘अहिले यो एपमा नोट पनि छन् । ईसीजी जस्तै आफ्नो सेल्फ इभ्यालुएसनका लागि प्रश्नहरु राखेका छौं । यी दुवै फिचर अहिले सुरुवाती चरणमा नै छन्,’ उनी भन्छन् ।
यसबाहेक मेडिकोसले मडिकोस मेडिसिन एप पनि तयार गरेको छ । ईसीजी र हिस्टोलोजी आधारभूत हुन् । मेडिसिन चाहिँ एड्भान्स एप भएको उनीहरु बताउँछन् ।
मेडिकोस मेडिसिनबाट डक्टरहरुले पनि पढेर रेफ्रेन्स लिन सक्छन् । पहिलो र दोस्रो वर्षमा शैद्धान्तिक कुराहरु मात्र पढाइन्छ । बिरामीसँग कुनै किसिमको वास्तविक अन्तरक्रिया हुँदैन । तर तेस्रो चौंथो र पाँचौं वर्षमा क्लिनिकल फिल्डमा पुगिसकेपछि मेडिकल विद्यार्थीहरुले बिरामीहरुसँग डिल गर्नुपर्ने हुन्छ ।
त्यस्तो बेला कसरी अन्तरक्रिया गर्ने, कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा अनेकौं दुविधा र अप्ठ्याराहरु आइपर्छन् । घरमा पुस्तक रटेर गए पनि फिल्डमा कुरा गर्ने सन्दर्भमा डक्टरहरु नै अक्मक्किन्छन् ।
यस किसिमको अप्ठ्यारोलाई फुकाउन आवश्यक कुराहरुको निश्चित एउटा फर्म्याट एपमै राखिएको छ । त्यही फर्म्याटलाई मेडिकोस मेडिसिन एपमा इन्टिग्रेट गरिएको छ ।
यसमा मेडिकल क्याल्कुलेटर पनि राखिएको छ । जसबाट ईएमआई, बीएमआईको हिसाबकिताब गर्न सकिन्छ । हालसम्म मेडिकोसको ईसीजी एप १५ हजारभन्दा धेरै पटक डाउनलोड भइसकेको छ ।
हिस्टोलोजीको डाउनलोड पनि १० हजार नाघेको छ । पीडीएफ भने झन् सबैभन्दा धेरै दुई लाख पटक डाउनलोड भएको छ ।
मेडिकोसका चारवटै एपमा गरी अहिले कुल प्रयोगकर्ता मध्ये ९३ प्रतिशत नेपाल बाहिरका छन् । सात प्रतिशत मात्रै नेपाली छन् ।
नेपालको सानो जनसंख्या । त्यसमाथि चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको संख्या झनै सानो छ । साधारण प्रयोगकर्ताले प्रयोग गर्ने किसिमका एप पनि भएनन् ।
त्यसो हुँदा स्वदेशी प्रयोगकर्ताको संख्या निकै थोरै हुन पुगेको उनीहरुको विश्लेषण छ । चिकित्सा विज्ञान अध्ययनरत विश्वका हरेक मानिसहरुका लागि उपयोगी हुनेगरी यी एपहरु बनाइएको छ ।
त्यसैले नै अन्तर्राष्ट्रिय स्तरका प्रयोगकर्ता धेरै छन् । मेडिकोसका एपहरुमा दैनिक सक्रिय प्रयोगकर्ता दश हजार रहेका छन् ।
‘हामीले चिकित्सा विज्ञानमा पठन सामग्रीको अभाव र ह्वाट्सएप जस्ता माध्यमबाट पीडीएफ शेयर गर्नुपर्ने, नेटमा घण्टौं खोजी गर्नुपर्ने जस्ता समस्या समाधान गरेर एउटा छाता मुनि सबै आवश्यकतालाई सम्बोधन गरेका छौं,’ अंकित भन्छन् ।
जटिल विषयका खँदिला सामग्री जुटाउँदै प्राविधिक पक्ष समेत सम्हाल्न सन्तोष र अंकितका लागि त्यति सजिलो थिएन । यसैले टिम विस्तार हुँदै चार जनाको बनेको छ ।
‘अहिले सन्तोष, म, अर्जुन भण्डारी र क्षितिज ढकाल छाैं । क्षितिजले पुरै प्रोग्रामिङको पाटो हेरिरहेका छन् । सन्तोष र म चहिँ कन्टेन्टमा काम गर्छौं,’ अंकितले सुनाए ।
संकलित सामग्रीको आधिकारिता र विश्वसनीयतालाई कलेजकै प्राध्यापकहरुले चेकजाँच गरिदिन्छन् । मेडिकल पढ्ने साथी, सिनियर तथा डक्टरहरुले पनि यसका लागि निकै सघाएका छन् ।
‘हामीले पढ्दै गएका कुराहरुलाई पनि एपमा समेटेका छौं । गुगलबाट पनि लिएका छौं । लकडाउन लगत्तै हामीले एकैपटक स्रोत सामग्री जुटाउने र यता एप बनाउने काम गर्यौं,’ अंकित भन्छन् ।
हालसम्म एप निर्माणमा मात्र तल्लिन यी तन्नेरीहरुले मेडिकोसको आम्दानीको मोडलतिर विकास गरिसकेका छैनन् । ‘अहिले सबै एपहरु विज्ञापन रहित नै छन् । अहिले ग्रोथ गरेर जानमा नै हामी केन्द्रीत छौं । हाम्रो छुट्टै अफिस पनि छैन । सबै काम घरबाटै गरिरहेका छौं,’ सन्तोषले भने ।
तर अंकित र सन्तोषको यो काममा चितवन मेडिकल कलेजको पूर्ण सहयोग रहेको छ । जसले उनीहरुमा निकै उत्साह भरिरहेको छ ।
‘अहिलेसम्म आर्थिक रुपमा सहयोग नभए पनि कलेज प्रशासनले हौसला दिँदै परेको समयमा हामी छौं भनेर ढाडस दिइरहेको छ । लकडाउनका कारण हामीले यसका लागि फुर्सदिलो समय पाएका छौं । चार/पाँच महिना फ्री हुँदा अहिले धेरै काम गर्न सकेका छौं,’ अंकित भन्छन् ।
अब कलेज सुरु भएपछि यसलाई धान्न फेरी गाह्रो पर्नसक्ने चिन्ता मेडिकोसको टिममा छाउन थालेको छ । ‘यसकारण हामीले कलेजसँग मिलेरै काम गर्ने सोँच बनाएका छौं । यसरी पढाइ, प्रविधि र काम सबैतिर केन्द्रीत रहेर काम गर्न सबै हिसाबले अप्ठ्यारो हुँदो रहेछ,’ अंकितको अनुभव छ ।
मेडिकल अवधारणालाई नै डिजिटाइज गर्ने उद्देश्य बोकेका यी युवाहरुले विद्यार्थीको समस्यालाई समाधान गर्ने हेतुले मात्र अहिलेका लागि एपहरु बनाएका छन् । अब विस्तारै डक्टर र सबै सामान्य मानिसहरुलाई समेत सहयोगी हुने एपहरु बनाउने योजनामा उनीहरु छन् ।
यसरी मेडिकोसको टिमले मेडिकल क्षेत्रलाई प्रविधिसँग जोड्दै लैजाने भिजन बनाएको छ । जसबाट मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोगसँगै यो क्षेत्रलाई नै सुधार गर्न सकिने विश्वास उनीहरुमा भरिएको छ ।