close

डेभलपरका लागि ग्लोबल स्किलअप फेस्टिबल हुँदै, यसरी हुनुहोस् निःशुल्क सहभागी

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ १५:१२

डेभलपरका लागि ग्लोबल स्किलअप फेस्टिबल हुँदै, यसरी हुनुहोस् निःशुल्क सहभागी

काठमाडौं । डेभलपरका लागि ग्लोबल स्किलअप फेस्टिभल आयोजना हुने भएको छ । डेभअप्स इन्स्टिच्युटले विश्वभरका डेभलपरहरुलाई लक्षित गर्दै आउँदो डिसेम्बर ७ देखि ११ सम्म फेस्टिबल आयोजना गर्ने भएको हो । 

फेस्टिबलमा सफ्टवेयर तथा स्टार्टअपको क्षेत्रमा लागेका सफ्टवेयर इन्जिनियर, कम्प्युटर इन्जिनियर तथा डेभलपरले सहभागिता जनाउन सक्नेछन् । यो कार्यक्रममा विश्वभरबाट दश हजार डेभलपरलाई कार्यक्रममा सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ ।    

कार्यक्रममा सफ्टवेयर डेभअप्स (सफ्टवेयरको डिजाइन, टेस्ट र लाइभसम्मको लाइफ साइकल) तथा त्यसक्रममा आउन सक्ने चुनौतीको विषयमा विश्वप्रशिद्ध कम्पनीका विज्ञहरुले मेन्टरशिप समेत प्रदान गर्नेछन् । यो कार्यक्रममा उबर, वालमार्ट, न्युजिल्याण्ड बेंक आदिबाट वक्ताहरु सहभागी हुने बताइएको छ । 

डेभअप अन्तर्राष्ट्रिय रुपमा भने स्थापित भइसकेको विषय हो । नेपालका लागि डेभअप्सका एम्बेस्डर समिन तिमिल्सिनाले फेस्टिबलले डेभअपको प्रक्रियामा उत्पन्न हुनसक्ने दुविधालाई हटाउन र कामलाई व्यवस्थित पार्न सहयोग पुर्‍याउने बताए ।

उनले भने, ‘स्टार्टअप ग्रो हुँदै जाँदा विस्तारै त्यसलाई व्यवस्थित पार्ने सन्दर्भमा कतिपय कठिनाइ उत्पन्न भइरहेका हुन्छन् । डेभअपको अवधारणा आत्मसाथ गर्दा त्यस्ता स्टार्टअप तथा कम्पनीलाई दीर्घकालीन रुपमा स्थापित हुन सहयोग पुर्‍याउँछ ।’ 

डेभलपर तथा इन्जिनियरहरुले यहाँ क्लिक गरी आफूलाई रजिस्टर गराएर कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमपश्चात परीक्षामा सहभागी भएको खण्डमा सर्टिफिकेट समेत प्राप्त गर्न सकिनेछ ।

सर्टिफिकेटका लागि भने निश्चित शुल्क राखिएको छ । यद्यपि यो ऐच्छिक विषय भएको तिमिल्सिनाले बताए । 

डेभअप्स इन्स्टिच्युट विश्वभरका डेभलपरहरुको खुल्ला तथा साझा संगठन हो । जसको पोर्टलमा हरेक दिन डेभअप्स सम्बन्धी लेख तथा रचनाहरु समेत प्रकाशन हुने गरेका छन् ।  

एम्बेस्डर तिमिल्सिनाले अर्को वर्षदेखि नेपालमा समेत डेभअप सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बताए ।  हाल डेभअपमा विश्वभरका १६० भन्दा बढी देशमा एम्बेस्डर रहेका छन् भने सदस्य संख्या ६० हजारभन्दा बढी अभ्यासकर्ता रहेका छन् ।

सन् २०१५ देखि सुरु भएको डेभअप्सका हाल विश्वभर १५० भन्दा बढी एजुकेसन पार्टनर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०