close

आफ्नो म्याक कम्प्युटरमा यसरी अपडेट गर्नुहोस् म्याकओएस बिग सर

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १०:३९

आफ्नो म्याक कम्प्युटरमा यसरी अपडेट गर्नुहोस् म्याकओएस बिग सर

काठमाडौं । एप्पलले हालै म्याक‌ओएस बिग सरको फाइनल अपडेट जारी गरेको छ । गएको केही महिनादेखि यो बेटा भर्सनमा रहेको थियो ।

तर अब तपाईं आफ्नो म्याकमा फाइनल भर्सनको रुपमा यसलाई डाउनलोड गर्न सक्नुहुनेछ । म्याकओएस बिग सर सार्वजनिक भएसँगै म्याकओएस एक्सको अन्त्य भएको छ ।

अर्थात यो म्याकओएसको ११ औं भर्सन हो । नयाँ अपडेटसँगै तपाईंको म्याकमा कयौं नयाँ फिचर तथा भिजुअल लेभलमा बदलाव पाउनुहुनेछ ।

मेनु बारलाई नयाँ लुक दिइएको छ भने विजेट्स समेत नयाँ छन् । यसमा फुल हाइट साइडबार, रिडिजाइन डक, नयाँ कन्ट्रोल सेन्टर तथा नयाँ अपडेट आइकन राखिएका छन् ।

म्याकओएस बिग सर अपडेट हुने वित्तिकै सफारी वेब ब्राउजरमा समेत कयौं नयाँ फिचर जोडिने छन् । यसमा विशेषगरी प्राइभेसी अर्थात गोपनीयतालाई ध्यान दिइएको छ ।

त्यसका लागि ब्राउजरमा प्राइभेसी रिपोर्टको फिचर जोडिएको छ । यसमा कुन वेबसाइटले तपाईंको कस्तो प्रकारको डेटामा एक्सेस बनाइरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।

यसरी अपडेट गर्नुहोस् म्याकओएस बिग सर

  • आफ्नो म्याक कम्प्युटर तथा ल्यापटपमा म्याकओएस बिग सर अपडेट गर्नका लागि सुरुमा सिस्टम प्रिफरेन्समा गएर सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ तपाईंले नयाँ अपडेट देख्न सक्नुहुनेछ । त्यसलाई डाउनलोड गर्नुहोस् ।
  • यसका लागि अर्को तरिका पनि छ । त्यो भनेको एप स्टोरको माध्यमबाट समेत यो काम गर्न सक्नुहुन्छ ।
  • त्यसका लागि एप स्टोरमा गएर म्याकओएस बिग सर टाइप गर्नुहोस् र त्यसलाई डाउनलोड गर्नुहोस् ।
  • अपडेट १२ जीबी साइजको छ । त्यसैले यसलाई अपडेट गर्न केही घण्टा लाग्न सक्छ ।
  • यदि तपाईं आफ्नो म्याकमा म्याकओएस बिग सरको बेटा भर्सन प्रयोग गरिरहनु भएको छ भने पब्लिक अपडेटका लागि तपाईंले सुरुमा इनरोल गर्नुपर्ने हुन्छ ।
  • यसका लागि सिस्टम प्रिफरेन्सेसमा जानुहोस् र सफ्टवेयर अपडेट आइकन सेलेक्ट गर्नुहोस् ।
  • अब त्यहाँ डिटेल्स बटनमा दबाउनुहोस् । त्यहाँ तपाईंले यो म्याक एप्पल बेटा सफ्टवेयर प्रोग्रामका लागि इनरोल गरिएको छ भन्ने कुरा लेखेको देख्नुहुनेछ ।
  • अब रिस्टोर डिफल्टमा क्लिक गर्नुहोस् । यसरी तपाईं म्याकओएस बिग सरको कमर्सियल भर्सन डाउनलोड गर्न सक्नुहुनेछ ।

कुन कुन कम्प्युटर तथा ल्यापटपका लागि उपलब्ध छ म्याकओएस बिग सर ? 

  • म्याकबुकः २०१५ तथा त्यसपछिका मोडेल
  • म्याकबुक एयरः २०१३ तथा त्यसपछिका मोडल
  • म्याकबुक प्रोः २०१३ को अन्त्यतिर तथा त्यस पछिका मोडल
  • म्याक मिनीः २०१४ तथा त्यसपछिका मोडल
  • आईम्याकः २०१४ तथा त्यसपछिका मोडल
  • आईम्याक प्रोः २०१७ तथा त्यसपछिका मोडल
  • म्याक प्रोः २०१३ तथा त्यसपछिका मोडल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०