close

नेपालमा १० हजारभन्दा कम मूल्यका चार नयाँ स्मार्टफोन ल्याउँदै लाभा

टेकपाना टेकपाना

मंसिर २१, २०७७ २१:१६

नेपालमा १० हजारभन्दा कम मूल्यका चार नयाँ स्मार्टफोन ल्याउँदै लाभा

काठमाडौं । नेपालमा सबैभन्दा धेरै संख्यामा बिक्री हुने ‘लाभा’ ब्रान्डका नयाँ चार वटा स्मार्टफोन आउने भएका छन् । लाभा इन्टरनेसनलले बजारमा १० हजार भन्दा कम मूल्यका चार नयाँ मोडल सार्वजनिक गर्न लागेको हो ।

विगत दश वर्षदेखि नेपाली बजारमा लाभाका फोनहरू बिक्री भइरहेका छन् । विशेषगरी ‘बार/किप्याड’ फोनमा लोकप्रिय रहेको लाभाले स्मार्टफोन समेत सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

किप्याड फोन चलाइरहेका उपभोक्तालाई मूल्य र फिचरमा सहज हुने किसिमका टच स्मार्टफोन ल्याउन लागिएको लाभा इन्टरनेसनलका मार्केटिङ म्यानेजर शंकर मैनालीले जानकारी दिए ।उनका अनुसार नयाँ आउने सबै स्मार्टफोन दश हजार रुपैयाँभन्दा कम मूल्यका हुनेछन् ।

सस्तो मूल्यमा धेरै सुविधा पाइने यी स्मार्टफोनबाट आधुनिक प्रविधिको प्रयोग सजिलै गर्न सकिने उनको भनाई छ । ‘नयाँ टचस्क्रिन प्रविधि, इन्टरनेटमा आधारित म्यासेजिङ तथा कल सुविधा, मेमोरी कार्ड नराखी फिल्म स्टोर गरी हेर्न सकिने लगायत सबै आधारभूत सुविधा यी फोनमा हुनेछन्,’ उनले भने ।

पछिल्लो समय अध्ययन प्रयोजनमा स्मार्टफोन खोजिरहेका स्कुले विद्यार्थीका लागि लाभाका स्मार्टफोन उपयुक्त विकल्प हुने मैनालीको भनाई छ। नयाँ स्मार्टफोनको रुपमा लाभा–बेंको वाई सिरिजअन्तर्गत बेंको वाई–४०, बेंको वाई–३०, बेंको वाई–५० र बेंको –५० प्रो नेपाल आउने छन् ।

बेंको वाई–४०  

यो फोनमा ५.० इन्चको डिस्प्ले रहनेछ । २५०० एमएएच क्षमताको ब्याट्री रहने बेंको वाई-४० मा मुख्य क्यामेरा ५ मेगापिक्सल र सेल्फी क्यामेरा २ मेगापिक्सलको हुनेछ ।

यसमा एक जिबी र्‍याम तथा ३२ जीबी रोम रहेको छ । फेस अनलक र फ्रिंगरप्रिन्ट स्क्यानर दिइएको यो फोन हरियो र निलो रङ्गमा उपलब्ध हुनेछ । यसको मूल्य सात हजार ४ सय ९९ रूपैयाँ हुनेछ ।

बेंको वाई–३०

यो फो‍नमा ५.७१ इन्चको एचडी वाटरड्रप डिस्प्ले रहेको छ । २५०० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा मेन क्यामरा र सेल्फी क्यामेरा समान ५ मेगापिक्सलको रहेको छ ।

१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसरका साथ बजारमा आउने यो फोनमा एक जीबी र्‍याम तथा ३२ जीबी रोम रहेको छ । यो फोन हरियो र निलो रङ्गमा उपलब्ध हुनेछ भने यसको मूल्य आठ हजार ५ सय रूपैयाँ पर्नेछ ।

बेंको वाई– ५० 

५.७१ इन्च एचडी वाटरड्रप डिस्प्ले रहेको यो फोनमा पनि २५०० एमएएच क्षमताकै ब्याट्री राखिएको छ । मेन क्यामेरा र सेल्फी क्यामेरा समान ५ मेगापिक्सलकै दिइएको छ ।

१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोन १ जिबी र्‍याम तथा ३२ जीबी रोमका साथ बजारमा उपलब्ध हुनेछ । यसमा फेस अनलक र फ्रिंगरप्रिन्ट स्क्यानर समेत राखिएको छ । हरियो र निलो रङ्गमा उपलब्ध हुने यो फोनको मूल्य आठ हजार ८ सय रूपैयाँ रहेको छ । 

बेंको वाई– ५० प्रो  

यो फोनमा समेत ५.७१ इन्च एचडी वाटरड्रप डिस्प्ले रहेको छ भने ३१०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । यसमा मुख्य क्यामरा आठ मेगापिक्सेल र सेल्फी क्यामेरा ५ मेगापिक्सेलको रहेको छ ।

१.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर युक्त यो फोनमा २ जिबी र्‍याम र १६ जिबी रोम रहेको छ । फेस अनलक र फ्रिंगरप्रिन्ट स्क्यानर फिचर रहेको बेंको वाई-५० प्रो हरियो र निलो रंगमा उपलब्ध हुनेछ । यसको मूल्य १० हजार रूपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०