close

ल्यापटप किन्दै हुनुहुन्छ ? उपयुक्त छनौटका लागि जानिराख्नुहोस् यी महत्वपूर्ण कुरा

टेकपाना टेकपाना

मंसिर २२, २०७७ २०:४३

ल्यापटप किन्दै हुनुहुन्छ ? उपयुक्त छनौटका लागि जानिराख्नुहोस् यी महत्वपूर्ण कुरा

काठमाडौं । चाहे तपाईं विण्डोज, म्याक वा अरु कुनै ल्यापटप ब्राण्डको फ्यान हुनुहोस् । तर ल्यापटपमा लगानी गर्नु अघि ब्राण्डलाई कम प्राथमिकतामा राखेर तपाईंले अन्य धेरै कुरामा ध्यान दिनु बुद्धिमानी हुन्छ ।

सफ्टवेयरमा केन्द्रीत रहनेहरुले ल्यापटपको अपरेटिङ सिस्टमलाई धेरै ध्यान दिन्छन् । तर के यो मात्र पर्याप्त छ त ? यसको स्क्रिन तपाईंले चाहे जस्तो छ त ?

यसका पोर्टहरु कस्ता छन् ? यसमा १०८० पिक्सेलमा गेम खेल्न सकिन्छ ? ल्यापटप किन्नु पूर्व तपाईैले यस्ता धेरै कुरामा ध्यान राख्नु पर्ने हुन्छ ।

आज हामी तपाईंलाई ल्यापटप किन्दा कुन कुरामा ध्यान दिने र कुन कुरालाई वास्ता गर्नुपर्ने हुन्छ भन्ने कुरा विस्तृतमा बताउँदै छौं । एप्पलले म्याकबुकमा कन्फिग्रेसन नम्बर सीमित बनाएको छ ।

तर विण्डोज टेन र क्रोम ओएसमा धेरै अप्सनहरु उपलब्ध छन् । यी तमाम विकल्पहरुबीच तपाईंको लागि ल्यापटप कुन ठीक होला ?

म्याक, विण्डोज वा अन्य कुनै ?

ल्यापटप खरिद गर्नु अघि अपरेटिङ सिस्टम (ओएस) लाई तपाईंले सधैं ध्यान दिनुपर्ने हुन्छ । पहिले एप्पलको म्याक ओएस वा माइक्रोसफ्टको विण्डोजमा कुन राम्रो भन्ने कुरामा विवाद हुने गर्दथ्यो ।

तर अब गुगलको क्रोम ओएस अहिले निकै लोकप्रिय विकल्प बनेको छ । सबै किसिमका सुलभ मूल्यमा उपलब्ध हुने ल्यापटपमा यो ओएस पाउन सकिन्छ । 

अपरेटिङ सिस्टम बाहेक अन्य धेरै फिचरहरु पनि छन्, जसलाई तपाईंले ल्यापटप खरिद गर्नु अघि ध्यान दिन जरुरी हुन्छ । 

विण्डोज

 बजारमा विण्डोज ओएसका धेरै कम्प्युटरहरु उपलब्ध छन् । यी ल्यापटपहरुको मोडल अनुसार पर्फमेन्स र मूल्य पनि फरक फरक छ ।

विण्डोजकै राम्रा मोडलहरुले त पर्फमेन्सको मामिलामा म्याकका डिभाइसलाई पनि पछि पारिदिन सक्छन् । विण्डोजका अधिकांश ल्यापटपहरु गेमिङ र बिजनेस युजका लागि बनाइएका हुन्छन् ।

आकारको कुरा गर्दा विण्डोजका डिभाइस विभिन्न आकारमा बजारमा पाउन सकिन्छ । क्लामसेल डिजाइन र किबोर्ड माउस इन्टरफेस भएका स्ट्याण्डर्ड ल्यापटपहरु बजारमा सजिलै पाउन उपलब्ध छन् ।

यस्तै कम मूल्यमा समेत टचस्क्रिन भएका विण्डोज ल्यापटप पाउन सकिन्छ । तर एप्पल म्याकबुकमा भने सस्तो मूल्यमा यस्तो फिचर सम्भव छैन । 

अझ प्रिमियम डिजाइनमा हेर्ने हो भने फोल्ड ब्याक स्क्रिन वा डिटेचेबल ट्याब्लेट किबोर्ड कम्बो पनि बजारमा उपलब्ध छ । जस्तै माइक्रोसफ्टको सर्फेस बुक रेन्ज । 

सफ्टवेयरको कुरा गर्दा विण्डोज म्याकओएसको तुलनामा एकदमै लचिलो हुन्छ । यो गेम डेभलपमेन्ट तथा बिजनेस सम्बन्धि प्रोग्रामका लागि एकदमै उपयुक्त हुन्छ ।

एप्पलको म्याकओएसको तुलनामा यसमा अपडेट र नयाँ फिचर पनि नियमित रुपमा आइरहन्छन् । एप्पलमा वार्षिक अपडेट पाइन्छ भने विण्डोजमा अर्ध वार्षिक अपडेट पाउन सकिन्छ ।

एप्पलमा हार्डवेयरका लागि एकदमै सीमित लाइनअप हुन्छ । तर विण्डोजमा भने छनौटका विकल्प प्रशस्तै हुन्छन् । जस्तै तपाईंले लेनोभो, डेल वा माइक्रोसफ्टको आफ्नै डिभाइस अथवा अन्य थुप्रै अप्सन पाउन सक्नुहुन्छ । 

म्याक ओएस 

एप्पलको ब्राण्ड पर्सेप्सन अर्थात अनुभूति एकदमै राम्रो छ । ब्राण्ड संरक्षणका लागि उसले छोटो अन्तरालमा विभिन्न नयाँ मोडलहरु निकाल्ने गर्छ ।

विण्डोज वा क्रोम ओएसमा जस्तो निर्माणकर्ताले बेग्लाबेग्लै मापदण्ड यसले पालना गर्दैन । एप्पलका प्रडक्ट निर्माणमा आफ्नै पृथक मापदण्डहरु छन् ।

यसैको परिणामस्वरुप म्याक एकदमै प्रयोगकर्तामैत्री र स्टेबल (स्थिर) छ । एउटै इकोसिस्टमबाट आउने भएको कारण, एप्पलको रिसोर्सफुल (श्रोतसाधनले भरिपूर्ण) सपोर्ट सधैं एकअर्को डिभाइसमा रहिरहन्छ ।

म्याकको एउटा अर्को लोकप्रिय पक्ष भनेको यसको गुणस्तरिय डिजाइन पनि हो । यी डिभाइस हेर्दा वा प्रयोग गर्दा एकदमै भव्य अनुभूति हुन्छ ।

त्यसो त यसको मूल्य विण्डोज र क्रोम जस्ता समकक्षी ब्राण्डभन्दा धेरै नै उच्च छ । विशेषगरी स्टोरेजको मामिलामा ।

तर यदि तपाईं सस्तो ल्यापटप खोज्दै हुनुहुन्छ भने म्याकओएसको ल्यापटप तपाईंका लागि उपयुक्त विकल्प होइन । म्याकले फास्ट हार्डवेयर प्रयोग गर्छ ।

तर यसमा विण्डोज कम्प्युटरमा जस्तो शक्तिशाली ग्राफिक्स चिप भने पाउन सकिँदैन । राम्रो कम्प्युटर चाहिएको छ, तर हार्डवेयरका बारेमा धेरै कुरा थाहा छैन भने दैनिक प्रयोगका लागि म्याकले राम्रै हुनसक्छ ।

म्याक प्रयोग गर्न सजिलो र बुझ्न योग्य हुन्छ । विण्डोजको तुलनामा यसका सबै एप तथा सफ्टवेयरहरु आफ्नो निर्दिष्ट कार्य सम्पन्न गर्न सजिलो र सही तरिकाले राखिएका हुन्छन् ।

तर म्याकको डिजाइनको कडा‍ईका कारण यसमा कस्टमाइज गर्ने स्वतन्त्रता भने हुँदैन । यसमा हार्डवेयर जुन इन्स्टल छ, त्यही प्रयोग गर्नु पर्छ ।

मेमोरी वा स्टोरेज बढाउने वा घटाउने सुविधा पनि हुँदैन । एप्पलमा टचस्क्रिन सुविधा नभए पनि तपाईंले एप्पलको साइडकार मोड प्रयोग गरेर टच सपोर्टका लागि आईप्याडलाई दोस्रो वायरलेस स्क्रिनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । 

क्रोम ओएस 

गुगलको क्रोम ओएस विण्डोज र म्याक ओएसभन्दा केही फरक छ । क्रोम ब्राउजरमा आधारित यो ओएस आफ्नो प्रारम्भिक चरणमा वेबमा आधारित एप र एफोर्डेबिलिटी (क्रयशक्तिमा आधारित) मा केन्द्रीत थियो ।

क्रोम ओएसले विगत धेरै वर्षदेखि पुराना डेस्कटप सफ्टवेयर र मोबाइल एपहरुलाई सपोर्ट दिइरहेको छ । क्रोम ओएसमा बनेका ल्यापटपमा क्रोम बुक निकै नै लोकप्रिय छ ।

यो विण्डोजमा आधारित पीसी र म्याकबुकभन्दा धेरै सस्तो छ । किनभने यसमा हार्डवेयर थोरै हुन्छन् ।

विद्यालय र संस्थागत प्रयोगका लागि यो ल्यापटप निकै राम्रो छ । साथै सोसल मिडिया र अनलाइन पर्चेजका लागि मात्र ल्यापटप आवश्यक हो भने क्रोमबुक तपाईंका लागि उपयुक्त डिभाइस हो । 

तर आजभोलि क्रोमओएसमा पनि विभिन्न मोडलका अप्सन थप भएका छन् । गुगलको पिक्सेल बुक हेर्दा प्रिमियम विण्डोज र म्याकओएस ल्यापटप जस्तै छ ।

साथै पिक्सेल स्लेट वा एचपी क्रोमबुक एक्स टु जस्ता टु ईन वान अप्सन पनि प्रशस्तै छन् । आजको समयमा आइपुग्दा क्रोम ओएस पहिलेभन्दा धेरै भर्सटाइल (विविध स्वरुपको) भइसकेको छ ।

त्यसो त यसको जग आज पनि वेब केन्द्रीत नै हो । यद्यपी यसले गुगल प्ले र एन्ड्रोइड एपलाई समेत सपोर्ट गर्दछ ।

यो आज एन्ड्रोइड फोनसँग समानान्तर चल्न सक्छ । साथै एप्पलको आईम्यासेजलाई समेत यसले मिमिक्री गरेको छ ।

यसबाहेक क्रोम ओएसले लिनक्सलाई पनि सपोर्ट गर्दछ । यसमा जीआईएमपी तथा स्टिम जस्ता परम्परागत डेस्कटप सफ्टवेयर समेत प्रयोग गर्न सकिन्छ ।

तर यसको एउटा बेफाइदा भनेको यसको लाइब्रेरी विण्डोज म्याकओएसको जस्तो विविधतापूर्ण छैन । लिनक्सको सपोर्ट पनि बेटामै सीमित छ ।

यद्यपी विण्डोजको बर्चस्व रहेको बजारमा क्रोम ओएस आज पनि एउटा बलियो खेलाडीको रुपमा गनिन्छ । यदि तपाईंले खोजेको ल्यापटपको आवश्यकता क्रोमबुकले पुरा गर्नसक्छ भने यसबाट तपाईंको धेरै पैसा बचत हुने कुरामा निर्धक्क भए हुन्छ । 

ल्यापटपको किसिम 

निर्माणकर्ताले विभिन्न किसिमका ग्राहक, प्रयोजन र रुचीलाई ध्यानमा राखेर अनेक किसिमका ल्यापटपहरु बनाएका छन् । त्यसैले बजारमा ल्यापटप खरिद गर्दैगर्दा आफ्नो रुची र आवश्यकतालाई ध्यानमा राखेर डिभाइस चयन गर्नुहोस् । 

इन्ट्री लेभल (७५,००० वा त्यसभन्दा कम) 

ल्यापटपहरु निकै महङ्गा पनि हुन्छन् । तर सबैले दुई लाख ५० हजार मूल्यका ल्यापटप खरिद गर्न सक्दैनन् भन्ने कुरा निर्माणकर्ता कम्पनीलाई पनि राम्रोसँग थाहा छ ।

आधारभूत प्रयोजनका लागि ल्यापटप प्रयोग गर्ने र पैसा बचाउन चाहानेहरुले ७५,००० वा त्यसभन्दा कम मूल्यमा पनि ल्यापटप खरिद गर्न सक्छन् । सामान्यरुपमा बुझ्दा बजेट सेग्मेन्टका ल्यापटपहरु ती मानिसहरुका लागि सही हुन्छन्, जसलाई कम्प्युटरको बारेमा धेरै जानकारी छैन, तर सामान्य प्रयोजनका लागि प्रयोग गर्न चाहन्छन् ।

बजेट ल्यापटपहरु न्युन शुल्कमा पाउन सकिन्छ र तिनीहरु धेरै टिकाउ पनि हुन्छन् । यस्ता ल्यापटपको किबोर्ड र टचप्याड पनि एकदमै राम्रो हुन्छ ।

हार्डवेयरमा यी ल्यापटपहरु एकदमै हलुका हुन्छन् । यसको मतलब यसमा र्‍याम वा हाई पर्फमेन्स ग्राफिक्सको भार हुँदैन ।

एएए गेमका लागि यी त्यति उचित हुँदैनन् र यसमा धेरै ब्राउजर ट्याब खुल्ला राख्नु हुँदैन । उच्च मूल्यका मोडलको तुलनामा यी ल्यापटपहरुको पर्फमेन्स केही फितलो भने जरुर हुन्छ ।

यो सेग्मेन्टमा पाउन सकिने डिभाइसहरुमा क्रोमबुक एक्सेल पनि एउटा हो । जसमा विण्डोज र म्याक ओएसमा जस्तो केही फेन्सी फिचरहरुको अभाव अवश्य छ ।

तर दुवै ओएसका फिचर पनि यहाँ अप्सनको रुपमा पाउन सकिन्छ । उदाहरणका लागि एसर क्रोमबुक १५ स्पिन र लेनोभो आइडिया प्याड ३३० एस दुवै डिभाइस फेन्टास्टिक छन् ।

यदि ल्यापटप हलुको होस् भन्ने चाहनुहुन्छ भने माइक्रोसफ्ट सर्फेस गो टु ईन वानको डिजाइन एकदमै राम्रो छ र मूल्य पनि सुलभ छ । 

मेनस्ट्रिम (७५,००० देखि एक लाख ३० हजारसम्म)

तपाईंसँग राम्रो बजेट छ भने ७५,००० देखि एक लाख ३० हजार रुपैयाँ मूल्य बीचको ल्यापटप राम्रा विकल्प हुन् । यी ल्यापटपहरु एकदमै राम्रा हुन्छन् ।

इन्ट्री लेभलको तुलनामा यसको इन्टर्नल हार्डवेयर एकदमै राम्रो हुन्छ यसमा फिचर पनि प्रिमियम, हाई पावर ग्राफिक्स चिप र फेन्सी मेटेरियल्सहरु पाउन सकिन्छ । यसको डिस्प्ले, शक्तिशाली प्रोसेसर, हलुका तौल, अभूतपूर्व ब्याट्री क्षमता सबै कुरा एकदमै आकर्षक हुन्छ । 

यदि तपाईं राम्रो गेमङ ल्यापटप चाहनुहुन्छ भने डेल गेमिङ जी थ्री एउटा राम्रो अप्सन हो । यस्तै जेनबुक १३ यू एक्स ३३३ पनि एक लाख ३० हजार रुपैयाँ मुनीको उत्कृष्ट ल्यापटप हो । 

प्रिमियम (एक लाख ३० हजार रुपैयाँ माथि)

एक लाख ३० हजार रुपैयाँभन्दा माथिका ल्यापटप भनेका सर्वोत्कृष्ट ल्यापटपहरु हुन् । तपाईंले थोरै पैसा थप गरेर एक लाख ३० हजार रुपैयाँ माथिका ल्यापटपमा लगानी गर्नुभयो भने शक्तिशाली इन्टरनल हार्डवेयर, ठूला र हाई रेजोलुसन डिस्प्ले पाउन सक्नुहुन्छ ।

यसको निर्माण गुणस्तरता पनि धेरै उच्च हुन्छ । यदि तपाईं शक्तिशाली ल्यापटप प्रयोग गर्ने मध्ये हुनुहुन्छ भने यो सेग्मेन्टको ल्यापटप विचार गर्नुहोस् ।

महङ्गो मूल्यका यी प्रिमियम ल्यापटपभित्र तपाईंले धेरै अप्सनहरु पाउन सक्नुहुन्छ । सामान्य कम्प्युटिङ शक्ति र कनेक्टिभिटी अप्सन भएका १३ इन्चका ल्यापटपदेखि गेमिङ र कन्टेन्ट कृयसनका लागि उचित हुने १५ इन्चका ल्यापटप, जसमा सिक्स कोर प्रोसेसर र डेडिकेटेड ग्राफिक्स कार्ड हुन्छ । 

यो क्याटेगरीमा डेल एक्सपीएस १३ जस्ता केही राम्रा ल्यापटपहरु पनि छन् । कन्टेन्ट कृयसनका लागि शक्तिशाली ल्यापटप आवश्यक हो भने डेल एक्सपीएस १५ पनि बिचारयोग्य छ ।

गेमर्सका लागि राजर ब्लेड, जसको नयाँ २०२० को भर्सन पनि आइसकेको छ । त्यस्तै लेनोभो थिङ्कप्याड एक्स वान एक्सट्रिममा सुप्रिमेसी रग्ड च्यासिसमा वास्तविक शक्ति पाउन सकिन्छ ।

यदि एप्पलको फ्यान हुनुहुन्छ भने म्याकबुक एयर र म्याकबुक प्रो दुवै राम्रा विकल्प हुन् । 

टु इन वान 

टु ईन वान ल्यापटपमा ट्याब्लोइडको सजिलोपना र किबोर्डको युटिलिटी पाउन सकिन्छ । यसमा दुई विशेष डिजाइन हुन्छन् ।

एउटा कन्भर्टिबल र अर्को डिट्याचेबल । कन्भर्टेबलमा किबोर्डलाई ल्यापटपको मुनितिर राखेर चलाउन सकिन्छ भने डिट्याचेबललाई किबोर्ड हटाएर ट्याब्लेट जसरी प्रयोग गर्न सकिन्छ ।

तर यी ल्यापटपको आफ्नै बेफाइदा पनि छ । क्लामसेल ल्यापटपको तुलनामा यस्ता टु इन वान ल्यापटपहरु एकदमै महङ्गा हुन्छन् र दुई भागलाई जोड्ने धातुको कब्जाले अधिक भार दिन्छ ।

यो क्याटेगरीमा आउने राम्रा ल्यापटपहरुमा माइक्रोसफ्ट सर्फेस प्रो सिक्स र एचपी स्पेक्ट्री एक्स ३६० १३ हुन् । 

अल्ट्राबुक्स

अल्ट्राबुक्स ल्यापटपहरु बोक्नलाई सजिलो र ब्याट्री लाइफ पनि राम्रो हुन्छ । यसमा एसएसडी, पावर इफिसियन्ट इन्टेल कोर प्रोसेसर, राम्रो क्लामसेल बडी रहेको हुन्छ ।

यी ल्यापटप एकदमै लोकप्रिय किसिमका ल्यापटप हुन् । यस्तै फिचरका कारण धेरै मानिसहरुले कम्प्याक्ट, हलुका र बोक्न सजिलो हुने किसिमका ल्यापटपलाई नै अल्ट्राबुक नाम दिने गरेका छन् । 

बिजनेस ल्यापटप

बिजेनस प्रयोकगर्ताका लागि बनाइएको भए पनि बिजनेस ल्यापटपले एउटा औषत प्रयोगकर्ताका लागि पनि राम्रो फिचरहरु उपलब्ध गराउन सक्छ । यसको लुक्स धेरै राम्रो हुन नसके पनि ब्याट्री लाइफ भने एकदमै राम्रो र रग्ड अनि टफ सेल हुन्छ ।

तर यी ल्यापटपहरु मूल्यको मामिलामा एकदमै धेरै महङ्गा हुन्छन् । यी भिडियो एडिट तथा फोटोग्राफिक्सका लागि बनाइएका हुन्छन् ।

यस्ता ल्यापटपमा ठूलो डिस्प्ले र राम्रो कलर एक्युरेसी हुन्छ । यसमा बायोमेट्रिक भेलिडेसन र प्रोफेसनल सफ्टववेयर प्याकेज पनि हुन्छ । यस्तै कारणले गर्दा यी डिभाइस सुरक्षित र गोप्य पनि हुन्छन् । 

यो क्याटेगरीको एउटा राम्रो ल्यापटप भनेको लेनोभो थिङ्कप्याड हो । यस्तै एक्स वान कार्बन पनि यो रेञ्जको एउटा फेन्टास्टिक इन्ट्री लेभलको ल्यापटप हो । साथै यसमा फ्ल्यागशिप एक्स वान एक्स्ट्रिम पनि अर्को राम्रो ल्यापटप हो । 

गेमिङ ल्यापटप

आधुनिक गेम खेल्नका लागि ल्यापटपमा हाई इण्ड प्रोसेसर र ग्राफिक्स चिप अनि पर्याप्त र्‍यामको खाँचो पर्दछ । जुन सामान्य ल्यापटपमा सम्भव छैन । 

यस किसिमका ल्यापटपहरु ठूला र भारी किसिमका हुन्छन् । ता कि डेस्कटपका जस्ता हार्डवेयर र ठूला स्क्रिन अटाउन सकुन् ।

तर फोरके डिस्प्ले सिस्टम भएका डिभाइसमा भने ब्याट्री लाइफ कमजोर हुन्छ । तर अहिलेका राम्रा गेमिङ ल्यापटपले यस्ता समस्याहरु समाधान गरिदिएको छन् ।

एलियनवेयरको एरिया ५१ एम एउटा परम्परागत गेमिङ ल्यापटप हो, जसमा सुपर पावरफूल हार्डवेयर र भारी फ्रेम छ । तर आधुनिक गेमिङ ल्यापटप डिजाइनमा राजर ब्लेड एउटा राम्रो विकल्प हो । 

हार्डवेयरका बारेमा थाहा पाउनुहोस् यी कुरा 

ल्यापटपमा भएको हार्डवेयरले नै ल्यापटपको क्षमतालाई निर्धारण गर्दछ । राम्रा उपकरण महङ्गा हुन्छन् ।

यसैले आफ्नो आवश्यकता सुहाउँदो हार्डवेयर प्रयोग गर्नुहोस् । इन्टरनेट ब्राउज गर्न वा डकुमेन्टहरु लेख्न तपाईंलाई हाई इण्ड प्रोसेसरको आवश्यकता पर्दैन । ल्यापटप किन्दा तपाईंले तल उल्लेख भएका हार्डवेयरहरुमा ध्यान पुर्‍याउनु भयो भने तपाईंले खोजेको जस्तो ल्यापटप पाउन सक्नुहुनेछ । 

सीपीयू / प्रोसेसर 

डिभाइसमा जति राम्रो सीपीयू भयो, डेटा प्रोसेसिङ र स्पिड त्यति नै राम्रो हुन्छ । तर याद राख्नुहोस्, सीपीयू मात्र एउटा तत्व होइन, जसलाई हेरेर तपाईं ल्यापटप खरिद गर्नुहोस् ।

प्रोसेसर निर्माणकर्ता कम्पनी इन्टेलले हाल दशौं र ११ औं जेनेरेसनका मोडलमा कोर आईथ्री, आई फाइभ, आई सेभेन र आई नाइन उपलब्ध गराइरहेको छ । उदाहरणका लागि  आई फाइभ-९४०० एच नवौं पुस्ताको सीपीयू हो ।

सीपीयूको आाधारमा ल्यापटप छनौट गर्ने हो भने नयाँ सीपीयू सधैं राम्रो हुन्छ । पुरानो जेनेरेसनका सीपीयू भएका ल्यापटप सकेसम्म खरिद नगर्नुहोस् । 

ग्राफिक्स

ग्राफिक्स प्रोसेसिङ युनिट अर्थात् जीपीयूले तपाईंले स्क्रिनमा देख्ने सबै तस्वीरहरु तथा ग्राफिक्सहरु उत्पन्न गराउँछ । लो इण्ड ल्यापटपहरुमा प्रोसेसरसँगै ग्राफिक्सलाई एकै ठाउँमा राखिएको हुन्छ ।

उदाहरणका लागि सबै जसो इन्टेल ल्यापटप चिपमा इन्टिग्रेटेड ग्राफिक्स हुन्छन् । अन्य ल्यापटपमा भने ग्राफिक्स चिप अर्थात् मोड्युल मदरबोर्डमा राखिएको हुन्छ ।

यस्ता चिपलाई ‘डिस्क्रिट जीपीयू ’ भनिन्छ । यसलाई ल्यापटप चलाउने व्यक्तिले हटाउन मिल्दैन । एनभिदिया र एएमडीले यस प्रकारको चिप उत्पादन गर्दछन् । 

अडियो 

म्याकबुक प्रो जस्ता केही ल्यापटपहरुले राम्रो साउण्ड प्रदान गर्दछन् । तर कतिपय ल्यापटपभित्र स्पिकर फिट हुने पर्याप्त ठाउँ हुँदैन । यदि तपाईंलाई राम्रो अडियो चाहिएको छ भने अधिकांश ल्यापटपले हेडफोन कनेक्सन तथा एक्सटर्नल स्पिकर प्रदान गर्दछन् । 

मेमोरी

सिस्टम मेमोरी भनिने र्‍याम अस्थायी स्टोर र तत्काल प्रयोगको जानकारी पहुँचका लागि एउटा डेडिकेटेड हार्डवेयर हो । ल्यापटपमा चलिरहेका कामहरुको डेटा र्‍याममा स्टोर भएर बस्दछ ।

र्‍याम जति धेरै भयो, कम्प्युटरले त्यति नै धेरै जानकारी निकाल्न सक्छ । तर र्‍यामले सधैं डेटा स्टोर गर्न भने सक्दैन ।

एकपटक यसको पावर लस भइसकेपछि सबै डेटाहरु हराएर जान्छन् । औषत रुपमा आठ जीबी र्‍याम राम्रो हुन्छ । तर तपाईंले कुनै कन्टेन्ट कृयसन वा शक्तिशाली एप प्रयोग गर्दै हुनुहुन्छ भने १६ जीबीदेखि माथिको र्‍याम उपयुक्त हुन्छ । 

स्टोरेज

स्टोरेज पनि ल्यापटप किन्नु अघि ध्यान पुर्‍याउनु पर्ने कुरा हो । अहिलेका अधिकांश नयाँ ल्यापटपहरुमा एसएसडी हुन्छ । जुन परम्परागत ल्यापटपको हार्ड ड्राइभभन्दा महङ्गो र भरपर्दो हुन्छ । 

पोर्ट्स

ल्यापटपमा यति धेरै पोर्टहरु हुन्छन्, कि तिनलाई पहिचान गर्दा तपाईं दुविधामा पर्न सक्नुहुन्छ । त्यसैले ल्यापटपको पोर्ट हेर्दा त्यहाँ यूएसबी पोर्ट भएको सुनिश्चित गर्नुहोस् ।

अधिकांश ल्यापटपमा यूएसबी- ए पोर्टहरु हुन्छन् । यी इन्टरफेसले  यूएसबी २.० (४८० एमबीपीएस), यूएसबी ३.२ जेन १ (५ जीबीपीएस), वा यूएसबी ३.२ जेन टु (१० जीबीपीएस) लाई सपोर्ट गर्दछ । जुन ल्यापटप निर्माणकर्तामा निर्भर हुन्छ । 

अल्ट्राबुक्स तथा म्याकबुक्स जस्ता पातला ल्यापटपहरुले यूएसबी- ए पोर्टलाई सपोर्ट गर्दैनन् । किनभने यस्ता पोर्टको आकार ठूलो हुन्छ ।

यदि तपाईं ठूलो स्क्रिन वर्कका लागि दोस्रो एक्सटर्नल मनिटरलाई जोड्न चाहनुहुन्छ भने ल्यापटपमा त्यस मनिटरका लागि सही कनेक्सन पोर्ट भएको सुनिश्चित गर्नुहोस् । जस्तै यूएसबी-सी, डिस्प्ले पोर्ट वा एचडीएमआई आदि ।

तपाईंले पुरानो मोडलमा भीजीए फेला पार्न सक्नुहुन्छ । भिडियो आउटपूट भने डिस्प्ले लिङ्क ड्राइभर्स र अप्रोप्रियट एडप्टर प्रयोग गरी यूएसबी- एबाट सम्भव हुन्छ । 

टचस्क्रिन सपोर्ट

कुनै समय टचस्क्रिन हाई इण्ड ल्यापटपका लागि एक्सक्लुसिभ हुने गर्दथ्यो । किनभने हार्डवेयरहरु एकदमै महङ्गा र टचमा आधारित स्क्रिनहरु व्यवहारिक हुँदैन थिए ।

तर टचसेन्ट्रिक टु ईन वान पीसीमा जान थालेदेखि निर्माणको समग्र मूल्य घट्न थालेको छ । टच स्क्रिनहरु अहिले एकदमै सामान्य भएका छन् । बजेट डिजाइनमा पनि यी उपलब्ध हुन थालेका छन् । 

विण्डोज टेनमा पनि अब टचस्क्रिन र कम्बिनेसन डिजाइनहरु उपलब्ध हुन थालेका छन् । टचस्क्रिन टु ईन वान डिभाइसहरुमा एकदमै राम्रो हुन्छ ।

साथै लिन ब्याक हुनसक्ने स्ट्याण्ड मोडलमा पनि यो राम्रो मानिन्छ । तर यदि क्लामसेल डिजाइनमा यो उपयुक्त हुन्छ जस्तो लाग्दैन भने पैसा खर्च नगर्नुहोस् । 

ल्यापटप खरिद गर्ने उपयुक्त समय 

सस्तो मूल्यमा राम्रो ल्यापटप पाउन सकिने ठाउँ र उपयुक्त समयको खोजी सबैलाई हुन्छ तर यसको कुनै शूत्र भने छैन । तर केही विधिहरु छन्, जसबाट तपाईंले ल्यापटपका लागि राम्रो र सस्तो डिल गर्न सक्नुहुन्छ । 

ब्ल्याक फ्राइडे र साइबर मोन्डे 

नोभेम्बर महिनामा पर्ने यी दुई दिनमा तपाईंले ईकमर्सबाट ल्यापटप खरिद गर्दा राम्रो डिल पाउन सक्नुहुन्छ । 

ब्याक टु स्कूल अर्थात् अगस्ट सेप्टेम्बरको सिजन

बर्खे विदा सकेर स्कूल लाग्न थाल्दा ल्यापटपको मूल्य सस्तिन थाल्छ । यस बेला तपाईंले राम्रो छूट सहित ल्यापटप किन्न सक्नुहुन्छ । 

ल्यापटप रिलिज भएको केही महिनापछि

ल्यापटप सार्वजनिक भएको नजिकको समयमा कहिल्यै पनि सामान खरिद नगर्नुहोस् । यसबेलाको मूल्य उच्च हुन्छ । तपाईंले रोजेको र खोजेको ल्यापटप सार्वजनिक भएको केही समय कुर्नुहोस्, त्यतिञ्जेल मूल्य आफै घटेर सस्तिन थाल्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०