close

ल्यापटपमा कुन ओएस राम्रो ? म्याक, विण्डोज वा क्रोम

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १७:११

ल्यापटपमा कुन ओएस राम्रो ? म्याक, विण्डोज वा क्रोम

काठमाडौं । ल्यापटप खरिद गर्नु अघि अपरेटिङ सिस्टम (ओएस) लाई तपाईंले सधैं ध्यान दिनुपर्ने हुन्छ । पहिले एप्पलको म्याक ओएस वा माइक्रोसफ्टको विण्डोजमा कुन राम्रो भन्ने कुरामा विवाद हुने गर्दथ्यो ।

तर अब गुगलको क्रोम ओएस अहिले निकै लोकप्रिय विकल्प बनेको छ । सबै किसिमका सुलभ मूल्यमा उपलब्ध हुने ल्यापटपमा यो ओएस पाउन सकिन्छ । 

अपरेटिङ सिस्टम बाहेक अन्य धेरै फिचरहरु पनि छन्, जसलाई तपाईंले ल्यापटप खरिद गर्नु अघि ध्यान दिन जरुरी हुन्छ । 

विण्डोज

 बजारमा विण्डोज ओएसका धेरै कम्प्युटरहरु उपलब्ध छन् । यी ल्यापटपहरुको मोडल अनुसार पर्फमेन्स र मूल्य पनि फरक फरक छ ।

विण्डोजकै राम्रा मोडलहरुले त पर्फमेन्सको मामिलामा म्याकका डिभाइसलाई पनि पछि पारिदिन सक्छन् । विण्डोजका अधिकांश ल्यापटपहरु गेमिङ र बिजनेस युजका लागि बनाइएका हुन्छन् ।

आकारको कुरा गर्दा विण्डोजका डिभाइस विभिन्न आकारमा बजारमा पाउन सकिन्छ । क्लामसेल डिजाइन र किबोर्ड माउस इन्टरफेस भएका स्ट्याण्डर्ड ल्यापटपहरु बजारमा सजिलै पाउन उपलब्ध छन् ।

यस्तै कम मूल्यमा समेत टचस्क्रिन भएका विण्डोज ल्यापटप पाउन सकिन्छ । तर एप्पल म्याकबुकमा भने सस्तो मूल्यमा यस्तो फिचर सम्भव छैन । 

अझ प्रिमियम डिजाइनमा हेर्ने हो भने फोल्ड ब्याक स्क्रिन वा डिटेचेबल ट्याब्लेट किबोर्ड कम्बो पनि बजारमा उपलब्ध छ । जस्तै माइक्रोसफ्टको सर्फेस बुक रेन्ज । 

सफ्टवेयरको कुरा गर्दा विण्डोज म्याकओएसको तुलनामा एकदमै लचिलो हुन्छ । यो गेम डेभलपमेन्ट तथा बिजनेस सम्बन्धि प्रोग्रामका लागि एकदमै उपयुक्त हुन्छ ।

एप्पलको म्याकओएसको तुलनामा यसमा अपडेट र नयाँ फिचर पनि नियमित रुपमा आइरहन्छन् । एप्पलमा वार्षिक अपडेट पाइन्छ भने विण्डोजमा अर्ध वार्षिक अपडेट पाउन सकिन्छ ।

एप्पलमा हार्डवेयरका लागि एकदमै सीमित लाइनअप हुन्छ । तर विण्डोजमा भने छनौटका विकल्प प्रशस्तै हुन्छन् । जस्तै तपाईंले लेनोभो, डेल वा माइक्रोसफ्टको आफ्नै डिभाइस अथवा अन्य थुप्रै अप्सन पाउन सक्नुहुन्छ । 

म्याक ओएस 

एप्पलको ब्राण्ड पर्सेप्सन अर्थात अनुभूति एकदमै राम्रो छ । ब्राण्ड संरक्षणका लागि उसले छोटो अन्तरालमा विभिन्न नयाँ मोडलहरु निकाल्ने गर्छ ।

विण्डोज वा क्रोम ओएसमा जस्तो निर्माणकर्ताले बेग्लाबेग्लै मापदण्ड यसले पालना गर्दैन । एप्पलका प्रडक्ट निर्माणमा आफ्नै पृथक मापदण्डहरु छन् ।

यसैको परिणामस्वरुप म्याक एकदमै प्रयोगकर्तामैत्री र स्टेबल (स्थिर) छ । एउटै इकोसिस्टमबाट आउने भएको कारण, एप्पलको रिसोर्सफुल (श्रोतसाधनले भरिपूर्ण) सपोर्ट सधैं एकअर्को डिभाइसमा रहिरहन्छ ।

म्याकको एउटा अर्को लोकप्रिय पक्ष भनेको यसको गुणस्तरिय डिजाइन पनि हो । यी डिभाइस हेर्दा वा प्रयोग गर्दा एकदमै भव्य अनुभूति हुन्छ ।

त्यसो त यसको मूल्य विण्डोज र क्रोम जस्ता समकक्षी ब्राण्डभन्दा धेरै नै उच्च छ । विशेषगरी स्टोरेजको मामिलामा ।

तर यदि तपाईं सस्तो ल्यापटप खोज्दै हुनुहुन्छ भने म्याकओएसको ल्यापटप तपाईंका लागि उपयुक्त विकल्प होइन । म्याकले फास्ट हार्डवेयर प्रयोग गर्छ ।

तर यसमा विण्डोज कम्प्युटरमा जस्तो शक्तिशाली ग्राफिक्स चिप भने पाउन सकिँदैन । राम्रो कम्प्युटर चाहिएको छ, तर हार्डवेयरका बारेमा धेरै कुरा थाहा छैन भने दैनिक प्रयोगका लागि म्याकले राम्रै हुनसक्छ ।

म्याक प्रयोग गर्न सजिलो र बुझ्न योग्य हुन्छ । विण्डोजको तुलनामा यसका सबै एप तथा सफ्टवेयरहरु आफ्नो निर्दिष्ट कार्य सम्पन्न गर्न सजिलो र सही तरिकाले राखिएका हुन्छन् ।

तर म्याकको डिजाइनको कडा‍ईका कारण यसमा कस्टमाइज गर्ने स्वतन्त्रता भने हुँदैन । यसमा हार्डवेयर जुन इन्स्टल छ, त्यही प्रयोग गर्नु पर्छ ।

मेमोरी वा स्टोरेज बढाउने वा घटाउने सुविधा पनि हुँदैन । एप्पलमा टचस्क्रिन सुविधा नभए पनि तपाईंले एप्पलको साइडकार मोड प्रयोग गरेर टच सपोर्टका लागि आईप्याडलाई दोस्रो वायरलेस स्क्रिनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । 

क्रोम ओएस 

गुगलको क्रोम ओएस विण्डोज र म्याक ओएसभन्दा केही फरक छ । क्रोम ब्राउजरमा आधारित यो ओएस आफ्नो प्रारम्भिक चरणमा वेबमा आधारित एप र एफोर्डेबिलिटी (क्रयशक्तिमा आधारित) मा केन्द्रीत थियो ।

क्रोम ओएसले विगत धेरै वर्षदेखि पुराना डेस्कटप सफ्टवेयर र मोबाइल एपहरुलाई सपोर्ट दिइरहेको छ । क्रोम ओएसमा बनेका ल्यापटपमा क्रोम बुक निकै नै लोकप्रिय छ ।

यो विण्डोजमा आधारित पीसी र म्याकबुकभन्दा धेरै सस्तो छ । किनभने यसमा हार्डवेयर थोरै हुन्छन् ।

विद्यालय र संस्थागत प्रयोगका लागि यो ल्यापटप निकै राम्रो छ । साथै सोसल मिडिया र अनलाइन पर्चेजका लागि मात्र ल्यापटप आवश्यक हो भने क्रोमबुक तपाईंका लागि उपयुक्त डिभाइस हो । 

तर आजभोलि क्रोमओएसमा पनि विभिन्न मोडलका अप्सन थप भएका छन् । गुगलको पिक्सेल बुक हेर्दा प्रिमियम विण्डोज र म्याकओएस ल्यापटप जस्तै छ ।

साथै पिक्सेल स्लेट वा एचपी क्रोमबुक एक्स टु जस्ता टु ईन वान अप्सन पनि प्रशस्तै छन् । आजको समयमा आइपुग्दा क्रोम ओएस पहिलेभन्दा धेरै भर्सटाइल (विविध स्वरुपको) भइसकेको छ ।

त्यसो त यसको जग आज पनि वेब केन्द्रीत नै हो । यद्यपी यसले गुगल प्ले र एन्ड्रोइड एपलाई समेत सपोर्ट गर्दछ ।

यो आज एन्ड्रोइड फोनसँग समानान्तर चल्न सक्छ । साथै एप्पलको आईम्यासेजलाई समेत यसले मिमिक्री गरेको छ ।

यसबाहेक क्रोम ओएसले लिनक्सलाई पनि सपोर्ट गर्दछ । यसमा जीआईएमपी तथा स्टिम जस्ता परम्परागत डेस्कटप सफ्टवेयर समेत प्रयोग गर्न सकिन्छ ।

तर यसको एउटा बेफाइदा भनेको यसको लाइब्रेरी विण्डोज म्याकओएसको जस्तो विविधतापूर्ण छैन । लिनक्सको सपोर्ट पनि बेटामै सीमित छ ।

यद्यपी विण्डोजको बर्चस्व रहेको बजारमा क्रोम ओएस आज पनि एउटा बलियो खेलाडीको रुपमा गनिन्छ । यदि तपाईंले खोजेको ल्यापटपको आवश्यकता क्रोमबुकले पुरा गर्नसक्छ भने यसबाट तपाईंको धेरै पैसा बचत हुने कुरामा निर्धक्क भए हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०