काठमाडौं । लत्ताकपडा, खाद्यान्न, सौन्दर्य सामग्री र शरीरका लागि चाहिने आधारभूत वस्तु तथा सेवा प्रदान गर्ने ईकमर्सको अहिले नेपाली बजारमा कमी छैन । शरीर बाहेक मस्तिष्क, आत्मा र मुटु मानिसका अभिन्न अङ्ग हुन् ।
यिनका आफ्नै किसिमका आवश्यकताहरु हुन्छन् । माइण्ड, बडी, सौल एण्ड हार्ट अर्थात् मस्तिष्क, शरीर, आत्मा र मुटुलाई आवश्यक समग्र पुरकतत्व प्रदान गर्ने उद्देश्यले विगत दुई वर्षदेखि प्राइम कलेजका पूर्व भाइस प्रिन्सिपल सत्यबहादुर श्रेष्ठ ईकमर्सको क्षेत्रमा लागिपरेका छन् ।
मानिसको शरीरका यी चारै वटा अभिन्न अंगको आवश्यकतालाई सम्बोधन गर्न श्रेष्ठले दुई वर्ष अघि माइण्ड, बडी, सौल एण्ड हार्टको छोटो रुप एमबीएसएच नामको ईकमर्स कम्पनी स्थापना गरेका हुन् । सतहीरुपमा हेर्दा एउटा सामान्य ईकमर्स जस्तै लाग्ने एमबीएसएचको अन्तर्य भने यसैको नामभित्रको सिद्धान्तबाट निर्देशित छ ।
हाल एमबीएसएचको मार्केट प्लेस प्लेटफर्ममा पुस्तक, लत्ता कपडा, खाना र विद्युतीय तथा होम किचन सीमित क्याटेगरीका सामग्री उपलब्ध भइरहेका छन् । ‘एमबीएसएचको सिद्धान्तबाट हामीले व्यवसाय सुरु गरेका हौं,’ संस्थापक सत्यबहादुर श्रेष्ठ भन्छन्, ‘माइण्डका लागि पुस्तक र बडीका लागि बाँकी प्रडक्टहरु अहिले हाम्रो मार्केट प्लेसमा छन् ।’
दुई वर्ष अघि पृथक किसिमको सिद्धान्त बोकेर सुरु भएको एमबीएसएचको योजनालाई राम्रोसँग कार्यरुप दिन नपाउँदै कोभिड १९ ले नराम्रोसँग गाँज्यो । आत्मा र मुटुका लागि आवश्यक वस्तु तथा सेवा उनले हालसम्म आफ्नो साइटमा ल्याउन पाएका छैनन् ।
तर अब तीन महिना भित्रमा त्यो पनि पुरा गर्ने योजना कम्पनीको रहेको श्रेष्ठले सुनाए । ‘हाम्रो कन्सेप्ट माइण्ड, बडी, सोल एण्ड हार्टको अवधारणामा भइरहेको कामलाई पुरा गर्न ईबुकहरु ल्याउँदैछौं । साथै माइण्डकै लागि ट्रेनिङ तथा डेभलपमेन्टका कोर्षहरु ल्याउँछौं ।
सेमिनार ध्यानहरु पनि थप्दैछौं,’ श्रेष्ठ भन्छन्, ‘बडीको पार्टमा चाहिने सामग्रीहरु बिक्री गरिरहेका छौं । सोलका लागि मेडिटेसन र योगा सबै हुनेछन् । यसका लागि सामान तथा सेवा पनि हाम्रै प्लेटफर्मबाट दिँदै छौं । हार्टका लागि हृदय शूद्धिका लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याउँछौं ।’
कोभिड अघि फिजिकल कार्यक्रम ल्याउने योजना रहेपनि कोभिड पछाडि भने भर्चुअल रुपमा विभिन्न कार्यक्रम ल्याउने योजना बनेको उनले सुनाए । ‘सोलका लागि हाइकिङ हिलिङ गर्ने माइण्ड फ्रेस ट्रेनिङ दिँदै छौं ।’
एमबीएसएचले निकट भविष्यमा थप गर्ने यी सेवाहरु आफ्ना पुराना ग्राहकहरुलाई भ्यालु एडेड सर्भिसको रुपमा छूट सहित सुलभ मूल्यमा उपलब्ध गराउने योजना रहेको श्रेष्ठले बताए । अहिले पनि एमबीएसएचले पुस्तकमा ४० प्रतिशतसम्म छूट र कपडाका चुनिन्दा आइटमहरुमा ३० प्रतिशतसम्म छूट उपलब्ध गराइरहेको छ ।
श्रेष्ठले एमबीएसएचको व्यवसायिक अवधारणालाई अझ बलियो बनाउन एक वर्ष अघि मात्र दुई छुट्टै कम्पनी लजिस्टिक डेलिभरी च्यानल डिजी क्यारी र खाद्यका लागि नेवारी खाना कम्पनी सुरु गरिसकेका छन् ।
नेवारी खानाका लागि कम्पनीको आफ्नै क्लाउड किचेनका साथै उपत्यकाका धेरैवटा रेस्टुराँको सेवा पनि समावेश गरिएको श्रेष्ठले बताए । हाल होम डेलिभरी सेवामा काम गरिरहेको नेवारी खानाका लागि कोभिड पछिको उद्देश्य भनेको व्यक्ति व्यक्तिको सेवालाई विस्तार गरेर उपत्यकाका विभिन्न संस्थाहरुमा समेत आफ्नो सेवा पुर्याउनु हो ।
एमबीएसएच र नेवारी खानाका यी सम्पूर्ण सेवाहरु डेलिभरी गर्नका लागि कम्पनीको आफ्नै डेलिभरी च्यानल डिजी क्यारी पनि सेवारत छ । हाल तीसभन्दा धेरै थर्ड पार्टी कम्पनीलाई समेत डिजीले सेवा दिइरहेको छ ।
आफ्नो डेलिभरी मूल्य एकदमै प्रतिस्पर्धी भएको उनी बताउँछन् । कोभिडका कारण रोकिएको आफ्नो व्यवसायिक विस्तारको योजनालाई अब केही महिनामै पुरा गर्दै ग्राहकका लागि थप सेवा सुविधा थप गर्ने संस्थाको तत्कालिन योजना समेत रहेको छ ।