काठमाडौं । मेरो मेन्टरले भनेका थिए ‘विजनेस सुरु गर्नु सामान्य छ । सबै कुरा एउटा आइडियाले सुरु गर्न सकिन्छ । म १८ वर्षको कलिलो अनुभवबिहीन युवा थिएँ ।
त्यस्तो उमेरमा अनलाइन व्यवसाय सुरु गर्न पाउँदा म निकै खुशी भएको थिए । तर मेरो उद्यमशीलताको यात्रा गल्ती, सहसंस्थापकबीचको मतभेद, कम्पनी टुट्न लागेको अनुभव, अवरोधको स्थिति र अन्य धेरै सिकाईहरुले भरिएको छ ।
यद्यपि मैले आवश्यक परेको स्थितिमा सुधार गर्दै सिक्दै अघि बढिरहे । ई–कमर्श व्यवसाय सुरु गरेको ६ वर्ष पुग्दै गर्दा मैले ६ अङ्कको आफ्नो रेभिन्यू लक्ष्य पूरा गरें । थर्ड वर्ल्ड मुलुकमा स्टार्टअप स्थापना गर्दा मैले सिकेका केही भोगाई र सिकाईहरु म आज तपाईंहरुलाई सुनाउने छु ।
१. आफ्नो अवस्थालाई बहाना बनाउनु हुन्न
म नाइजेरियाको सबैभन्दा चर्चित बस्तीमा हुर्के बढे । म दश वर्षको हुँदासम्म कुनै पनि अनलाइनको कामलाई स्क्याम (ठगी) को रुपमा बुझ्ने गरिन्थ्यो । ब्लगर्सहरुलाई प्रहरीले पक्राउ गर्दथे । कसैले ल्यापटप मात्र बोक्थ्यो भने पनि त्यो शंकाको घेरामा पर्दथ्यो ।
सरकारले इन्टरनेट स्क्यामर्सविरुद्ध युद्ध नै सुरु गरेको थियो । यसैले कसैले ल्यापटप बोक्थ्यो भने त्यसको आधिकारिक स्वामित्वको प्रमाण पनि सँगै बोक्नु पथ्र्यो । अनलाइन ब्यवसाय वैधानिक हो भनेर बुझाउन हामीले बलियो प्रमाण देखाउनु पथ्र्यो ।
मैले ईकमर्श सुरु गर्दाको वातावरण अनुकूल थिएन । अन्य उद्योगी जस्तै म पनि ६ अङ्कको रेभिन्यू क्रस गरेर सामान्य जीवनशैली बिताउन चाहन्थे । तर यो धेरै टाढाको सपना जस्तो देखिन्थ्यो किनभने धेरै कुरा सही थिएनन् ।
अमेरिकामा जस्तो हामीसँग सधै बिजुली हुँदैन थियो यसैले ईकमर्श साइट सञ्चालन गर्नु भार जस्तै थियो हाम्रा लागि । मेरो ल्यापटप चार्ज गर्नलाई मात्र म एकदेखि अर्को ठाउँमा कुदिरहन्थे । कहिलेकाही म पेपरका लागि आर्टिकल लेक्थे र त्यसको लागि टाढाको क्याफेमा टाइप गर्न पुग्थे ।
सबै कुरा गाह्रो थियो । स्थिर बिजुली थिएन । इन्टरनेट ब्याण्डविथका लागि नेटवर्क कम्पनीहरुले धेरै पैसा लिन्थे । थोरै मान्छेहरुले मात्र यो किन्न सक्थे । तर म सक्दिनथें, जसले मेरो व्यवसायलाई धराशायी बनाइरहेको थियो ।
मसँग दुईवटा मात्र विकल्प थिए । या त व्यवसाय बन्द गर्ने या त मेरो खाजा खर्च बनाएर क्याफेलाई तिर्ने । मैले दोस्रो विकल्प रोजें । यसको अर्थ, म व्यवसाय चलाउनलाई अनलाइन बस्न दिनभरी भोकै बस्थे ।
मेरो लागि कहिल्यै सजिलो थिएन तर मलाई यति कुरा थाहा थियो कि म मेरो अवस्थालाई निर्धारण गर्न नसके पनि आफ्नो व्यवसायिक सफलताको निर्धारण गर्नसक्छु । अवस्था प्रतिकूल छ भनेर मेरा धेरै साथीहरुले स्टार्टअप बन्द गरे ।
तर म मेरो फ्रिल्यान्स र ईकमर्श स्टार्टअपमा टिकीरहें र पछि ६ अङ्कको रेभिन्यू हासिल गर्न सकें ।
२. व्यवसायप्रति लगाव हुनुमात्र पर्याप्त छैन
कुनै काम सुरु गरेर त्यसको लागि निरन्तर लाग्नु नै लगाब हो । तर प्रतिकूल दिनमा टिकिरहन लगाबभन्दा गहिरो अरु तत्वको पनि खाँचो पर्छ । जुन भिजन पनि हो । व्यवसायमा अडिरहन तपाईको लगाबलाई भिजनले सहयोग गर्छ ।
जब कामहरु सोचे जस्तो भइरहेको हुँदैन तब तपाई वरपरको दृष्यले नै तपाईलाई अगाडी जान मार्ग प्रशस्त गर्दछ । अस्थिर बिजुली र कमजोर नेटवर्क क्षमताजस्ता समस्याको चित्रले मलाई अगाडि बढिरहन मद्दत गर्यो । म हुर्कदैं गर्दा मेरो ठाउँ मलेलिया र ग्याङ वारको चपेटामा थियो ।
कोही मलेलिया लागेर त कोही गोलीले घाइते भएर अस्पतालमा सुतिरहेका हुन्थे । मैले देख्दै आएका चित्र यस्तै थिए । मेरो व्यवसाय सुरु गर्नु निकै तनावपूर्ण थियो । व्यवसाय सुरु गरेपछि मैले चाहेको गतिमा यो बृद्धि भइरहेको थिएन । एउटा कारण भनेको विश्वासनीय भुक्तानी प्रक्रियाको पनि थियो ।
आठ वर्ष अघिसम्म हामीसँग पे–पलको पहुँच थिएन इन्टरनेट डेटा, डोमेन नेम वा वेबसाइट होस्टिङको लागि निरन्तर भुक्तानी गर्न निकै गाह्रो थियो । यो दृश्य पनि मैले देखेको थिएँ । यी दृष्यहरुले मेरो हिम्मतलाई कायम राख्थ्यो ।
मलाई लाग्थ्यो यदि मैले मेरो स्टार्टअपलाई टिकाइराख्न सकें भने एकदिन म ति धेरै कुरामा परिवर्तन ल्याउन सक्छु जसमा अहिले मेरो कुनै पहुँच छैन । चाहे जे सुकै होस् तर आफूलाई अगाडि बढाउन प्रेरित गर्ने दृष्य खोजिरहनुहोस् । व्यवसायमा अध्याँरा दिन आउँछन् । अध्याँरोमा देख्न सक्ने भिजन नै त्यो अस्त्र हो जसले एउटा उद्यमीलाई टिकाइरहन सक्छ ।
३. प्रश्न सोध्नुहोस्
कुनै पनि क्षेत्रमा बस्दा असुरक्षित हुन्छ जस्तो लाग्छ भने त्यो वातावरणलाई निरन्तर विश्लेषण गरिरहनुहोस् र सानो सानो क्लु खोज्नुहोस् । वातावरणमा जसले प्रतिकूलतालाई छिटो पहिचान गर्छ ऊ सधै सुरक्षित रहन सक्छ । यसैले त्रासले हामीलाई होसियार बनाएर सुरक्षित रहन सिकाउँछ ।
मैले मेरो ‘त्रासप्रतिको होसियारी’ लाई व्यवसायमा लगाएँ । यसले गर्दा सधै प्रश्न गर्ने बानी मभित्र बस्यो । मैले जति धेरै प्रश्न गर्न थाले त्यति नै धेरै थाहा पाउन थाले । मेरो व्यवसायिक मेट्रिक्स जति बढ्यो म त्यति नै सकरात्मक हुन थाले ।
धेरै प्रश्न सोधेकै कारण म आफ्नो रणनीति परिवर्तन गर्न सक्थें । मलाई थाहा हुन थाल्यो कुन भागले काम गरिरहेको छ र कुन भागलाई त्याग्नुपर्छ भन्ने । प्रश्न सोध्नु भनेको मेरो लागि कुनै कुरा परीक्षण गर्नु जस्तै थियो ।
बाँकी भनेको इतिहास हो । मैले मेरो दुईवटा स्टार्टअपको लामो समयदेखि व्यवसायिक बृद्धि गर्दै आइरहेको छु ।जसमा मेन्ली सिल्भर भन्ने पनि रहेको छ । यसमा अनलाइन गहनाका सामग्री बिक्री हुन्छ ।
यस्तै, अर्को वेब डेभलपमेन्ट एजेन्सी हो । यदि मैले माथि उल्लेख भएका सिकाईंहरुलाई मनन गरेको थिइनँ भने आज सयौं कर्मचारी र धेरै वटा कम्पनीको सीईओको रुपमा स्थापित हुने थिइनँ ।
नयाँ उद्यमीहरुलाई मेरो के सल्लाह छ भने तपाईको अवस्था तपाईंलाई रोक्नुहुँदैन । चाहे जतिसुकै अप्ठ्यारो किन नहोस् त्यसमा अडिरहनुहोस् तब मात्र सफलता निश्चित छ ।