close

इन्स्टाग्राममा सबैका लागि ‘लाइभ रुम्स’ फिचर, यसरी गुर्नहोस् प्रयोग

टेकपाना टेकपाना

पुस ७, २०७७ १३:६

इन्स्टाग्राममा सबैका लागि ‘लाइभ रुम्स’ फिचर, यसरी गुर्नहोस् प्रयोग

काठमाडौं । इन्स्टाग्रामले हालै सबै प्रयाेगकर्ताका लागि ‘लाइभ रुम्स’ फिचर सार्वजनिक गरेको छ । विशेषगरी क्रिएटर्सलाई लक्षित गरेर ल्याइएको यो फिचर लाइभका लागि प्रयोग गर्न सकिन्छ । जसमार्फत क्रिएटरले अन्य तीन व्यक्तिसँग मिलेर लाइभ गर्न सक्नेछन् ।

यसले विशेषत: क्रिएटर्सको लाइभ भ्यू बढाउन मद्दत गर्नेछ । यो फिचर कम्पनीले सुरुवातमा विश्वका केही देशमा मात्रै उपलब्ध गराएको थियो । हाल यो फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध भइसकेको छ । त्यसैले यहाँ हामी तपाईंलाई यो फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

त्यसका लागि सुरुमा इन्स्टाग्राम खोल्नुहोस् । त्यसको माथि तपाईंले आफ्ना साथिहरु राखेको ‘स्टोरिज’ देख्नुहुनेछ । उक्त स्टोरिजको सबैभन्दा दायाँतर्फ तपाईंको प्रोफाइल फोटो भएको ठाउँमा ‘प्लस’ सिग्नल देख्नुहुनेछ ।

उक्त प्लसमा क्लिक गर्नुहोस् । अथवा तपाईंले इन्स्टाग्रामको तल्लो भागमा रहेको ‘प्लस’ बटन अर्थात तपाईंले नयाँ पोष्ट राख्दा क्लिक गर्दै आउनुभएको ‘प्लस’ बटनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरेसँगै तपाईंले त्यहाँ आफ्नो फोनको ग्यालरीमा रहेको फोटोहरु देख्नुहुनेछ । त्यसैको तल तपाईंलाई क्यामेराको समेत अप्सन दिएको छ ।

उक्त क्यामेरा अप्सनमा ‘लाईभ’ भन्ने छुट्टै अप्सन रहेको छ । उक्त लाइभमा क्लिक गरेसँगै क्यामेरा खुल्नेछ । अब तपाईं उक्त लाइभको टाइटल राख्न चाहनुहुन्छ भने दायाँतर्फ रहेको मेन्युमा क्लिक गरी राख्न सक्नुहुनेछ ।

टाइटल राखेसँगै अब तपाईंले लाइभ गर्नका लागि सर्कुलर बटनमा क्लिक गरी अघि बढ्न सक्नुहुनेछ ।

यसरी लाइभ गर्ने विषय हामी धेरैका लागि साधारण नै हुन सक्छ । तर, यहाँ हामीले लाईभ गर्न सिकाउनुका कारण इन्स्टाग्रामले उपलब्ध गराएको लाइभ रुम्स प्रयोग गर्नका लागि तपाईं सुरुमा लाइभ भएको हुनुपर्नेछ ।

अब लाइभ रुम्सको प्रयोग कसरी गर्ने त ?

त्यसका लागि जब तपाईं लाइभ जानुहुनेछ त्यहाँ तपाईंले ‘रुम्स’ आइकन देख्नुहुनेछ । उक्त आइकनमा क्लिक गर्नुहोस् । त्यसमा क्लिक गरेसँगै तपाईंले उक्त रुम्समा जोड्न सकिने व्यक्तिहरु देखापर्नेछन् ।

अथवा तपाईंले त्यहाँ आफूले चाहेको व्यक्तिको नाम सर्च गरेर पनि उक्त व्यक्तिलाई लाइभ रुम्समा जोड्न सक्नुहुनेछ । जब तपाईंले व्यक्ति छनोट गर्नुहुन्छ उक्त व्यक्तिलाई नोटिफिकेशन जानेछ । उक्त नोटिफिकेशनमा क्लिक गरेकै भरमा उक्त व्यक्ति तपाईंको लाइभ रुम्समा जोडिन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०