काठमाडाैं । डिश मिडिया नेटवर्कले आज साेमबारदेखि साप्ताहिक भिडियो म्यागेजिन ‘सग्लो समाज’ प्रसार सुरु गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको उक्त म्यागेजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।
उक्त म्यागेजिन डिश होमको सरोकार च्यानल (१३०) मा हरेक सोमबार राति साढे ८ बजेदेखि प्रसारण हुनेछ हुन्छ । ‘सग्लो समाज’ को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिने उल्लेख गरिएको छ ।
देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप डिशहोमले हिमाल मिडियासँग समझदारी गरेर यो कार्यक्रम प्रसारण गर्न लागिएको डिश मिडियाका अध्यक्ष हेमराज ढकालले बताएका छन् ।
हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितका अनुसार ‘सग्लो समाज’ मा हामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागेजिनको ढाँचामा प्रस्तुत गरिने जनाइएको छ ।
डिशहोम विगत १० वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको सफल संस्था हो । यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै ग्राहकहरुको मनोरञ्जनका लागि विशेष च्यानलमार्फत घरमै बसी नयाँ नयाँ चलचित्र हेर्न सकिने पे पर भ्यु जस्ता सेवा प्रदान गरिरहेको छ ।