काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातिप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
योसँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढी मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे ।
युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम ईसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।
इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्स्फर युएइको इमिरेट्स् पोष्ट ग्रुपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो । यो कम्पनी विश्व रेमिट्यान्स्को क्षेत्रमा तीव्र रूपमा बजार विस्तार गर्न सफल भएको छ ।
युएईमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकीस्तान, बंगलादेश र फिलिपिन्स्मा तीव्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
ईसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुवै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुप्रै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।
डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको ईसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।