काठमाडौं । समसामयिक तथा सार्वजनिक विषयका प्रखर वक्ता खगेन्द्र संग्रौलाले आफ्नो ट्वीट गायब बनाइएको दाबी गरेका छन् ।
चिनियाँ टेक जायन्ट कम्पनी अलिबाबाका संस्थापक तथा धनाढ्य ज्याक मा सार्वजनिक वृतबाट ओझेल भएपछि उनको कथित वेपत्ताको विषयमाथि टिप्पणी गरेको आफ्नो ट्वीट गायब बनाइएको गुनासो संग्रौलाको छ ।
संग्रौलाले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट आफ्नो अघिल्लो ट्वीट वेपत्ता भएको जिकिर गर्दै यस्तो ट्वीट लेखेका छन् :
‘‘उल्का भाे! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएकाे प्रसङ्गमा चीनमा नागरिककाे सुरक्षा र अस्मिताकाे हालतबारे हिजाे बेलुका ट्वीट गर्याथेँ, मेराे वालबाट त्याे ट्वीट गायब भएछ। याे गायब पार्ने चिनियाँ “समाजवाद” हाे कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चाेर हाे ? थाहा चाहियाे !’’
उल्का भाे! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएकाे प्रसङ्गमा चीनमा नागरिककाे सुरक्षा र अस्मिताकाे हालतबारे हिजाे बेलुका ट्वीट गय्राथेँ,मेराे वालबाट त्याे ट्वीट गायब भएछ।याे गायब पार्ने चिनियाँ "समाजवाद" हाे कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चाेर हाे?थाहा चाहियाे!
ज्याक मा विगत दुई महिनादेखि गुमनाम भएपछि अहिले ट्वीटर लगायत सामाजिक सञ्जालमा यस विषयलाई लिएर टिप्पणीहरु उठ्न थालेका छन् ।
स्पष्ट वक्ताको छवि बनाएका ज्याक माले गत अक्टोबर २४ मा चिनियाँ सरकारको वित्तीय प्रणालीका बारेमा खरो टिप्पणी गरेका थिए ।
त्यसको केही दिनमा चिनियाँ सरकारले उनको आन्ट ग्रुपको शेयर निश्काषनलाई एकाएक रोकिदिएको थियो । उक्त आईपीओलाई विश्वको एउटा ठूलो आकारको आईपीओको रुपमा हेरिएको थियो ।
आन्ट ग्रुपलाई अवैधानिक एकाधिकार प्रवृतिको अभ्यास गरेको भन्दै प्रशासनले त्यसलाई परिमार्जन गर्न समेत उनलाई अल्टिमेटम दिएको थियो ।
लाइमलाइटमा रहन रुचाउने ज्याक मा एकाएक ओझेलमा परेपछि यसले विश्वलाई आश्चर्यमात्र बनाएको छैन, चीनको सर्वसत्तावादी र निरङ्कुश छविमाथि समेत आशंका गर्ने अर्को कारण थपिएको छ । यसै विषयलाई लिएर ट्वीटरमा अहिले बहस पनि चल्न थालेको छ ।
ज्याक मा आफैले तयार गरेको अफ्रिकन टिभी प्रोग्रामको अन्तिम एपिसोडमा समेत उपस्थित भएनन् ।
यद्यपि आफ्नो प्रतिकूल समयमा निस्क्रिय बस्ने कुरा चिनियाँ उद्योगी तथा व्यक्तित्वहरुका लागि नयाँ कुरा भने होइन । यसअघि जेडडी डटकमका संस्थापक रिचार्ड ल्युले बलात्कारको आरोपपछि गत वर्ष चीनको महत्वपूर्ण राजनीतिक समारोहमा उपस्थिति जनाएका थिएनन् ।
यस्तै टेन्सेन्टका संस्थापक पोनी माले पनि एक वर्षसम्म सार्वजनिक रुपमा ओझेल भएर आफ्नो प्रोफाइललाई लो राखेका थिए ।