काठमाडौं । चोकमा ट्राफिक प्रहरी नभएको समयमा नियम उल्लंघन गर्ने बानी धेरैको हुन सक्छ । तर, अब भने तपाईंले नियम उल्लंघन गर्नुअघि एक पटक सोच्नुपर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई निगरानी गर्ने गरी ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालनमा ल्याएको छ । उक्त भेइकल उपत्यकाका सडकमा आइतबारदेखि सञ्चालनमा आएको हो ।
व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न महाशाखाले सीसीटीभी क्यामराजडित भेइकल परिचालन गरेको हो ।
कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार ट्राफिक सर्भिलेन्स भेइकल माईक्रो बस आकार रहेको छ । उक्त सर्भिलेन्स भ्यानको छतमा जडित सीसीटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाई कैद गर्न सक्नेछ ।
पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने भट्टराईले बताएका छन् ।
भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ ।