काठमाडौं । प्रविधिको विकाससँगै डिजिटल कारोबारमा एकपछि अर्को गर्दै नयाँ नयाँ प्रविधि भित्रिरहेको छ । मोबाइल बैंकिङ, मोबाइल बालेट जस्ता प्रविधिको बीचमा पनि पछिल्ले समय क्यूआर स्क्यानले चर्चा बटुलिरहेको छ ।
यो प्रविधि नयाँ नभएतापनि यसको प्रयोग नेपालको डिजिटल कारोबारमा सुरुवात भएको त्यति धरै भएको छैन । हुन त एफवान सफ्टले सन् २०१४ अघि नै यो प्रविधि नेपाल भित्र्याएको थियो । तर, त्यो समय क्यूआरका लागि उपयुक्त नहुँदा पछाडि हटेको कम्पनीले केही वर्ष अघिबाट यसलाई पुनः कार्यन्वयनमा ल्याएको हो ।
अहिले बजारमा क्यूआरमार्फत हुने कारोबारसँगै यस्तै सेवा दिने सेवा प्रदायक पनि बढ्दै गएका छन् । फोन पेसँग बजारमा अहिले एससीटी अन्तर्गत स्मार्ट क्यूआर सुरु भएको छ । यी सबैको उद्देश्य क्यासलेस कारोबार नै हो ।
क्यूआर स्क्यान गरेकै भरमा भुक्तानी हुने हुँदा पछिल्लो समय नेपालको डिजिटल कारोबारमा यसले चर्चा बटुलिरहेको छ । अझ पछिल्लो समय तराकारी बजार, सफा ट्याम्फो लगायतमा समेत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएसँगै यसको अर्थ अझ बढ्दै गएको छ ।
सोही अनुरुप नियामक निकाय नेपाल राष्ट बैंकले पनि यस्ता प्रविधिलाई प्रोत्साहन गर्ने गरी प्रविधि सुहाउँदो नीति अपनाइरहेको छ । यस्तोमा डिजिटल कारोबारले प्रोत्साहन पाउनु स्वभाविक नै हो ।
राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार हर्ने हो भने पछिल्लो पाँच महिनामा क्यूआर मार्फत हुने कारोबारमा भने उत्तरचढाव देखिएको छ । उक्त तथ्याङ्क अनुसार गएको असार महिनामा कुल १ लाख ९५ हजार १६ पटक क्यूआर भुक्तानी भएको थियो । भने, उक्त समयमा कुल ५८ करोड ९० लाखको कारोबार भएको थियो ।
तर, साउनमा आइपुग्दा कारोबार संख्या १० हजारभन्दा बढीले घटेर १ लाख ७९ हजार १ सय ५० पटक भएको छ । कारोबार संख्या घटेको भएतापनि उक्त समयमा कारोबार रकम भने बढेको छ । कारोबार रकम ६ करोड बढ्दै ६४ करोड ८० लाख भएको थियो ।
त्यसपछिका महिनामा भने क्यूआर प्रयोगले एउटा रफ्तार नै लिएको देखिन्छ । एकै पटक कारोबार संख्या ८६ हजारको हाराहारीमा वृद्धि हुँदै २ लाख ६५ हजार एक सय २५ पुगेको छ । भने कारोबार रकम पनि बढेर ९६ करोड ९० लाख पुगेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिकमा क्यूआरमार्फत कुल २ लाख ४१ हजार ८१८ पटक कारोबार भएको थियो । उक्त संख्या मंसिरमा आईपुग्दा कुल ३ लाख ४३ हजार ५७४ भएको छ । कारोबार संख्यासँगै कारोबार रकम पनि बढेको छ ।
कात्तिकमा क्यूआरमार्फत ९३ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।