close

जहाज चढ्दा मोबाइल किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

माघ २०, २०७७ १५:३

जहाज चढ्दा मोबाइल किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडौं । जहाजमा यात्रा गर्दा यात्रुलाई सधै फोन स्विच अफ वा फ्लाइट मोडमा राख्न आग्रह गरिन्छ । यसको पछाडिको कारण तपाईंलाई थाहा छ त ?

वास्तवमा फोन, ट्याबलेट तथा विद्युतीय ह्याण्डसेटबाट आउने विद्युत चुम्बकीय तरङ्गलाई रोक्न फोनलाई स्विच अफ गर्न लगाइन्छ ।

तर आजभोलि पाइलट आफैंले आफ्नो आईप्याड तथा अन्य ट्याब्लेट विमानको ककपिटमा राखिरहेका हुन्छन् । आफ्नो पेपरवर्कका लागि ती उपकरण विमान चालकले प्रयोग गर्दछन् ।

यसबाहेक विमानका अन्य कर्मचारीहरुले पनि ठूला-ठूला फोन र ट्याबलेट प्रयोग गरिरहेका हुन्छन् । यसकारण ढुक्क भएर तपाईं आफ्नो फाेनलाई स्विच अन गर्न हत्तारिनुभएकाे छ भने, पख्नुहाेस् ।

वास्तवमा बुझ्नुपर्ने कुरा के छ भने विमानका कर्मचारीले प्रयोग गर्ने यी उपकरणले तरङ्ग सृजना गर्दैनन् । अर्थात् ती सबै परीक्षण भएका उपकरण हुन् ।

तर यी परीक्षण गरेका सबै उपकरण पनि सुरक्षित हुँदैनन् । २०११ मा केही बोयिङ ७३७ विमानको फ्लाइट डेक स्क्रिनका केही विशेष मोडलका भागहरु तरङ्गित भएको देखिएकाे थियाे ।

विमानहरुमा इन्फ्लाइट इन्टरनेट प्रदान गर्न एकपटक व्यापक परीक्षण भएको थियो, तब उक्त परीक्षण प्रक्रियामा विमानभित्र एकदमै धेरै विद्युत चुम्बकीय तरङ्ग उत्पन्न भएको पाइएको थियो । 

फ्लाइट मोडमा राख्दा तपाईंले सेलुलर वाईफाई नेटवर्कको कनेक्सन गुमाउनुहुन्छ । यसपछि तपाईं फोन गर्न, म्यासेज पठाउन र सोसल मिडिया चलाउन सक्नुहुन्न ।

उडानको समयमा तपाईं टेलिफोन टावरहरूको पहुँचबाट बाहिर जानुहुन्छ । तर तपाईंको फोनले लगातार कनेक्सन खोजिरहेको हुन्छ ।

फोनले कनेक्सन फेला पार्न कोशिश गरिरहँदा शक्तिशाली इलेक्ट्रिकल सिग्नल पठाउँछ । यो सिग्नलको कारण पाइलटले आफ्नो हेडफोनमा कष्टकर आवाज सुन्न थाल्छ ।

साथै रेडियो तरंगहरूमा सञ्चारको भीडले पाइलटलाई जमिनमा टावरहरूसँग कुराकानी गर्न गाह्रो वा असम्भव बनाउन सक्छ।

फोनलाई एयरप्लेन मोडमा नराख्दा के हुन्छ त ?

प्रत्येक फ्लाइटमा दैनिक दर्जनौं उपकरणहरु एयरप्लेन मोडमा हुँदैनन् भन्ने कुरा नियामक, एयरलाइन्स कम्पनी तथा विमान निर्माणकर्ता कम्पनी सबैलाई थाहा हुन्छ ।

किनभने डिभाइस अन राख्ने बित्तिकै विमान आकाशबाट खस्दैन । सबै उपकरणले सबै किसिमका विमानलाई असर गर्न सक्दैन । 

तर कतिपय विमानहरु एकदमै संवेदनशील हुन्छन् । यसकारण फाेन तत्काल एयरप्लेन मोडमा राखिहाल्नुहोस् ।

फ्लाइट माेड अन गरी कुनै एप प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको फोनको तरङ्गले विमान पल्टिहाल्छ भनेर चाहिँ बुझ्नुहुन्न । सुरक्षाका लागि यस्ताे पूर्वसावधानी अपनाएकाे हाे भनेर बुझ्नुपर्छ ।

यसकारण प्लेन उड्नुअघि आफ्नो डिभाइसहरु एयरप्लेन मोडमा छ कि छैन सुनिश्चित गर्नुहोस् । यात्रु जिम्मेवार भएको खण्डमा विमान तपाईंको घर वा कारको यात्राभन्दा धेरै सुरक्षित बन्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१