close

हरेक व्यवसायका लागि ईआरपी सफ्टवेयर जरुरी भइसकेको छ

टेकपाना टेकपाना

माघ २१, २०७७ १५:३८

हरेक व्यवसायका लागि ईआरपी सफ्टवेयर जरुरी भइसकेको छ

सन् २००२ मा स्थापना भएको आईटी नेपाल कम्पनी केही वर्षअघि नियो सफ्टवेयरको नाममा रिब्राण्डिङ भयो । व्यवसायिक घरानाका आन्ट्रप्रेनर सञ्जय गोल्छाले सुरु गरेको आईटी नेपाल संभवतः नेपालमा ईआरपी सफ्टवेयरको क्षेत्रमा हात हाल्ने पहिलो कम्पनी पनि हो । आईपी शर्मा विगत तीन वर्षदेखि सोही कम्पनीको सीईओको रुपमा कार्यरत छन् । यसैबीच कम्पनीले विश्वप्रशिद्ध ईआरपी सफ्टवेयर एसएपी-स्यापको व्यवसायमा समेत हात हालेको छ । कम्पनीका सीईओ शर्मासँग टेकपानाले नेपालमा ईआरपी सफ्टवेयरको आवश्यकता, बजार र यसका विविध आयामको विषयमा गरेको कुराकानी ।  

करिब डेढ दशकदेखि स्थापित आईटी नेपाल कम्पनी अहिले नियो सफ्टवेयरको नामबाट बजारमा गइरहेको छ । कम्पनीको नाममै परिवर्तन गरेर रिब्राण्डिङ गर्नुपर्ने आवश्यकता के थियो ?   

हामीले आईटी नेपाल स्थापना गरेर सफ्टवेयरको काम सुरु गर्‍यौं । नेपाली बजारमा काम सुरु गर्दा यहाँका कुनै पनि उद्योग, कर्पोरेट हाउसमा सफ्टवेयरको आवश्यक हो भन्ने पनि थिएन ।

त्यही ढड्डा र त्यही परम्परागत बुक किपिङ सिस्टमबाट काम हुने गर्दथ्यो । हामीले त्यही परम्परागत काम गराइलाई कसरी अटोमेट (स्वचालित) गर्न सकिन्छ भन्ने हिसावले सानो अकाउण्टिङ जस्तो सफ्टवेयर विकास गरेर केही गनिए चुनिएका कर्पोरेट हाउसहरुमा दिन सुरु गर्‍यौं । 

ठूला ठूला ढड्डा राख्ने गरेको अवस्थामा सफ्टवेयर प्रयोग गर्न थालेपछि उहाँहरुलाई सहज महसुस हुँदै गयो । एउटा कम्प्युटर राखेर पनि सबै आय व्ययको विवरण राख्न मिल्दो रहेछ भन्ने भइसकेपछि उहाँहरुले निरन्तर रुपमा त्यसको प्रयोग गर्दै जानु भयो ।

सँगसँगै उहाँहरुले आफ्नो आवश्यकताअनुसारका फिचरहरु माग गर्न  थाल्नु भयो । हामीले त्यसै अनुसार गर्दै गयौं । यस हिसावले हामीले इन्टरप्राइज रिसोर्स प्लानिङ सिस्टम (ईआरपी) विकास गरेर ७०/८० कम्पनीमा विस्तार गर्‍यौं । 

पछि हामीले यसलाई सिनर्जी ईआरपीको रुपमा औपचारिक रुपमा नै सार्वजनिक गरेर अगाडि बढायौं । आजको दिनमा हेर्ने हो भने नेपालका राम्रा ८०/९० वटा कर्पोरेट हाउसहरुमा प्रयोग भइरहेको छ । प्रविधि गतिशिल र परिवर्तनशील छ ।

हामीले सन् २०१८ मा आईटी नेपाल नामकै कम्पनीको रुपमा काम गर्‍यौं । यसबीचमा नेपालको ईआरपी सफ्टवेयर उद्योगमा एउटा लामो अनुभव हामीले बटुलिसकेका थियौं ।

यस हिसावले नेपाली बजारमा हामीसँग ईआरपी सफ्टवेयरमा विज्ञता छ र यहाँको आवश्यकताअनुसार हामीले सोलुसन्सहरु उपलब्ध गराउन सक्छौं । वास्तवमा ईआरपी भनेको विजनेस सिस्टम हो । प्रविधिमा टेकेर यो विजनेस सिस्टम चल्ने हो ।

त्यो विजनेस सिस्टमको सन्देश राम्रो जाओस् र रिब्राण्डिङ होस् भन्ने हामी चाहन्थ्यौं । यसरी हामीले आईटी नेपाललाई सन् २०१८ मा नियो सफ्टवेयरको रुपमा रिब्राण्डिङ गर्‍यौं ।

हाम्रो उत्पादन र सेवालाई अझ बढी स्पेसिफिक (विशिष्टकृत) किन नगर्ने भनेरै हामीले कम्पनीको नाम परिवर्तन गरेका हौं । यस बाहेक अन्य हिसावले पनि सन् २०१८ हाम्रा लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट भयो ।

त्यससँगै हामीले लोकल प्रडक्टसँगै विश्वप्रशिद्ध ब्राण्डहरुसँग पनि काम गर्न सुरु गर्‍यौं । हामीसँग स्थानीय बजारमा ईआरपी सफ्टवेयरको विज्ञता भएकैले त्यस्ता ब्राण्डहरुले हामीलाई साथ साथ दिएका हुन् । 

यहाँहरुको यसबीचको अनुभव कस्तो रह्यो ? 

जतिबेला हामीले नियो सफ्टवेयर भनेर कम्पनी अगाडि बढायौं, त्यससँगै हामीले हाम्रो पुरानो लिगेसीमा रहेको ईआरपी सिस्टमलाई वेबमा आधारित प्रणालीमा स्थानान्तरण गर्‍यौं । त्यसले हामीलाई बजारमा जान अझै सहज भयो । यतिसम्म कि कोभिडको समयमा पनि हामीलाई झन् अवसरहरु सिर्जना भयो । 

यसबीचमा कतिपय नयाँ प्रोजेक्टहरु आए र त्यस अनुसार हामीले काम पनि सम्पन्न गर्‍यौं । पुरानो जुन सफ्टवेयर अथवा प्लेटफर्म थियो । आजको दिनमा ईआरपीलाई यसरी बुझ्नुपर्ने हुन्छ कि यसलाई कुनै पनि स्थितिमा स्केल अप गरेर लैजानुपर्ने हुन्छ ।

तपाईंले बिग डेटा, मोबाइल एप्लिकेसन, जीपीएस, जियोफेन्सिङ सिस्टम, क्लाउडमा आधारित एनालिटिक्स, इन्टरनेट अफ थिङ्स भर्खर आएका प्रविधि हुन् । यसरी हिजो भन्दा आज, आज भन्दा भोलि गर्दै नयाँ नयाँ प्रविधिहरु आइरहेका छन् ।

ती एप्लिकेसनहरुलाई हाम्रो ईआरपीमा कसरी जोड्ने, ता कि हाम्रो ईआरपीमा भएको डेटालाई प्रयोग गरेर, विश्लेषण गरेर हामीले केही पूर्वानुमान वा निर्णय लिने सन्दर्भमा सहयोग गर्न सकौं ।त्यस्तै इन्टरनेट अफ थिङ्सलाई हाम्रो ईआरपीमा कसरी जोड्ने र त्यसको लाभ लिने भन्ने कुरा रहन्छ ।

यदि हामी पुरानै प्रविधि र प्लेटफर्ममा बसिरहन्थ्यौं भने संभवतः धेरै समस्याहरु आउन सक्थ्यो । सामान्यतया पुरानो प्रविधिमा नयाँ प्रविधि जोडेर लैजाँदा जहिले पनि संघर्ष गर्नै पर्ने हुन्छ । त्यसैले पुरानो प्रविधिलाई अपग्रेड गर्नुको फाइदा हामीलाई के भयो भने नयाँ प्रविधि त्यसमा प्लगईन गर्न सक्यौं । त्यो हाम्रो समयसान्दर्भिक निर्णय भयो । 

हामीसँग आज एनालिटिक्सको अलग्गै टिम छ । बिजनेस एनालिसिसको छुट्टै टिम छ । टेक्निकल, कस्टमाइजेसन अथवा डेभलपमेन्टको लागि बेग्लै टिम छ ।

चार्टर्ड अकाउन्टेन्ट सहितको राम्रो इम्लिमेन्टेसन टिम छ । अर्को कुरा सफ्टवेयर दिइसकेपछि पोस्ट सेल्स सपोर्ट (बिक्रि पश्चातको सहयोग) अझ महत्वपूर्ण पाटो हो । त्यसैले हामीले संस्थाभित्र आवश्यकता अनुसार छुट्टा छुट्टै टिमहरु तयार पार्दै गएका छौं । 

यसरी आजको दिनमा हामीसँग एउटा राम्रो दक्ष जनशक्ति छ । यसबाट हामीले सार्वजनिक क्षेत्रका ठूला परियोजनामा पनि हात हालिसकेका छौं । 

अर्को महत्वपूर्ण कुरा एक्सेञ्चर, टाटा कन्सल्टेन्सी  सर्भिस, डाइमेन्सन डाटा, ब्याच मास्टर जस्ता मल्टि नेसनल कम्पनीमा विभिन्न देशमा काम गरिरहेका ट्यालेन्टेड नेपाली इन्जिनियरहरुलाई नेपाल फर्काएर हाम्रो टिममा सामेल गरेका छौं ।

यसको अर्थ हामीले स्थानीय विज्ञता र अन्तर्राष्ट्रिय स्वादमा काम गर्न सकेका छौं । हाम्रो सफ्टवेयरको लागत नाटकीय रुपमा घटाउन सक्यौं ।

नेपाली बजारमा सफ्टवेयरका लागि छुट्टै बजेट छुट्याउने अभ्यास थिएन । तर अहिले अवस्था फेरिँदै गएको छ । व्यापार व्यवसाय सुरु गर्दा सफ्टवेयरका लागि समेत निश्चित लागत छुट्याउने गरेको देखिन थालेको छ । 

यो ईआरपी के हो र यसको प्रयोग किन आवश्यक छ, सबैले बुझ्ने भाषामा खुलस्त पारिदिनु हुन्थ्यो कि ?

आजभन्दा २०-२५ वर्ष पहिला पनि बैंकिङ सिस्टम चल्थ्यो । तर हामीले जम्मा गरेको पैसा हामीले नै निकाल्न जाँदा खेरी बिहान १० बजे गएर एउटा टोकन लिनुपर्थ्योे र दिउँसो फेरी गएर लाइनमा बसेर टोकनको आधारमा पैसा निकाल्नु पर्थ्यो ।

आजको दिनमा यहाँसम्म कि तपाईंले बैंक शाखामा पाइला समेत टेक्नुपर्दैन । यसको अर्थ के भने कुनै पनि इन्टरप्राइज अर्थात संस्थान भित्र जति पनि सरसामानहरु छन् वा भनौं रिसोर्सहरु छन्, जसलाई प्रयोग गरेर विभिन्न किसिमको व्यवसाय भइरहेको हुन्छ ।

त्यस्ता सरसामानलाई कसरी अधिकतम स्तरमा प्रयोग गर्ने ता कि कम रिसोर्स (स्रोत) मा हामीले धेरै फाइदा लिन सकौं । त्यस किसिमको अवधारणलाई हामीले कम्प्युटर प्रणालीमा लगिदियौं ।

अर्थात त्यसलाई हामीले अटोमेसन (स्वचालित) गरिदियौं । यसरी विभिन्न विभागहरुबीच क्रश फंसनल रिलेसनशिप (अन्तर सञ्चालन सम्बन्ध) स्थापित गरिदिन्छौं । मानौं तपाईं पैसा निकाल्न बैंकमा जानु भयो ।

टेलर काउन्टरमा चेक दिनुहुन्छ र त्यहाँ बसेको कर्मचारीले चेकजाँच गर्छ । सम्बन्धित व्यक्तिको खातामा पैसा छ कि छैन भन्नका लागि अर्को टेबलसम्म हिँडेर  गएर हेर्थ्यो ।

अनि फर्केर तपाईंलाई पैसा दिन्थ्यो । यसरी कम्तिमा १५ मिनेट लाथ्यो । तर आजको दिनमा तपाईंले चेक प्रस्तुत गर्ने वित्तिकै काउन्टरमा भएको कर्मचारीले सम्बन्धित अर्को कम्प्युटरसँग अनुमति लिएर निर्णय दिन सक्छ र तपाईंले तुरुन्त पैसा पाउन सक्नुहुन्छ ।

कुनै पनि संस्था वा बिजनेस प्रोसेस (व्यवसायिक प्रक्रिया) छन्, चाहे त्यो बिक्री शाखाको प्रक्रिया होस्, चाहे खरिद शाखाको होस्, वा फाइनान्स विभागको प्रक्रिया होस्, ती सबै प्रक्रियालाई अन्तरआवद्ध गरिदिने ।

ता कि चाँडोभन्दा चाँडो कम स्रोतसाधन खर्च गरेर प्रतिफल निकाल्ने । ईआरपीको मूख्य अवधारणा यत्ति नै हो । इन्टरप्राइज रिसोर्स प्लानिङ अर्थात व्यवसायिक संस्थाको स्रोत साधन व्यवस्थापनलाई नै छोटकरीमा हामीले ईआरपी भन्ने गर्छौं ।  

अहिले तपाईंहरुको ईआरपी सफ्टवेयर कुन कुन कर्पोरेट हाउसहरुमा प्रयोग भइरहेको छ, त्यसमध्ये केही नामहरु खुलाउन मिल्छ ? 

हामीसँग भएका प्रडक्टहरुमध्ये सबैभन्दा सफलतम् प्रडक्ट भनेको ईआरपी नै हो । पहिला सिनर्जी नाममा रहेको यो प्रडक्टलाई अहिले हामी नियो ईआरपी भन्छौं ।

आजको दिनमा हाम्रो ईआरपी थुप्रै उद्योग, कर्पोरेट हाउस, फाइभस्टार होटेल, बैंक लगायतमा प्रयोग भइरहेको छ । त्यस मध्ये केहीको नाम लिनुपर्दा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, ब्रिज सिमेन्ट, अशोक स्टिल्स, अग्नि सिमेन्ट्स, सोनापुर सिमेन्ट्स, भुदेव खाद्य उद्योग, श्री स्टिल्स, एसआर ग्रुपलाई लिन सकिन्छ ।

त्यस्तै होटल सोल्टी, अलोफ्ट होटेल, म्यारियट होटेल, होटल र्‍याडिसन, एनआईसी एसिया बैंक, नेपाल बंग्लादेश बैंक, कुमारी बैंक लगायतमा पनि हाम्रो ईआरपी सफ्टवेयर प्रयोगमा छ । 

तपाईंहरुले सार्वजनिक तथा सरकारी निकायहरुमा चाहिँ यस किसिमको सपोर्ट दिनु भएको छैन ?

यसलाई म अलिक सकारात्मक अर्थमै भन्न चाहन्छु । आईटी उद्योग निकै तीव्र रुपमा विकास र परिवर्तन हुने क्षेत्र हो । तर सरकारी निकायहरुमा भने संसारमै अलिक सुस्त रुपमा सफ्टवेयर तथा ईआरपी सिस्टम प्रयोग हुने गरेको हामी पाउन सक्छौं । 

यद्यपी प्रतिस्पर्धात्मक रुपमा हामी विभिन्न सरकारी निकायहरुमा समेत प्रवेश गर्ने क्रममा नै छौं । केही कार्यालयहरुमा हामीले काम पनि गरेका छौं । 

यहाँहरुसँग आफ्नै इनहाउस ईआरपीको रुपमा नियो ईआरपी छँदै थियो । अहिले तपाईंहरुले एसएपीमा पनि हात हाल्नु भएको छ । किन इन्टरनेसनल ईआरपीमै जानुपर्ने अवस्था आयो ? कि त्यो स्तरमा यहाँहरुको नियो ईआरपीलाई नै विकास गरेर लैजान सक्ने संभावना पनि थियो होला नि ? 

मैले इमान्दारीतापूर्वक नै भन्नुपर्ने हुन्छ । मैले आज प्रडक्ट बिक्री गरे पनि भोलि पनि व्यवसाय गर्नै पर्ने हुन्छ । काम गर्नै पर्ने हुन्छ । मैले अघि पनि भने हामीसँग जुन ईआरपी छ, त्यो १६/१७ वर्ष लगाएर बनायौं ।

त्यसमा हाम्रा जति पनि क्लाइन्ट हुनुहुन्छ, उहाँहरुको माग र सुझावलाई आधार मानेर विकास गर्दै ल्यायौं । त्यसका लागि हामीले कोर इन्जिनमै कोडिङ गर्‍यौं । 

यसरी हाम्रो सफ्टवेयर त बन्यो । हामीले स्थानीय हाम्रा ग्राहकलाई खुशी पनि पार्‍यौं । तर हाम्रो सफ्टवेयरले के विश्वव्यापी मान्यता प्राप्त स्ट्याण्डर्ड दियो त ? अथवा जेनरल्ली एसेप्टेड अकाउन्टिङ प्राक्टिस (ग्याप) हाम्रो सफ्टवेयरमा छ ? यही हाम्रा लागि सबैभन्दा ठूलो प्रश्न बन्यो । 

त्यस्तै एनएफआरएस, आईएफआरएस जस्ता निश्चित रिपोर्टिङ स्ट्याण्डर्डहरु छन् । के त्यो हाम्रो सफ्टवेयरमा छ भन्ने प्रश्न पनि रह्यो । हुन त बजारमा हामीप्रति एउटा खालको विश्वास छ, नियो सफ्टवेयरको होमग्रोन ईआरपी लिएदेखि जे भन्यो त्यही गरिदिन्छ ।

अब त्यसमा भएको कोड हाम्रै हुन्छ । एक्सेस हाम्रै हुन्छ । त्यसैले जे भन्यो, त्यो बनाइदिन सक्ने भयौं । तर बनाइदिँदा त्यो स्ट्याण्डर्ड भएर आयो कि आएन भन्ने प्रश्न त बाँकी रहने नै भयो । यदि हामीले यसलाई विश्व बजारमा लैजाने हो भने मूख्य रुपमा यसैमा केन्द्रीत हुनुपर्‍यो ।

होइन भने हाम्रा ग्राहकले विश्वास गरेर यति लामो समयदेखि हाम्रो सफ्टवेयर चलाए । आजको दिनमा उनीहरुले एउटा बिल काट्नुपर्‍यो भने आईआरडी (आन्तरिक राजस्व विभाग) को सर्भरमा गएर ठोक्किन्छ ।

यस्तोमा हाम्रो दायित्व बन्छ कि उनीहरुको सूचना सर्भरमा सही जाओस् । भोली कर प्रशासनले उनीहरुमाथि प्रश्न उठाउन नसकोस् । उनीहरुले अनलाइनबाटै बैंकिङ कारोबार गरिरहेका हुन्छन् । त्यो रियल टाइममै होस्, सही र चुस्त किसिमले होस् ।

हुन त हामीले १५/१६ वर्ष लगाएर बनायौं । तर सन् २००२ मा कसले सोचेको थियो कि तपाईंले काटेको बिलको सूचना आईआरडीको सफ्टवेयरमा ठोक्किने होस् । तर हामीले सफ्टवेयरको आधार त्यही बेला नै तयार पार्‍यौं । 

अहिले आएर प्रविधि परिवर्तन भयो । कर प्रशासनको मापदण्ड फेरियो । पारदर्शिता र नियमनमा कडाई भयो । हामीले हाम्रा ग्राहकको त्यस किसिमको आवश्यकता पनि पुरा गरिदिनुपर्ने भयो । त्यसका लागि हाम्रो सफ्टवेयरमा कहिँ केही कमी कमजोरी छ कि ?

कतिपय कम्पनीहरु आफ्नै पारामा चलिरहेका छन् । अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएको व्यवसायिक अभ्यास पालना गरेका छैनन् । त्यस्तो अवस्थामा हाम्रो सफ्टवेयरले धानिदिन्छ । 

हाम्रो इनहाउस सफ्टवेयरले यहाँका कर्पोरेट हाउसहरुमा सफ्टवेयर प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास स्थापित गर्‍यो । उनीहरुलाई सिस्टमसँग अभ्यस्त हुने बानी पार्‍यो ।

आजको दिनमा व्यापार व्यवसाय पनि निकै ठूलो मात्रामा बृद्धि भएर गएको छ । अहिलेको परिवर्तित प्रविधि र प्रक्रियाअनुरुप काम गर्नुपर्ने चुनौति थपिएको छ । 

यस्तोमा हामीले परम्परागत रुपमा भन्दा अन्तर्राष्ट्रिय विजनेस प्रोसेस किन फलो नगर्ने ? आज तपाईंले विश्वका कुनै पनि देशबाट सामानहरु आयात गरिरहनु भएको छ । उनीहरुको अभ्यासलाई हामीले मान्नैपर्ने हुन्छ । 

अर्कोतर्फ हाम्रो सफ्टवेरमा विश्वव्यापी अभ्यास कहिँ कतै छूट भएको हुनसक्छ । त्यसैले हामीले स्याप (सिस्टम एप्लिकेसन प्रडक्ट)मा हात हालेका हौं । स्याप अन्तर्राष्ट्रिय कम्पनी हो । वार्षिक दशौं लाख डलर अनुसन्धान र विकासमा खर्च गरिरहेको हुन्छ ।

जो हामीजस्ता साना कम्पनीले गर्न सक्दैनौं । अर्को कुरा विश्वका २०० वटै देशमा स्यापको प्रडक्ट लागु छ । तपाईं कुनै अध्यागमन विभाग जानुहोस्, त्यहाँ स्यापबाट तयार पारिएको रिसिप्टलाई आधिकारिक मानिन्छ ।

अथवा कुनै अन्तर्राष्ट्रिय कारोबार गर्नुहोस्, स्यापबाट हो भने त्यसले सबैतिर मान्यता पाउँछ । यस हिसाबले स्यापले अन्तर्राष्ट्रिय किसिमको ब्राण्ड र मान्यता प्राप्त गरिसक्यो । हामीले त्यो स्तरमा विकास गरेर जाँदा बजारमा पनि स्थान जोगाउनु छ । त्यस हिसाबले सन् २०१८ देखि हामीले एसएपीलाई नेपालमा औपचारिक रुपमा भित्र्याएका हौं । 

सुरुवाती समयमा स्यापको विषयमा कुरा गर्न जाँदा हाम्रा ग्राहकहरु डराउँथे । स्याप निकै महंगो सफ्टवेयर हो भन्ने बुझाई उनीहरुमा थियो । त्यस्तोमा उनीहरु सिनर्जी नै खोज्थे । 

हामीले एक्सपर्ट टिम तयार पारेका छौं । नेपालकै टिमले स्याप लगाउने भएकाले स्याप पहिलाको जस्तो त्यति धेरै महंगो पनि हुँदैन । स्यापले अनावश्यक प्रोसेस हटाइदिन्छ र विजनेस प्रोसेसलाई समेत थप अप्टिमाइज गरिदिन्छ । 

अहिलेसम्म हामीले करिब दुई दर्जन स्थानमा स्याप लगाइसकेका छौं । नेपाल आयल निगम जस्तो ठूलो संस्थानमा पनि हामीले त्यसलाई राख्ने काम गरिरहेका छौं । 

नियो ईआरपी डेट एक्सपायर भएपछि यहाँहरु स्यापमा जानु भयो भन्दा अन्यथा त हुँदैन नि ?

त्यसो पनि होइन । डेट एक्सपायर हुन दिएनौं नियो ईआरपीमा अपग्रेड गर्‍यौं । यदि तपाईंले कोट किन्न जाँदै हुनुहुन्छ भने रेडिमेट किन्ने भन्ने हुन्छ । नियो ईआरपी र स्यापबीचको भिन्नता पनि यही हो । 

यसको अर्थ आफ्नै प्रडक्ट बनाउने कम्पनी अब विस्तारै अरुले बनाएको सफ्टवेयर बिक्री गर्ने कम्पनीको रुपमा सिफ्ट हुन खोजेको हो ?

हामीले बजारको ट्रेन्डलाई पनि हेर्नुपर्ने हुन्छ । अंग्रेजीमा एउटा कथन छ; ‘वि डन्ट वान्ट टु रि इन्भेन्ट द ह्विल’ । भन्न खोजेको जुन चिज यस अघि देखिनै बजारमा उपलब्ध छ, त्यसका लागि हामीले फेरी किन टाउको दुखाउने ? बरु हामी अरु केही नयाँ चिज गरौं भन्ने हो ।

हामीसँग भएको विज्ञ टिमले त्यसमा अलिकति ट्युन गरिदिन्छ । यसो गर्दा छिटो पनि हुने र ग्राहकले राम्रो उत्पादन पनि पाउने भयो । हाम्रो अर्को प्रडक्ट छ, डिस्ट्रिब्युसन एण्ड मार्केटिङ । यसमा हामीले अहिले पनि लगानी गरिरहेका छौ् । यसको भविष्य पनि राम्रो छ ।

यो सफ्टवेयर कस्तो भने तपाईंले सामान किन्नु भयो । डिस्ट्रिब्युटरमार्फत सामान बेच्नु हुन्छ ।  तपाईंले यो सफ्टवेयर राख्नु भयो भने तपाईंले कति सामान कुन कुन डिस्ट्रिब्युटरमा पठाउनु भयो, कसले कति बिक्री गर्‍यो, किन कम बिक्री भयो, बढी बिक्री भयो भने स्टक किन मगाएन, कस्तो किसिमको ग्राहकले किनेर लग्‍यो, त्यहाँसम्मको ट्रेसिङ गर्न सक्नुहन्छ ।

यस किसिमको प्रडक्ट सहजै पाइदैन । हाम्रो सडक संरचना, सहरी योजना त्यति राम्रो छैन । यो सफ्टवेयरले कुनै निश्चित बाटोमा कतिवटा स्थानमा सामान झार्नुपर्नेछ र अर्को रुट कुन उपयुक्त हुन्छ भन्ने सम्मको इन्टेलिजेन्ट रुपमा यसले काम गर्न सक्छ ।  

त्यस्तै हामीले एचआर सिस्टम (ह्युमन रिसोर्स इन्फरमेसन सिस्टम) बनायौं । हरेक देशको आआफ्नै श्रम कानून हुन्छ, आफ्नै किसिमको सीपको दायरा हुन्छ । बोनस र अन्य सुविधाको विषय पनि आफ्नै किसिमको हुन्छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय रुपमा बनेको एचआर सिस्टम ल्याएर नेपालमा लगाउन अलि जटिल नै हुन्छ । यही परिस्थितिलाई मध्यनजर गर्दै हामीले यो सिस्टम बनाएका हौं । अहिले यसले बजार पनि राम्रो लिइरहेको छ । 

यसले कर्मचारी अफिस आओस् चाहे फिल्डबाटै काम गरोस्, त्यो स्तरको ट्र्याकिङ गर्न सक्छ । यसैगरी अहिले हामी सीआरएम (कस्टमर रिलेसनशिप म्यानेजमेन्ट) मा पनि काम गरिरहेका छौं ।

त्यसको बेटा रिलिज गर्ने प्रक्रियामा छौं । यस हिसाबले हामी अन्तर्राष्ट्रिय प्रडक्टसँगै स्थानीय उत्पादनलाई पनि सँगसँगै अगाडि बढाइरहेका छौं । 

ईआरपी कुरा गर्दैगर्दा अझै पनि यस किसिमको सफ्टवेयरमा गरिने लगानीलाई अनावश्यक ठान्ने बुझाई व्याप्त छ । के यस किसिमको सिस्टम ठूला कर्पोरेट हाउसका लागि मात्रै आवश्यक हो त ? 

आजको दिनमा चाहे स्टार्टअप कम्पनी किन नहोस्, ईआरपी आवश्यक छैन भन्ने ठान्छ भने त्यहाँ कतै न कतै बुझाईको ग्याप हो भन्ने लाग्छ । किन भने आन्तरिक राजस्व विभागले पनि निश्चित रकम माथिको कारोबार गर्ने व्यवसायले कम्प्युटरमा आधारित बिलिङ गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

यसको अर्थ के हो भने त्यस्ता व्यवसायले कम्प्युटर सिस्टममार्फत आईआरडीको सर्भरमा बिलिङको रेकर्ड पठाएकै हुनुपर्‍यो । करको कुरा आउँदा तपाईंले कहाँबाट कतिमा खरिद गर्नुभयो, कति मार्जिन राख्नु भयो र कतिमा बेच्नु भयो भन्ने विषय जोडिन्छ । 

त्यसको लेखाजोखा त राख्नै पर्छ । जति पनि कम्पनीलाई यसको आवश्यकता नै छैन भन्ने भएको छ, उहाँहरुलाई कतै न कतै समस्या परेकै हुन्छ । करको विषयमा ठाउँ ठाउँमा अल्झिने कुरा भइरहेको हुन्छ । यस हिसाबले हरेक व्यवसायका लागि यस किसिमको सिस्टम जरुरी छ ।

त्यही आवश्यकता महसुस गर्दै हामीले मध्यम तथा साना व्यवसायलाई समेत लक्षित गरेर यो सफ्टवेयर ल्याएका हौं । यदि साना व्यवसायले स्याप जस्तो सफ्टवेयर राख्न सक्दैनन् भने विकल्पको रुपमा हाम्रो स्थानीय रुपमा नै  विकास गरिएको नियो ईआरपी छ । त्यो आईआरडीबाट मान्यताप्राप्त समेत हो । 

यदि तपाईं मध्यम आकारको व्यवसायमा हुनुहुन्छ भने तपाईंसँग नियो ईआरपीसँगै स्यापको विकल्प पनि छ । हुनसक्छ, हामी सबै व्यवसायमाझ पुगेका छैनौं होला ।

तर जहाँ जहाँ पुगेका छौं, त्यहाँ सुरुमा यसप्रतिको सचेतना दिने काम गरिरहेका हुन्छौं । पाँच लाख वा पचास लाख, कति बजेट छ, हामीले त्यसै किसिमले प्याकेज डिजाइन गरिदिन्छौं । 

व्यवसाय सानो छ र धेरै खर्च गर्न सक्ने अवस्था छैन । तर त्यस्ता कम्पनी ईआरपी राख्न इच्छुक हुनसक्छन् । यस्तोमा तपाईंहरुको सिस्टम सफ्टवेयर राख्नका लागि उहाँहरुसँग न्युनतम कति जति लगानी हुन आवश्यक छ ? फेरी सफ्टवेयर राखिसकेपछि त्यसको सञ्चालनका लागि छुट्टै जनशक्तिमा समेत लगानी गर्नुपर्ने अवस्था हुन्छ होला नि ?

म आफै पनि एउटा अन्तर्राष्ट्रिय स्तर डाइमेन्सन डेटा नामक जोहानेस वर्गको कम्पनीमा काम गरिसकेको मान्छे हुँ । विभिन्न देशहरुमा काम गर्दाको अनुभवका आधारमा नेपालमा पनि एउटा राम्रो अभ्यास सुरु गरौं भन्ने सोचेँ । त्यसै हिसाबले हामीले स्याप नेपाल भित्र्याएका हौं । 

सफ्टवेयर राखिसकेपछि तपाईंले एक जना छुट्टै मान्छे पनि राख्नुपर्छ भन्न मिलेन । कुनै व्यवसायसँग भएको जनशक्तिले नै त्यो सफ्टवेयर चलाउन सक्ने होस् भन्ने हाम्रो चाहना हो । हामीले नियो ईआरपीको युजर इन्टरफेस डिजाइन गर्दाकै बखतमा यी सबै कुरामा हामीले ध्यान दिएका छौं । 

आजको दिनमा केवल एसएलसी पास भएको अवस्थामा पनि हाम्रो सफ्टवेयर प्रयोग गर्न सक्छ । म त भन्छु त्यति पनि चाहिँदैन । कम्प्युटर स्क्रिनमा के लेखिएको छ र त्यसको अर्थ के हो भन्ने बुझ्न सक्ने किसिमको भए पनि पुग्यो ।

किन भने देवनागरी लिपीमा हाम्रो सफ्टवेयर छैन । अंग्रेजीमा भएकाले अंग्रेजी शब्द र त्यसको अर्थ बुझ्न सक्ने भए हुन्छ । हामीले सामान्य तालिम दिएपछि त्यस्तो व्यक्तिले सहजै यसलाई सञ्चालन गर्न सक्छ । 

हामीकहाँ एक डेढ लाखदेखि दुई ढाई करोडसम्मको सफ्टवेयर प्याकेजहरु छन् । यदि सानो व्यवसाय हो भने न्यूनतम एक लाख माथि खर्च गर्नसक्ने क्षमता चाहिँ हुनुपर्‍यो । हामीले जुन स्रोत साधन प्रयोग गर्नुपर्ने हुन्छ, यस हिसाबले त्यसभन्दा सस्तोमा उपलब्ध गराउन सम्भव हुँदैन । 

सुरुवाति दिनहरुमा ईआरपीको नेपाली बजारमा सायद नियो सफ्टवेयर एक्लो खेलाडी थियो । अहिलेसम्म आउँदा तपाईंहरुसँग आफैंले बनाएका सफ्टवेयरदेखि अन्तर्राष्ट्रिय बजारमा स्थापित प्रडक्ट पनि छन् ।  खासमा अहिले यहाँहरुको बजार हिस्सा कति छ होला ?

इमान्दारीपूर्वक भन्नुपर्दा हामीसँग ७० देखि ८० प्रतिशत बजार छ भन्ने लाग्छ । 

तपाईंले अघि भनेअनुसार यहाँहरुले ८० देखि ९० कर्पोरेट हाउसहरुमा ईआरपी सिस्टम राख्नु भएको छ । त्यस हिसाबले नेपालमा के अहिले पनि ईआरपीको प्रयोग खासै भइरहेको छैन भन्ने निश्कर्ष हो ?

अवश्य पनि । यसको अर्थ ईआरपीका लागि नेपालमा बजार सम्भावना एकदमै ठूलो छ । मैले ठूला कर्पोरेट हाउसहरुलाई मध्येनजर गरेर यो दाबी प्रस्तुत गरेको हुँ । मेरो दाबी गलत पनि हुनसक्छ, यो कुन अर्थमा भने ठूला कर्पोरेटभन्दा तल हामी अझै जान सकेका छैनौं ।

मध्यम र साना व्यवसायहरुमा अघि भनेजस्तै ईआरपी राख्नुपर्छ भन्ने सोच नै तयार भएको छैन । कम्प्युटर बिलिङ सिस्टम राख्दैमा त्यसलाई ईआरपी भनिहाल्न मिल्दैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१