close

हरेक समय चार्जमा राखेर ल्यापटप चलाउँदा के हुन्छ ?

टेकपाना टेकपाना

माघ २८, २०७७ १४:२९

हरेक समय चार्जमा राखेर ल्यापटप चलाउँदा के हुन्छ ?

काठमाडौं । आजकलको जमानामा ल्यापटप र स्मार्टफोन सामान्य भइसकेको छ । समय बिताउन, कुराकानी गर्न र मनोरञ्जन लिन मात्रै होइन, कार्यालय प्रयोजनका लागि पनि यी उपकरणको प्रयोग बढ्दो छ ।

तपाईंले हजारौं रुपैयाँ खर्चेर किनेकाले यस्ता उपकरणको सुरक्षा र स्याहारमा विशेष ध्यान दिनुपर्छ । हामीले स्मार्टफोनको ब्याट्री चार्ज गर्ने र टिकाउने विषयमा यसअघि लेख लेखेका थियौं ।

तर, धेरै मानिसहरु ल्यापटपको ब्याट्री जोगाउन र ओभरचार्ज गर्दा बेफाइदा हुन्छ कि हुँदैन भन्ने विषयमा जानकार नहुन सक्छन् । यसकारण हामीले आज यो विषयमा केही जानकारी तयार पारेका छौं :

सामान्यतया ल्यापटपकाे ब्याट्री लामोसमयसम्म चार्ज गर्दा कुनै खतरा हुँदैन । ब्याट्रीको चार्ज १०० प्रतिशत हुने बित्तिकै चार्ज बन्द हुन्छ र भोल्टेज निश्चित स्तरभन्दा तल नआउँदासम्म चार्जिङ सुरु हुँदैन ।

अर्काेतिर तपाईंले लामो समयसम्म चार्ज शुन्य बनाई ल्यापटप राख्नुभयाे भने त्याे घातक हुनेछ । यसले पहिलाे असर त ब्याट्रीको आयू घटाउँछ भने अर्काेतिर पछि चार्जिङ नहुने समस्या देखापर्छ ।

उसो भए के तपाईंले हरसमय ल्यापटप चार्जमै राख्दा कुनै समस्या छैन त ? त्याे पनि हाेइन ।

आजकलका अधिकांश ल्यापटपमा लिथियम आयन ब्याट्री हुन्छ । यस्ताे ब्याट्रीको कुरा गर्दा यो अस्थिर प्रकृतिको हुन्छ । सजिलोगरी भन्दा यस्तो ब्याट्रीमा सुरु सुरुमा राम्रो क्षमता हुन्छ । तर विस्तारै क्षमता गुमाउँदै जान्छ । ब्याट्रीको क्षमता गुम्नुमा धेरै कारणहरु हुन सक्छन् ।

यसमा चार्ज/डिस्चार्ज साइकल, भोल्टेज लेभल, उच्च तापक्रम लगायतका विषयले ब्याट्रीको आयू निर्धारण गर्दछ । ब्याट्री युनिभर्सिटीको एक अध्ययनका अनुसार भोल्टेज लेभल र उच्च तापक्रमले ब्याट्रीको आयू छोटो बनाउँछ ।

जहाँसम्म ब्याट्री ओभरचार्जको कुरा छ, ल्यापटपमा प्रयाेग हुने ‘लिथियम-आयन’ ब्याट्रीमा कन्ट्रोलर चिप हुन्छ, जसले ओभरचार्जिङ हुन दिँदैन । यसले ब्याट्री फुल चार्ज हुनेबित्तिकै पावर सप्लाइ हुन दिँदैन । यसकारण लामाे समयसम्म चार्ज गरेर ल्यापटप चलाउँदा कुनै हानी हुँदैन ।

त्यसाे भन्दैमा ढुक्कले ल्यापटप चार्जिङमा छाेड्ने बानी राम्राे हाेइन । बाहिरी तापक्रम उच्च हुँदा ( ४० डिग्रीकाे हारहारीमा), ल्यापटपकाे कुलिङ फ्यान बिग्रँदा पनि ब्याट्रीमा असर पर्छ र ताताे हुन थाल्छ । ब्याट्री ताताे भएकाे अवस्थामा चार्जिङ गर्नु निकै घातक हुन सक्छ र पड्कन समेत सक्छ ।

यसकारण लिथियम ब्याट्री चार्ज गर्दा ताताे बढी भएकाे ठाउँमा ल्यापटप नराख्न सुरक्षा विज्ञले सुझाव दिन्छन् । तर सुझाव विपरित यस्ताे काम गरिरहनु भयाे भने ब्याट्रीकाे स्वास्थ्यमा असर पर्ने र चार्जसमेत राम्ररी नहुन सक्छ ।

धेरै ताताे भएकाे अवस्थामा ब्याट्री निकाल्नु उत्तम हुन्छ । हामी सबैले लिथियम ब्याट्रीकाे दुश्भन भनेकै ओभरहिट हो भन्ने बुझ्नुपर्छ ।

यसकारण निश्चित गर्नुहोस् कि तपाईंको ल्यापटप धेरै तातो छैन र तपाईंको कुलिङ फ्यानले ठीकसँग काम गरिरहेको छ ।

अर्काेतिर शतप्रतिशत चार्जमा ब्याट्री लाइफ पनि शतप्रतिशत नै हुन्छ भन्ने साेच राख्नुभएकाे छ भने त्याे गलत नै हुन जान्छ । अध्ययन अनुसार लिथियम-आयन ब्याट्रीले प्रति सेल ४.२० भोल्टमा चार्ज गर्दछ, जुन यसको क्षमताको १०० प्रतिशत हो ।

यस स्तरमा, ब्याट्रीमा ३०० देखि ५०० डिस्चार्ज साइकलकाे आयू हुन्छ । तर ७० देखि ८० प्रतिशत ब्याट्री चार्ज भएको अवस्थामा १००० देखि २००० रिचार्ज साइकल प्राप्त हुन्छ, जसले ब्याट्रीकाे लाइफ बढाउन सघाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१