close

‘अब वालेटको भविष्य छैन’

टेकपाना टेकपाना

चैत ५, २०७७

‘अब वालेटको भविष्य छैन’

पछिल्लो समय हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधि प्रयोगमा बैंकिङ क्षेत्रलाई अझ बढी दबाब छ । डिजिटल वालेट तथा मोबाइल मनी, भुक्तानी सेवाप्रदायक (पीएसपी) र भुक्तानी सेवा सञ्चालक (पीएसओ) को उपस्थितिले बैंकिङ क्षेत्रलाई प्रविधि क्षेत्रमा नयाँ किसिमको चुनौती थपेको छ । त्यसैले त अहिले बैंकहरु आफूलाई वित्तीय संस्थाको रुपमा मात्र सीमित नराखेर फिनटेक (वित्तीय प्रविधि) कम्पनीको रुपमा आफूलाई अगाडि बढाउन अग्रसर छन् । यसै सन्दर्भमा बैंकिङ क्षेत्रमा भइरहेको प्रविधिको प्रयोगको अवस्था र यसको भविष्य कस्तो होला भन्ने विषयमा हामीले माछापुच्छ्रे बैंकका आईटी विभाग प्रमुख हेम कुमार श्रेष्ठसँग कुराकानी गरेका छौं ।  

माछापुच्छ्रे बैंक सूचना प्रविधि प्रयोग हिसाबले कुन अवस्थामा छ ?

हामी विगत चार पाँच वर्ष अघिदेखि नै प्रविधिमा निर्भर नभइकन अब व्यवसाय गर्न सकिँदैन भन्ने रणनीतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेका छौं । यसै सन्दर्भमा नेपालमै पहिलो पटक करिब ३ वर्षअघि नै हामीले च्याटबट सेवा सुरु गर्‍यौं ।

एनसेलले अहिले सुरु गरेको ‘माया च्याटबट’ हामीले त्यतिखेरदेखि नै प्रयोग गरिरहेका छौं । त्यस्तै नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक कल सेन्टरको अवधारणा पनि हामीले नै ल्याएका हौं । 

अबको समयमा परम्परागत बैंकिङ सिस्टमबाट ग्राहकको चाहना पुरा गर्न सकिँदैन । हामीले अन्य बैंकहरुसँग मात्र नभएर फिनटेक (वित्तीय प्रविधि) कम्पनीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

एनसेल र नेपाल टेलिकमजस्ता कम्पनीले पनि मोबाइल भुक्तानी सेवा सञ्चालनमा ल्याउने कुरा छ ।भोलि एनसेलजस्तो कम्पनीले मोबाइल वालेटको लाइसेन्स पाएको खण्डमा बैंकिङ क्षेत्रको अस्तित्व के हुने भन्ने प्रश्न छ ।

त्यसैले हामी भोलिका दिनमा आउनसक्ने चुनौतिको सामना गर्नेगरी नयाँ नयाँ प्रविधि भित्र्याइरहेका छौं । यसै क्रममा हामीले रेमिट्याप नामक छुट्टै मोबाइल एप लाइभमा ल्याएका छौं । यो एप रेमिट्यान्स सम्बन्धि सेवाका साथै मोबाइल वालेटको रुपमा समेत रहनेछ । 

वास्तवमा माछापुच्छ्रे बैंक आफैंमा पीएसपी (भुक्तानी सेवाप्रदायक) तथा पीएसओ (भुक्तानी प्रणाली सञ्चालक) पनि हो । त्यसैले हामीले वालेट किन सुरु नगर्ने भनेरै यो एप ल्याएका हौं । यस्तो एप ल्याउने हामी नै पहिलो बैंक हौं । 

अब बैंकिङ क्षेत्र सम्पूर्ण रुपमा आईटीमा निर्भर भइसकेको छ । यही यथार्थलाई स्वीकार गर्दै माछापुच्छ्रे बैंक फिनटेकको रुपमा निकै अगाडि बढिसकेको छ । 

ग्राहकको बदलिँदो चाहना र आवश्यकतालाई सम्बोधन गर्ने विषयमा के कसरी काम भइरहेको छ ?

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङका लागि बेग्लै डिपार्टमेन्ट बनाइसकेको छ । डिपार्टमेन्टले सोझो रुपमा ग्राहकसँग समन्वय गर्ने र उनीहरुको आवश्यकतालाई बुझ्ने काम गर्छ ।

यसरी प्राप्त प्रतिक्रियाका आधारमा हामीले त्यसलाई कसरी आईटी प्रविधिमा ढाल्न सकिन्छ भन्ने हिसाबले काम  गरिरहेका छौं । आईटीले व्यवसाय नबुझेर सर्भर मात्रै चलाएर हुने अवस्था अब छैन ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, कल सेन्टर जस्ता मेन स्ट्रिम बैंकिङसँग सम्बन्धित सेवाका साथै ग्राहकले स्वचालित रुपमा बैंकिङ स्टेटमेन्ट पाउन सक्ने सम्मका सुविधाहरु हामीले ल्याइसकेका छौं । 

फिनटेक क्षेत्रमा पीएसपी तथा पीएसओबीच र कार्ड सेवाप्रदायकहरुबीच एक किसिमको  अस्वस्थ प्रतिस्पर्धाको स्थिति पनि छ । यसलाई चाहिँ तपाईंहरुले कसरी हेरिरहनु भएको छ ? 

निश्चित रुपमा बजारमा फिनटेकलाई अगाडि लैजाने कार्यमा फोनपेको अग्रणी भूमिका छ । उहाँहरुले त्यसको श्रेय पाइरहनु भएको छ । तर बजारमा समयसँगै नयाँ प्लेयरहरु पनि आउँछन् । त्यसले प्रतिस्पर्धा पनि बढ्दै जान्छ ।  

उदाहरणको रुपमा हामीले रेमिट एप ल्यायौं । तर फोनपेको नेटवर्कसँग त्यो इन्टिग्रेट छैन । अर्को तर्फ हामीले मोबाइल बैंकिङमा फोनपेको सिस्टम प्रयोग गरिरेहका छौं ।

यसको अर्थ हाम्रै रेमिट एपका प्रयोगकर्ताले फोनपेको क्यूआरमा स्क्यान गरेर भुक्तानी गर्न पाइरहेका छैनन् । हुन त नेपाल राष्ट्र बैंकले नेपालक्यूआरको अवधारणा ल्याएको छ ।

त्यसमा क्यूआर सिस्टम ल्याउने सेवाप्रदायकहरुले निश्चित मापदण्ड पालना गर्नुपर्ने कुराहरु छन् । अर्को तर्फ कार्डमा पनि त्यस्तै केही समस्याहरु छन् । सेटलमेन्टको नाममा लाखौं रुपैयाँ विदेश गइरहेको छ ।

मानौं मैले एनआईबीएलको एटीएममा कारोबार गरेँ भने त्यो भिषा नेटवर्क हुँदै विदेश गएर आउनुपर्ने हुन्छ । जब कि त्यसको कुनै तुक छैन । हुन त त्यसका लागि नेसनल पेमेन्ट स्वीचको कुरा अगाडि सारिएको छ । आशा गरौं अबको दिनमा त्यसको पनि कुनै समाधान निस्किन्छ । 

चार पाँच वर्ष अगाडि फोन पे खल्ती जस्ता कम्पनीहरुले सिस्टम कतै इन्टिग्रेट गरेका थिएनन् । एउटा निजी कम्पनीको रुपमा काम गरिरहेका थिए । राष्ट्र बैंकले निर्देशिका ल्याएर अनुमतिपत्रको व्यवस्था गरेपछि पीएसपी पीएसओको जिम्मेवारी तय भएको छ ।

तर राष्ट्र बैंकले इन्टिग्रेसको समाधानको रुपमा सबैलाई एउटै छाता मूनी ल्याएर नेसनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ । बैंक मात्रैको डिजिटल ईको सिस्टम बनाएर काम गर्छु भन्दा अबको समयमा सम्भव छैन । 

हुन त फोनपेको राम्रो ग्राहक आधार छ । त्यो सबै सहर केन्द्रीत मात्रै छ । यसले एक प्रकारले डिजिटल डिभाइड (विभेद) को अवस्था पनि सिर्जना भइरहेको छ ।

यस्तो अवस्थामा पीएसपी पीएसओहरुले दुरदराजका जनताका लागि युनिक प्रडक्ट ल्याएर डिजिटल वित्तीय सेवा लैजान सक्नुपर्छ । यो भूमिका राष्ट्र बैंकले तय गरिदिनुपर्छ । 

पीएसपी सेवाप्रदायकहरु धेरै हुँदा बैंकहरुलाई इन्टिग्रेसनमा समस्या आएको हो कि ?

हामी रिभर्स इन्जिनियरको रुपमा काम गरिरहेका छौं । वास्तवमा सुरुमा प्रक्रिया तय गरेर त्यसै अनुरुप नीति बन्नु पर्ने हो । तर हामीले सुरुमा स्टार्टअप सुरु गर्‍याैं र अनि मात्र नियमनको प्रक्रिया थाल्यौं ।

यसबाट कतिलाई लाइसेन्स दिने र प्रक्रिया के हुने भन्ने कुरा पछि आएर मात्र तय भयो । जसले गर्दा अहिलेको भद्रगोल अवस्था सिर्जना भएको हो ।

यो विषय स्टार्टअप सुरु गर्ने मात्र नभएर ग्राहकको पैसासँग सोझै जोडिने कुरा पनि हो । त्यही कुरालाई आत्मसाथ गर्दै राष्ट्र बैंकले अहिले नयाँ पीएसओ पीएसपीको लाइसेन्स जारी गर्न बन्द गरेको छ । अब पीएसपी पीएसओ मर्ज भएर जाने विकल्प पनि दिनुपर्छ । 

त्यसो त फिनटेक कम्पनीहरु हुँदा बैंकिङ क्षेत्रलाई पनि फाइदा पुगेको छ । किन भने उनीहरुले एउटा स्टार्टअपले जसरी सोचिरहेका हुन्छन् । सायद फोनपे, खल्तीहरु नआएको भए बैंकहरुले डिजिटल बैंकिङको रुपमा यतिधेरै प्रडक्टहरु बजारमा ल्याउनुपर्ने आवश्यकता ठान्ने थिएनन् ।

पीएसपी पीएसओहरु समयसँगैको आवश्यकता पनि हुन् । तर अभिभावकत्व बिहीन बालबालिका जस्तो स्थिति उत्पन्न भयो । राष्ट्र बैंकले सबैलाई राम्रोसँग नियमनमा ल्याउन सक्यो र मर्जरको नीति लिन सक्यो भने धेरै पीएसपी पीएसओ हुँदाको अहिलेको समस्या घटेर जान्छ । धेरै सेवाप्रदायक हुँदाको विकृति अन्त्य गर्ने एउटा मात्र विकल्प मर्जर नै हो । 

अबको केही वर्षमा बैंकिङ क्षेत्र कसरी अगाडि बढ्ने देख्नुहुन्छ ? 

राष्ट्र बैंकले बैंकहरुको आम्दानीमा क्याप लगाइसकेको छ । ब्याजदरमा सीमा लगाइएको छ । सीमाभन्दा बाहिर जान पाइँदैन । यस्तोमा नाफाका लागि सेवा बढाउनुपर्ने हुन्छ ।

यसका लागि बैंक आफैंले प्रडक्टहरु बनाउँने भन्दा पनि स्टार्टअप तथा फिनेटक कम्पनीबाट आउने प्रडक्टहरु राम्रा हुन्छन् भन्ने कुरा हामीले अनुभव गरिसकेको विषय हो । पछिल्लो समय हामीले रेमिट एप पनि त्यसै अनुरुप बनाएका हौं । 

अहिले बैंकहरुलाई कमाई गर्नुपर्ने र नाफा बढाउनुपर्ने दबाब छ । यसो हेर्नु भयो भने अहिले एउटा बैंकको डिजिटल बैंकिङ ग्राहक संख्या चार लाख पाँच लाख हुन्छ ।

तर साच्चिकै सक्रिय ग्राहक हेर्नुभयो भने त्यसको १५ देखि २० प्रतिशत मात्रै हुन्छ। अब बैंकहरुलाई बाँकी ८० प्रतिशत ग्राहकलाई पनि कसरी डिजिटल बैंकिङमा ल्याउने भन्ने च्यालेञ्ज छ ।

बैंकहरुका डिजिटल बैंकिङ ग्राहकहरु एक अर्को बैंकमा दोहोरिएको अवस्था निकै धेरै छ । कुनै एउटा बैंकले आकर्षक अफर ल्याउने वित्तिकै ग्राहकहरु त्यतै ओइरिन्छन् ।

फेरी अर्कोले त्यसभन्दा राम्रो अफर ल्याउँदा फेरी त्यतै जाने ग्राहकहरु अहिले डिजिटल बैंकिङमा धेरै देखिन्छन् । त्यसैले झट्ट हेर्दा ग्राहक संख्या राम्रै देखिए पनि प्रायः जसो ग्राहकहरु दोहोरिएका छन् ।

यस्तोमा कुनै युनिक प्रडक्ट ल्याएर दुरदराजमा बैंकिङ सेवा नपुर्‍याएसम्म नयाँ ग्राहक आधार तयार हुँदैन । कोरोना भाइरसको महामारीले ग्राहक संख्या ठीकठीकै मात्रामा बढाए पनि डिजिटल कारोबार भने उल्लेख्य मात्रामा बढेको देखिन्छ ।

महामारीका कारण मेनस्ट्रिमको बैंकिङ सेवा लिने सक्रिय ग्राहक मध्ये ६०/७० प्रतिशत ग्राहकहरुले डिजिटल बैंकिङ सेवा लिएका छन् । त्यस्ता ग्राहकमध्ये धेरैले अहिले पनि डिजिटल बैंकिङलाई निरन्तरता दिइरहेको पनि देखिन्छ । 

अहिले कुनै बैंकको १० लाख ग्राहक छन् भने त्यसमध्ये दुई लाख मात्रै सक्रिय हुन्छन् । बाँकी निष्क्रिय हुन्छन् ।

बैंकले बनिसकेका ८ लाख ग्राहकलाई कसरी सक्रिय धारमा ल्याउने भन्नेमै जोड दिइरहेको हुन्छ । किन भने ग्राहक बनाउँदाको खर्च त्यस हिसाबले निकै कम पर्न जान्छ । नयाँ ग्राहक बनाउनु आफैंमा चुनौतिपूर्ण र खर्चिलो काम हो । हामी यही रणनीतिमा अगाडि बढिरहेका छौं । 

बैंकिङ क्षेत्र पनि तरंगमा बहन थालेको जस्तो देखिन्छ । कुनै बैंकले केही नयाँ गर्‍यो भने अरु बैंक पनि त्यसैको सिको गर्ने प्रवृत्ति छ । 

माछापुच्छ्रे बैंकका आईटी प्रमुख हेमकुमार श्रेष्ठ । तस्वीरः अर्जुन साउद

अबको तीन/चार वर्षमा एटीएम कार्डको प्रयोग हटेर जानसक्ने सम्भावना देख्छु । एटीएममा कार्डलेस कारोबारको अवधारणा प्रयोगमा आउँछ । अब वालेटको पनि भविष्य छैन ।

अहिले २५ हजार रहेको सिलिङ राष्ट्र बैंकले भोलि ५० हजार/एक लाख तोक्ला । त्यो ५० हजार तपाईंले वालेटमा राख्नु भयो भने ब्याज पाउनुहुन्न । तर तपाईंले मोबाइल बैंकिङ प्रयोग गर्नुभयो भने त्यसमा दैनिक रुपमा बैंकिङ ब्याज पाउनुहुन्छ । 

अहिले तपाईंले खल्ती, ईसेवाको रणनीति हेर्नु भयो भने उनीहरुले बैंक बाइन्डिङ गरिरहेका छन् । उनीहरु आफैं वालेटमा खासै केन्द्रीत छैनन् ।

उनीहरुले हरेक बैंकसँग सहकार्य गर्दै गइरहेका छन् । त्यसमा बैंकको खाताबाट सोझै मर्चेन्टको खातामा पैसा जाने मोडालिटी छ । यस्तोमा पैसा वालेटमा लोड गरिराख्नुपर्ने स्थिति नै आउँदैन । 

अहिले ईसेवा, खल्तीले जे सेवा दिइरहेका छन्, कनेक्ट आईपीएसले त्यही सेवा दिइरहेको छ । त्यसमा वालेट लोड गर्नु पनि पर्दैन ।

वालेटमा रकम लोड नगरिकनै अनलाइन कारोबार गर्न सकिने कुरा ग्राहकहरुले बुझिसकेका छन् । त्यसैले उनीहरु बैंक खाताबाटै कारोबार गर्नेगरी कनेक्ट आईपीएसतर्फ आकर्षित भइरहेको देखिन्छ ।

दैनिक ब्याज पनि पाइने, सस्तो समेत पर्ने भएपछि कनेक्ट आईपीएसको सेवाले गर्दा ईसेवा र खल्तीहरुलाई फरक रणनीतिमा अगाडि बढ्न बाध्य बनाइसकेको छ । वालेटमा रकम लोड गरेर त्यहाँबाट भुक्तानी गर्ने कुरा अबको एक डेढ वर्षमा हराएर जान्छ ।

पेमेन्ट कार्डको क्षेत्रमा जुनसुकै कार्ड एक अर्कामा प्रयोग गर्न सकिने अवस्था छ । तर क्यूआरमा त्यो अवस्था छैन । नेपालक्यूआर आइसकेपछि अहिलेको पानी बाराबारको अवस्था अन्त्य भएर जाने विश्वास गर्न सकिन्छ । अब एक अर्कालाई स्वीकार नगर्ने भन्ने अवस्था नरहला । 

बैंकहरुको केवाईसीले ग्राहकहरुलाई अनावश्यक झन्झट थोपरिरहेको जस्तो देखिन्छ । अहिलेको प्रविधिको युगमा त्यसलाई किन व्यवस्थित गर्न नसकिएको होला ?

जबसम्म राष्ट्रिय परिचयपत्र पूर्ण रुपमा कार्यान्वयनमा आउँदैन, यो समस्या समाधान हुन सक्दैन । तपाईंको केवाईसी भेरिफाइड छ र सुस्पष्ट छ भने पनि अर्को बैंकमा जाँदा त्यहाँ पनि तपाईंलाई त्यही कुरा मागिन्छ ।

अहिले यस्तो कुनै पूर्वाधार छैन कि एउटा बैंकको केवाईसी अर्को बैंकले प्रयोग गर्न सकोस् । यसका लागि कन्द्रीकृत प्रणाली नभई हुँदैन ।

केवाईसी ग्राहकका लागि मात्रै झन्झटको विषय होइन । केवाईसी अपडेट गर्न र त्यसको रेकर्ड राख्न बैंकको निकै ठूलो खर्च भइरहेको हुन्छ । सरकारले ल्याएको नागरिक एपमा बैंकहरुलाई एक्सेस दिने हो भने त्यस किसिमका केही झन्झटहरु तत्कालै कम भएर जानसक्ने सम्भावना छ । 

बैंकहरुका लागि डेटा सेक्युरिटी कत्तिको चुनौतिपूर्ण बन्दै गएको छ ?

अब डेटा राख्ने विषय लागतको कुरा पनि हो । बैंकसँग हुने डेटा आफ्नै डेटा सेन्टर बनाएर होस्ट गर्दा र गुगलको क्लाउड प्रयोग गर्दाको लागत कति ? अहिले १० लाख ग्राहकको डेटा होला ।

भोलि ५० लाख ग्राहक हुँदा उनीहरुको डेटा स्टोर गरेर राख्न निकै धेरै लागत पर्न जान्छ । आज नभए भोलि त हामी आउटसोर्स मोडालिटीमा जानै पर्छ ।

किन भने जुन रुपमा गुगल, अमेजन वा अलिबाबाले डेटा सेक्युरिटीका लागि खर्च गरेका छन्, त्यति खर्च गर्न माछापुच्छ्रे बैंकले सक्दैन । अब डेटा कहाँ स्टोर गरिएको छ भन्दा पनि कुन स्ट्याण्डर्डको डेटा सेन्टरमा राखिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।  

प्रविधिको प्रयोग बढ्दै जाँदा बैंकिङ क्षेत्रको खर्च कटौतीमा राम्रै सहयोग पुगेको होला नि हैन ?

अहिले बैंकहरुलाई बैंक शाखाको आकार घटाउने र त्यसमा रहने मानवीय जनशक्ति कम गर्दै लैजाने चुनौति छ । अब बैंकहरुलाई कमाउने बाटोभन्दा पनि खर्च गर्ने बाटो एकदमै धेरै बढेको छ ।

अन्ततः बैंकको कुरा पनि कति नाफा भयो भन्ने नै हो । नाफा बढाउन खर्च घटाउनै पर्छ । त्यसका लागि हामी अहिले शाखारहीत बैंकिङमा गइरहेका छौं ।

हामीसँग २०० को हाराहारीमा ब्राञ्चलेस बैंकिङ ग्राहक सेवाकेन्द्र छन् । जहाँ एउटा एजेन्ट नियक्त गर्छौं र त्यहीँबाट ग्राहकले कारोबार गर्न सक्नुहुन्छ ।

त्यस बाहेक मानवीय जनशक्तिको उपस्थिति बिना नै किओक्स राखेर अथवा सेल्फ सर्भिस बैंकिङमा जाने कुरा हुनसक्छ । तर त्यो कुरा तत्कालै नहुन सक्ला ।

अबको केही वर्ष जनशक्ति र मसिनलाई सँगसँगै प्रयोग गरेर जानुपर्ने हुन्छ । समग्र रुपमा अटोमेसनमा जान भने अझ थुप्रै समय लाग्छ । 

एउटा पाटो ग्राहकसँग सम्बन्धित भुक्तानी र डिजिटाइजेसनको कुरा हुन्छ । अर्को कुरा बैंकभित्र जति पनि प्रक्रियाहरु हुन्छन्, त्यसलाई विस्तारै अटोमेसन गर्दै लगिरहेका छौं ।

त्यसमा प्रोसेस अटोमेसन, बिल अटोमेसन, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम आदि छन् । प्रविधिले जनशक्तिमा हुने खर्च मात्र नभएर स्टेसनरी, विद्तयुत लगायतका खर्च पनि घटेका छन् ।

यसरी आन्तरिक बैंकिङ क्षेत्रको रिइन्जिनियरिङ भइरहेको छ । आजको दिनसम्म आइपुग्दा समग्र जनशक्तिमा हुने खर्च त्यति उल्लेख रुपमा घटेको देखिँदैन ।

तर अहिले जसरी हामीले प्रविधिमा काम गरिरहेका छौं, त्यसबाट अबको दुई चार वर्षमा मानव संसाधन र प्रशासनिक खर्च उल्लेख रुपमा घटेर जान्छ । नयाँ सिस्टम ल्याउनु त्यति ठूलो विषय नभए पनि त्यसलाई प्रयोगकर्ताबीच स्वीकार योग्य बनाउन तथा अभ्यस्त पार्नु निकै ठूलो चुनौतिको विषय हुँदो रहेछ ।  

बैकिङ संस्थाहरु अबको समयमा परम्परागत बैंकको रुपमा मात्र नभएर एउटा फिनटेकको रुपमा अगाडि जानुपर्छ । आईटी भनेको बैंकको एउटा पाटो मात्र नभएर अब समग्र बैंक नै आईटीले चलाउनुपर्ने स्थिति बनिकसकेको छ । त्यसो त  अन्य खालका व्यवसाय पनि आईटीबाटै चलाउनुपर्ने समय आइसकेको छ । 

अहिले बैंकिङ क्षेत्रमा काम गर्ने जनशक्तिमध्ये आईटी पृष्ठभूमिको संख्या कति छ ? 

आईटीको काम गर्न आईटी पढेकै हुनुपर्छ भन्ने छैन । चाहेर वा नचाहेर सबै कुरा डिजिटाइज हुँदै गइरहेको छ । पहिला जस्तो ढड्डा सिस्टम अब रहेन ।

कोर बैंकिङ सिस्टम चलाउन जान्नै पर्‍यो । ईमेल प्रयोग गर्न सक्नै पर्‍यो । २० वर्ष पुराना स्टाफहरु बैंकमा अहिले पनि काम गरिरहेका छन् ।

बैंकले नयाँ नयाँ प्रविधिहरु ल्याइरहेको छ । यस्तोमा चाहेर वा नचाहेर आईटीको थोर बहुत ज्ञान त लिनै पर्ने हुन्छ ।

अब बैंकिङ क्षेत्रमा क्षेत्रमा टिक्नु छ भने केही न केही आईटीको ज्ञान हुनैपर्छ । बैंक मात्र होइन अन्य क्षेत्रमा पनि क्रमशः यही किसिमको अवस्था आउँदैछ ।

‘बर्न डिजिटल’ (१९९० पछिको डिजिटल प्रविधिसँगै हुर्किएको पुस्ता) लाई सायद त्यति धेरै समस्या नहोला । तर त्यस अघिको पुस्तालाई यसले केही गाह्रो त हुन्छ ।

अहिले बजारमा आईटी मात्र नभएर व्यवस्थापन र आईटी दुवै किसिमको मिश्रित कोर्ष अध्ययन गरेका जनशक्तिहरुको पनि धेरै मात्रामा तयार भइरहेका छन् । अहिलेको अवस्थामा हाम्रो बैंकमा करिब २० प्रतिशत जनशक्ति आईटी पृष्ठभूमिका छन् ।