close

दराजका पूर्व एमडी भन्छन्ः नेपालमा ई–कमर्स सम्बन्धी नियम जरुरी छ*

गोपाल साउद गोपाल साउद

माघ ९, २०७८ १८:१७

दराजका पूर्व एमडी भन्छन्ः नेपालमा ई–कमर्स सम्बन्धी नियम जरुरी छ*

सन २०१८ को सेप्टेम्बरमा प्रमुख व्यावसायिक अधिकृतको रुपमा दराज नेपालमा आएका जर्मन नागरिक लिनो अलरिङले त्यसको चार महिनापछि कम्पनीको प्रबन्ध निर्देशक बने । करिब सवा तीन वर्ष दराज नेपालको कार्यकारी प्रमुखको रुपमा भूमिका निर्वाह गरेका उनी अमेजनकी पूर्व कर्मचारी आँचल कुँवरलाई आफ्नो जिम्मेवारी सुम्पिएर बिदा हुँदैछन् । नेपालको मुख्य ई-कमर्स कम्पनीको रुपमा रहेको दराजमा अलरिङले यो साढे तीन वर्षको अवधिमा गरेको अनुभव तथा भोगाइ, नेपालको ई–कमर्स उद्योगको अवस्था, नीतिगत कठिनाइ र उनको आगामी यात्राको विषयमा टेकपानाका लागि गोपाल साउदले  गरेको कुराकानीको अनुवादित एवम् सम्पादित सार । 

दराज नेपालको प्रबन्ध निर्देशकको रुपमा साढे तीन वर्षीय कार्यकाल सकाएर जाँदै हुनुहुन्छ । आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

सायद, मैले आफ्नो कार्यकाल आफैँले मूल्याङ्कन गर्नु ठीक हुँदैन । मलाई लाग्छ, अरुले यसको मूल्याङ्कन गर्दा उपयुक्त हुन्छ होला । तर पनि मैले भन्नुपर्दा मेरो साढे तीन वर्षे कार्यकाल रोमाञ्चक रह्यो भन्ने गरेको छु ।

किनकी हाम्रो यात्रा एकदमै द्रुत थियो र यो बीचमा आएको महामारीले धेरै कुरामा फरक पार्‍यो । तर, महामारीको बेलामा पनि हाम्रो जस्ता उद्योगहरू फस्टाएका कारण यसलाई म सुखद् संयोग मान्छु ।

महामारीको बेलामा पनि बिक्रेताहरूलाई अनलाइनमा ल्याएर उपभोक्ताले खोजेको सामान दिलाउनु हाम्रो जिम्मेवारी थियो । यो बीचमा धेरै कुरा परिवर्तन भएको हामीले देखेका छौँ ।

अलिबाबाले दराज सुरु गर्दा यो स्टार्टअप चरित्रको थियो । सानो टिम थियो, सानो अफिस थियो । तर, अहिले हामी स्टार्टअप रहेनौँ । अहिले हामी हरेक घरघरमा सुनिने नाम बन्ने क्रममा छौँ ।

अहिले एक हजार बढी जनाको टिम भएको ठूलो कम्पनी बनेका छौँ । हामीसँगै हाम्रो प्लेटफर्ममा जोडिनु भएकाहरूमा पनि ठूलो परिवर्तन आएको छ । सुरुमा लजिस्टिक एकदमै गाह्रो थियो । तर, अहिले धेरै कुरामा परिवर्तन आएको छ ।

लजिस्टिक उद्योगमा पनि धेरै डिजिटलाइजेसन भएको छ । बिक्रेताहरूमा पनि धेरै सुधार देखिएको छ, यो सुधारको क्रम अझै बाँकी छ । तीन वर्ष अघिको तुलनामा अहिले धेरै सुधार भएको छ ।

तीन वर्ष अघि एक सय अर्डरमा ५० वटा अर्डर मात्रै पूर्ण रुपमा डेलिभरी हुन्थे । तर अहिले यो अवस्था ८० प्रतिशत पुगेको छ र उपभोक्ताले फिर्ता गर्ने दर पनि एक प्रतिशत मात्रै छ ।

यो दर पहिला निकै धेरै थियो । यसकारण धेरै पक्षमा हामीले सुधार गरेका छौँ । पेमेन्टको पक्षमा पनि धेरै सुधार भएको छ । सन् २०१९ सम्ममा पनि शतप्रतिशत क्यास अन डेलिभरी (सामान पुर्‍याएपछि नगद दिने) को अवस्था थियो भने दुई वर्षको अवधिमा ५० प्रतिशत डिजिटल पेमेन्ट हुन थालेको छ ।

यो अवधिमा हाम्रो टिम पनि ठूलो हुँदै गएको छ भने पेमेन्ट पनि डिजिटल हुँदै गएको छ । यसले हाम्रो प्लेटफर्मलाई फाइदा पुगेको छ । समग्रमा भन्नुपर्दा यो अवधि साह्रै राम्रो रह्यो ।

कति जना त मैले काम सुरु गरेदेखि नै वा कम्पनी सुरु भएदेखि नै यहाँ हुनुहुन्छ, यसलाई पनि निकै राम्रो पक्ष मान्छु । मलाई लाग्छ, हामीले हासिल गर्नुपर्ने उपलब्धि अझै धेरै बाँकी छ ।

तपाईंले आफ्नो कार्यकालमा धेरै पक्षमा सुधार भएको त भन्नु भयो । तर समग्र ई–कमर्स उद्योगको लागि के यो पर्याप्त छ त ?

छैन, यो पर्याप्त छैन । यो त सुरुवात मात्रै हो । नयाँ पुस्ताले अनलाइनमा किनमेल गर्न थालेको छ । यससँगै अनलाइनमा अभ्यस्त हुनेहरूको सङ्ख्या बढ्दै जानेछ ।

कोभिडको बेलामा पनि अनलाइन किनमेलले फाइदा पुर्‍याएका कारण सरकारले पनि कुनै दिन अनलाइन किनमेलको विषयमा बोल्नेछ । यसका साथै, नयाँ पुस्ताले किनमेलको यो मोडलमा विश्वास गर्न थाल्नेछ ।

सुरुमा हाम्रो टिमले मात्रै अनलाइन किनमेलमा पूर्ण विश्वास गरेको थियो होला । त्यसपछि उनीहरूको परिवार र साथीभाइ हुँदै यसको विश्वसनीयता बढ्दै गयो । यससँगै मैले सहरी क्षेत्रमा अनलाइन किनमेल प्रतिको विश्वास बढ्दै गएको देखेको छु ।

सहर बाहिर पनि यो विश्वास बढ्दै गएको छ । अहिले हुने अर्डर मध्ये ५० प्रतिशत भन्दा कम अर्डर मात्रै काठमाडौंबाट आउँछ । यसकारणले गर्दा, धेरै प्रयोगकर्ताको व्यवहार परिवर्तन हुँदै गएको छ ।

तै पनि हामीले अझैँ लामो यात्रा तय गर्नुछ । देशका हरेक उपभोक्ताको लागि अनलाइन किनमेल पहुँचयुक्त बनाउन हामीले अझै धेरै काम गर्न बाँकी छ ।

तपाईंले दराजको त कुरा गर्नुभयो । तर, तपाईंको बिचारमा दराज बाहेक नेपालका अन्य ई-कमर्सले कस्तो गरिरहेका छन् ? उनीहरू सही दिशामा अगाडि बढिरहेका छन् ? 

हामीले यो विषयमा पहिला पनि कुरा गरेका थियौँ । कोभिडको समयमा धेरै कम्पनी आए र हराए पनि । किनकी उनीहरूले यो उद्योगमा धेरै लगानी गर्नुपर्ने र सुरुमा मुनाफा नहुने बुझे ।

यो सोचेजस्तो सजिलो छैन । तर, केही कम्पनी यस्ता पनि छन्, जसले निकै राम्रो गरिरहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय लगानी पनि भित्र्याएका छन् । तर, अरु कम्पनीले राम्रो गरे भने हामीलाई चिन्ता हुँदैन । यो क्षेत्र वृद्धि भएको हामीलाई मन पर्छ ।

प्रतिस्पर्धा हुनु उपभोक्ताको लागि पनि राम्रो हो । हाम्रो टिमको लागि पनि राम्रो हो । किनकी यसले आफूलाई थप प्रेरित गराउँछ । तर, मेरो व्यक्तिगत विचारमा हामीले पाएको सफलताका कारण अन्य कम्पनीसँग हाम्रो दूरी बढ्दैछ ।

हामीले उपभोक्ताको अनुभव राम्रो बनाउनको लागि ठूलो लगानी गरेका छौँ । तर, मलाई प्रतिस्पर्धा मन पर्छ । नेपालमा थप प्रत्यक्ष वैदेशिक लगानीसहितका ई–कमर्स आएको मन पर्छ । यसले समग्र ई–कमर्स उद्योगलाई नै राम्रो बनाउँछ ।

मलाई लाग्छ, यहाँ सोचेजस्तो प्रतिस्पर्धा छैन । उदाहरणको लागि बङ्गलादेशमा हामीलाई अन्य धेरै कम्पनीले टक्कर दिइरहेका छन् । श्रीलङ्कामा पनि थुप्रै प्रतिस्पर्धी छन् । त्यहाँ हामी जतिबेला पनि चनाखो भएर बस्नुपर्छ र सही मौकामा उचित निर्णय लिनुपर्छ ।

त्यसकारण, यहाँ अझै पनि धेरै कम्पनीहरू आए भने राम्रो हुन्छ । हुन सक्छ, कुनै होम अप्लायन्स मात्रै वा इलेक्ट्रोनिक्स सामान मात्रै बेच्ने कम्पनी । प्रतिस्पर्धा नभए पनि अनलाइन किनमेल अंगीकार गर्ने दर यहाँ निकै राम्रो छ ।

उपभोक्ताहरू छिटो र निकै सचेत छन् । उनीहरूलाई भारतमा फ्लिपकार्ट र अमेजनले के गरिरहेका छन् भन्ने पनि जानकारी हुन्छ । त्यसकारणले अन्तर्राष्ट्रिय लगानीकर्ताले पनि यो सम्भावनाको सदुपयोग गर्न सक्छन् ।

यो भन्दा पनि महत्त्वपूर्ण कुरा, यहाँ लगानीको लागि सहज बनाउने जिम्मेवारी नियामक निकायको पनि हो । यहाँ स्मार्ट मानिसहरू छन्, तीन करोड जनसङ्ख्या छ ।

तर, नेपालमा कसरी विदेशी लगानीकर्ता भित्रिने भन्ने कुरा चाहिँ अलि अप्ठ्यारो छ । यहाँ नीति परिवर्तन भएको र विदेशी लगानी भित्रिन सहज भएको सुन्न चाहन्छु ।

नेपालमा ई–कमर्स उद्योगको लागि सही किसिमको नीति छैन नि होइन ? 

अहिले त हामीसँग (नेपालसँग) कुनै नीति नै छैन । नीति आउनु पर्छ । जति चाँडो आयो राम्रो । केही कुरामा नियामकले हामीलाई कडाइ पनि गरिरहेको छ ।

तर हामी यहाँ उपभोक्तालाई नराम्रो गर्न आएका होइनौँ । उपभोक्तालाई राम्रो अनुभूति गराउनु नै हाम्रो स्वार्थ हो । यसो गर्दा उपभोक्ता मात्रै होइन, बिक्रेतातर्फ पनि ध्यान दिनुपर्छ । सधैँ बिक्रेता मात्रै गलत हुन्छन् भन्ने छैन ।

कहिलेकाँही नियोजित ठगी पनि हुन सक्छ । यसकारण, उपभोक्तालाई संरक्षण गरेजस्तै बिक्रेतालाई पनि संरक्षण गर्नुपर्छ । मलाई लाग्छ, यसको लागि ई–कमर्स नीति आउनु पर्छ । मन्त्रालयले दुई वर्ष अघि यसलाई अघि बढाएको भए पनि सरकार परिवर्तन पछि यो काम रोकिएको छ ।

मलाई विश्वास छ, यो काम चाँडै अघि बढ्नेछ । नीति आएपछि यो उद्योग क्षेत्रमा लाग्ने सबैको संरक्षण हुनेछ । नीतिले दर्ताको लागि कहाँ जाने ?, सामान फिर्ता गर्नको लागि के नीति लिनुपर्छ भन्ने प्रष्ट पार्छ ।

फेसबुक र इन्स्टाग्रामबाट सामान बिक्री गर्नेहरूले गरेको ठगीका घटनाले हामीलाई पनि असर पार्छ । यस्ता घटनाले ई–कमर्स प्रतिको विश्वास कम गर्छ ।

यसकारण नीति निर्माणको लागि हामीले पनि सरकारसँग सहकार्य गरेका छौँ । हामीले अन्य कम्पनीसँग मिलेर ई-बिजनेस एसोसिएसन पनि बनाएका छौँ ।

तपाईँले ई-कमर्स कम्पनीको नेतृत्वको रुपमा कोभिडका दुई ओटा लहर भोग्नुभयो । कोभिडको बेलामा ई-कमर्स उद्योगलाई स्तरोन्नति गर्न र त्यसलाई व्यवसाय वृद्धिको अवसरको रुपमा दराजले कसरी उपयोग गर्‍यो ? आफ्नो अनुभव बताइदिनुहोस् न ? 

अवश्य पनि, अहिले कोभिडको तेस्रो लहर सुरु भइसकेको छ । यसले हामीलाई राम्रो तयारी गर्न पनि सिकाएको छ । मलाई लाग्छ, हरेक लकडाउन र कोभिडको लहरमा हामीले केही न केही नयाँ कुरा सिकेका छौँ ।

सुरुमा देशको लागि र हाम्रो लागि पनि निकै असहज स्थिति थियो । त्यो बेलामा हामीले के गर्न सक्छौँ भनेर सोच्यौँ । त्यो बेलामा हामीले बिगमार्टसँगको सहकार्यमा किराना सामानको डेलिभरी गर्न सुरु गर्‍यौँ र अत्यावश्यक भएका मानिसले त्यसको उपभोग गरे ।

त्यो हाम्रो लागि गौरवको क्षण थियो । किनकी हामीले आवश्यक सामान डेलिभरी गरेर मानिसलाई घरभित्रै बस्न सक्ने वातावरण तयार पार्यौँ । तर, परिस्थिति केही जटिल पनि बन्यो ।

किनकी लकडाउनमा नियम कडा पारिएको थियो । तै पनि मानिसहरूले ई-कमर्सलाई विश्वास गरे । हामीले बिक्रेतालाई पनि अनलाइनमार्फत बिक्री गर्नको लागि प्रेरित गर्यौँ र उपभोक्तालाई पनि अनलाइन किनमेलको लागि आश्वस्त पार्यौँ ।

यसले गर्दा धेरैलाई ई-कमर्सको बारेमा सोच्न बाध्य पार्‍यो । जुन त्यसअघि भएकै थिएन । मैले भन्ने गरेको छु, लकडाउन हामीले सदुपयोग गर्नुपर्ने ठूलो अवसर थियो ।

यो पनि पढ्नुहोस्;

‘स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित हुने सोच छ’, दराजका प्रबन्ध निर्देशकको अन्तर्वार्ता

हामीले त्यो बेलामा टिमलाई बलियो बनायौँ, अनलाइनमा थप बिक्रेतालाई भित्र्यौँ, हामीलाई कमिसन नदिई बिक्री गर्न सकिने वातावरण बनायौँ । हामीले सहयात्री कार्यक्रम पनि सुरुवात गरेका थियौँ, जसमा बिक्रेताले पहिलो ६ महिना हामीलाई कमिसन दिनु पर्दैन थियो । बिक्रेतालाई पनि छुट दियौँ ।

उपभोक्तालाई राम्रो अनुभव दिने र प्रोत्साहित गर्ने दुवै काम गर्नुपर्ने थियो । सुरुमा हामीले अनलाइन किनमेल गर्नको लागि प्रोत्साहित गर्यौँ र त्यसपछि उनीहरूलाई राम्रो अनुभव प्रदान गर्ने विषयमा पनि ध्यान दियौँ ।

मलाई लाग्छ, यी दुई तत्वले विश्वास बनाउन मद्दत गर्छ । हामीले ई-कमर्सलाई थप राम्रो बनाउनको लागि अवसरको सदुपयोग गर्यौँ । मलाई लाग्छ, सङ्ख्याले पनि यो कुरालाई पुष्टि गर्छ । सुरुमा करिब एक सय बिक्रेताबाट अहिले १५ हजार बिक्रेता बनाएका छौँ ।

दराजमा एक लाख सामानबाट अहिले १३ लाख सामान पुर्‍याएका छौँ । नोभेम्बर ११ (दराज ११.११) को सेलमा पनि हामीले एकै दिन ३६ करोड रुपैयाँको कारोबार गर्‍यौँ । यद्यपि, त्यो हाम्रो बिक्री होइन, हाम्रा बिक्रेताले गरेको बिक्री हो ।

यो सङ्ख्याले पनि कोभिडले ई-कमर्सको बढोत्तरीमा सहयोग गरेको देखिन्छ । हामीले त्यो अवसरको सदुपयोग पनि गर्यौँ । तर, हामी कोभिड रहोस् भन्ने चाहदैनौँ, यो प्रष्ट छ ।

नेपालमा दराजको नेतृत्व गर्दाको अनुभव त सुन्यौँ । अब तपाईंको आगामी योजनाबारे पनि बताइदिनुहोस् न ? 

मैले दराजमा रहेर पाकिस्तान, बङ्गलादेशमा रहेर प्रोजेक्ट म्यानेजरको भूमिकामा काम गरेँ र सन् २०१८ मा नेपाल आएँ । मैले यो अवसर पाउनु गर्वको कुरा हो भनेर आफ्नो टिमलाई पनि भन्ने गरेका छु ।

मैले पछिल्लो दुई वर्षदेखि नेपाल छाडेको छैन र एकदमै रमाइलो मानिरहेको छु । यहाँको टिमसँग रहेर यो परिवर्तनको साक्षी बन्न पाउनु एकदमै महत्त्वपूर्ण अवसर हो ।

म चाहिँ अब दराजको सिङ्गापुरस्थित हेडक्वार्टरमा काम गर्न जाँदैछु । त्यहाँ रहेर पाँच देशमा रहेका दराजका उपभोक्ताको अनुभव सुधार्ने कामको जिम्मेवारी लिँदैछु ।

नेपालमा रहेर तपाईँले धेरै कुरा देख्नुभयो । यहाँको कानुन, नीतिका साथै सन्दर्भ पनि बुझ्नुभयो । उदाउँदा ई–कमर्स र स्टार्टअपका लागि तपाईँका केही सुझाव छन् ? 

उहाँहरूलाई तुलनात्मक लाभको क्षेत्र छान्नुहोस् भन्छु म । किनकी यसले प्रभाव पार्छ । यहाँ सम्भावनाका धेरै क्षेत्र छन् । हिजै मात्र एक जना लगानीकर्ताले यहाँ आउँदा कुन क्षेत्रमा लगानी गर्ने होला भनेर सोध्दै हुनुहुन्थ्यो ।

तर, लजिस्टिक र फुड डेलिभरीको क्षेत्रमा पनि धेरै सम्भावना छ । ई-कमर्ससँग जोडिन अन्य क्षेत्रमा पनि धेरै सम्भावना छन् । हामी डिजिटल युगको सुरुवाती चरणमा छौँ ।

थोरै पूँजी भएकाहरूलाई अनलाइन मार्केटप्लेसमा लाग्न म सुझाव दिन्न । तपाईंसँग प्रशस्त पूँजी छ भने मात्रै अनलाइन मार्केटप्लेसमा हात हाल्नुहोला, यो सञ्चालनको लागि निकै महंगो छ । यो दीर्घकालिन लगानी हो ।

तर, हामीले काम गर्नुपर्ने धेरै कम्पनी र सरोकारवाला छन् । जस्तैः भुक्तानी सेवा प्रदायक । त्यसमा पनि धेरै सम्भावना छ । यो क्षेत्रमा अन्य देशमा के भइरहेका छन् भनेर हेर्नुभयो पनि धेरै कुरा थाहा हुन्छ ।

तपाईँले अरुले गरेको कामलाई पनि स्थानीयकरण गर्न सक्नुहोस् । मेहनती टिम बनाउनुहोस् र अल्पकालीन नाफा होइन, दीर्घकालिक प्रभाव खोज्ने लगानीकर्ता खोज्नुहोस् । यहाँ धेरै सम्भावना छन् ।

तपाईँको स्थानमा आउनु भएको नयाँ प्रबन्ध निर्देशक आँचल कुँवरलाई पनि केही सुझाव छन् कि ?

 हामीले दुई सातादेखि सँगै काम गरिरहेको छौँ । हाम्रा धेरै विचारहरू समान छन् । आँचलसँग स्थानीय सन्दर्भको जानकारी छ, जुन मलाई कहिल्यै थाहा हुँदैन । यो पक्षले पनि दराजलाई निकै फाइदा पुग्छ । कुनै समयमा विदेशी दृष्टिकोण ठीक हुन्छ ।

तर, आँचलसँग विदेशी र स्वदेशी दुवै दृष्टिकोण छ । उनले अमेजनमा रहेर धेरै देशमा काम गरिसकेकी छन् । साथै, उनीसँग स्थानीय सन्दर्भको ज्ञान पनि छ । त्यसकारण, मैले उनलाई कुनै सुझाव दिनुपर्छ भन्ने मलाई लाग्दैन ।

दराजको नेतृत्व परिवर्तन भएसँगै यसको रिब्रान्डिङ पनि भइरहेको छ । यो संयोग मात्रै हो वा अरु केही हो ? 

यो संयोग मात्रै हो । सुरुमा दराजलाई अलिबाबा ग्रुपले किन्दा हामीलाई त्यसैमा गर्व थियो । तर, दराजले अहिले आफ्नै ब्रान्ड बनाएको छ । यो आफैँमा बच्चाबाट वयस्क बन्दै छ ।

दराजले अहिले स्वतन्त्र कम्पनीको परिचय बनाइसकेको छ । हामीले अलिबाबा ग्रुपको छायाँबाट निस्किएको र आफ्नै फरक पहिचानको सन्देश दिन खोजेका थियौँ ।

*अन्तर्वार्ताको शीर्षक परिवर्तन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२