काठमाडाैं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल राखिने भएको छ । नेपालको सुन्दर यातायात प्रालिसँग सहकार्य गरेर चीनको बीएके र एलडी मोटर्स कम्पनीले एसेम्बल प्लान्ट राख्ने भएका हुन् ।
नेपालमा एसेम्बल प्लान्ट राखेपछि एउटा विद्युतीय बसमा करिब ५० लाखसम्म सस्तो पर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । तर एसेम्बल प्लान्ट राख्न उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट ढिलाइ भइरहेको अध्यक्ष थापाको भनाइ छ ।
उनले भने, “प्रधानमन्त्रीले पटक–पटक बोल्नुभएको छ । उहाँले चासो पनि दिनुभएको छ । त्यहीअनुसार हामीले मोतीपुरमा एसेम्बल प्लान्टको तयारी गरेका हौं । तर जग्गा उपलब्धलगायतका काममा ढिलाइ भइरहेको छ । सरोकारवाला निकायले छिटो पहल गरिदिनुपर्यो ।”