close

कस्तो फोन किन्ने ?

टेकपाना टेकपाना

चैत २०, २०७७ १५:५६

कस्तो फोन किन्ने ?

काठमाडौं । काठमाडौं । स्मार्ट जीवनका लागि स्मार्टफोन अपरिहार्य बनिसकेको छ । यसको अनुपस्थितिमा मानिस केही नसोच्ने भएका छन् । शहरमा मात्रै होइन गाउँ-गाउँमा बस्ने मानिसहरु मोबाइलसँगै आफ्नो दैनिकी अघि बढाइरहेका छन् ।

यसर्थ मोबाइलको माग उच्च भएसँगै थरीथरीका ब्राण्डले आफ्नो बजार बढाउन थालेका छन् । नेपाली बजारमा सामसङ, साओमी, वानप्लस, एप्पल, ओप्पो, रियलमी, नोकिया, ह्वावे लगायतका स्मार्टफोन बढी बिक्री हुने गरेका छन् ।

यसकारण स्मार्टफोन किन्दै हुनुहुन्छ भने ब्राण्ड हाेइन, सबैभन्दा पहिले आफ्नो आवश्यकता र प्राथमिकतालाई ख्याल गर्नुहाेस् ।

स्मार्टफोनको प्रयोग वास्तविक रुपमा हरेक दिन कुन प्रयोजनका लागि कसरी प्रयोग गर्ने भन्ने विषय नियाल्न जरुरी छ । सामाजिक सञ्जाल चलाउनकै लागि मात्र हो भने थाेरै हजार तिरेर पनि नयाँ स्मार्टफोन किन्न सकिन्छ ।

यदि मोबाइल गेममा विशेष रुचि छ र एकदमै ‘स्मुथ’ किसिमले गेमको आनन्द लिन चाहनुभएको छ भने बजेट र चाहना अनुसारका मिडरेञ्जदेखि फ्ल्यागशिप फाेनहरू किन्न सकिने विकल्प छ ।

तर जुनसुकै स्मार्टफाेन किन्नुअघि पनि तपाईंले केही कुरामा ध्यान पुर्‍याउन जरुरी हुन्छ । हरेक साता नेपाली बजारमा कुनै न कुनै नयाँ स्मार्टफोन सार्वजनिक भइरहेकै हुन्छ ।

धेरैजसो प्रयोगकर्ताहरु पछिल्लो मोडलको स्मार्टफोन नै खरिद गर्न चाहिरहेका हुन्छन् । यसो गर्नुलाई नराम्रो मान्न त सकिन्न । तर हरेक नयाँ डिभाइसहरु केही समयको अन्तरालमै काफी रुपमा सस्तो मूल्यमा आउन थाल्छन् । डिभाइसका पार्टस समयसँगै सस्तो हुँदै जान्छन् ।

जसले गर्दा मूल्य सस्तो मात्रै होइन सँगसँगै आकर्षक अफर पनि प्राप्त गर्न सकिन्छ । एक वर्षअघि सार्वजनिक भएको फोन खरिद गर्नु कुनै नराम्रो निर्णय होइन । अर्काेतिर पुरानाे फाेनमा पनि निरन्तर अपडेट प्राप्त गरिरहनु भएकाे छ भने नयाँ फाेन जरूरी नहुन पनि सक्छ ।

तपाईं एण्ड्रोइड मोबाइल खरिद गर्दै हुनुहुन्छ भने, बजारमा गुगल सफ्टवेयरका विभिन्न भर्सनपिच्छेका अनेकौं मोबाइल उपलब्ध छन् । नयाँ स्मार्टफोन खरीद गर्नुपूर्व पछिल्ला एण्ड्रोइड भर्सनको भिन्नता जान्न जरुरी छ ।

ललिपप, मार्सम्यालो, नौगाट, ओरियो, पाई, क्यू जस्ता पछिल्ला एण्ड्रोइड भर्सन भएका स्मार्टफाेन बजारमा भित्रिसकेकाे छ । नयाँ अपरेटिङ सिस्टम एन्ड्राेइड ११ पनि बजारमा आइसकेको छ ।

नयाँ र परिमार्जित एन्ड्राेइड भर्सनमा प्रयाेगकर्ताका लागि धेरै सुविधासँगै सुरक्षा प्रदान गरिएकाे छ । त्यसैगरी एन्ड्रोइड बाहेकका स्मार्टफोन किन्दा पनि सकभर पछिल्लो अपरेटिङ सिस्टम भएका फोन नै छान्नु उत्तम हुन्छ ।

त्यस्तै स्मार्टफोनको कुरा आउँदा सुरुमा दिमागमा एप्पल र सामसङ जस्ता ब्राण्डकै नाम दिमागमा आउँछ । तर यिनै ब्राण्डका फोन मात्र खरिद गर्नुपर्ने कुनै जरुरी छैन ।

अन्य कम्पनीले समेत कम मूल्यमा शक्तिशाली फिचर भएका स्मार्टफोन ल्याइरहेका हुन्छन् । यस्तोमा कुनै पनि विश्वसनीय ब्राण्ड तपाईंले रोज्न सक्नुहुन्छ ।

अर्काेतर्फ अक्सर मानिसहरु फोनको कुन स्क्रिन राम्रो छ भन्ने विषयलाई लिएर दुविधामा हुन्छन्, एलसीडी वा एमोलेड । एलसीडी डिस्प्लेमा ब्राइटनेस बढी हुने गर्दछ ।

तर एमोलेड प्यानलले ब्याट्रीको बचत गर्दछ । साथै यसमा कलर समेत निकै राम्रो देखिन्छ । यस्तोमा यदि एलसीडी तथा एमोलेड मध्येबाट कुनै एउटा छनौट गर्नु पर्ने अवस्था छ भने सधैं एमोलेड नै रोज्नुहोस् ।

सैद्धान्तिक रुपमा एलसीडी स्क्रिन चम्किलो र सूर्यको सोझो प्रकाशमा हेर्न उत्तम मानिन्छ । जब कि एमोलेड डिस्प्लेचाहिँ तिखो प्रकाश र सीमित रङ्ग भएको अवस्थाका लागि उपयुक्त मानिन्छ ।

तर, नयाँ प्रविधिको आगमनसँगै दुवै किसिमका डिस्प्लेबीचको भिन्नता कम महत्वको विषय बन्दै गएको छ । तस्वीरका लागि फुल एचडी तथा क्यू एचडी रिजोलुशन लगभग त्रुटिरहित मान्न सकिन्छ ।

अर्काेतर्फ फोन खरिद गर्दा प्रोसेसरमा ध्यान दिन अत्यन्तै महत्वपूर्ण हुन्छ । बजारमा क्वालकम, मिडियाटेक हेलियो, एप्पल बिओनी, एक्सिनस, किरिन जस्ता कम्पनीका प्रोसेसर उपलब्ध छन् । तर यी प्रोसेसरका नामको साटो चिपको आधारमा ध्यान दिन जरुरी छ ।

यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने चिपको आकार जति सानो हुन्छ, त्यसको पर्फर्मेन्स त्यति नै राम्रो हुन्छ । चिपको साइजलाई नानो मिटरमा नाप्ने गरिन्छ ।

यो १२ एनएम, ८ एनएम, ५ एनएम जस्ता साइजमा चिप आउने गर्दछ । यस्तोमा तपाईंलाई १२ एनएमको साटो ८ एनएम वा ७ एनएम चिप भएको स्मार्टफोन सही रोजाइ हुन्छ ।

यदि महंगो स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने ५ एनएम चिपसेट भएको स्मार्टफोन खरिद गर्दा उपयुक्त हुन्छ ।

अर्काेतर्फ अहिले तपाईंले प्रयोग गरिरहेको पुरानो मोबाइलमा भएको स्पेस थोरै भएको अनुभूति गर्नुभएको छ र त्यसको विस्तार गर्न चाहनुभएक हो भने स्मार्टफोनमा रहेको र्‍याम र आन्तरिक ममोरी राम्रोसँग जाँच गर्नुस् ।

स्टिकर र बट्टामा लेखिएकै विषयलाई मात्र आधार भने नबनाउनुहाेस् । पूर्ववतरुपमा इन्स्टल गरिएका एपहरुले कति ठाउँ ओगटिरहेका छन्, त्यसलाई पनि ख्याल राख्नुस् ।

माइक्रो एसडी कार्डमार्फत स्मार्टफोनको स्टोरेजको क्षमता बढाउने सकिने भए पनि बाहिरी मेमोरीकार्ड प्रयोग गर्नुभन्दा ठूलो आन्तरिक मेमोरी रोज्नु उपयुक्त हुन्छ ।

६४ वा १२८ जिबी आन्तरिक मेमोरी छनौट गर्नुपूर्व आफूलाई वास्तवमा आवश्यक मेमोरी कति हो भन्ने राम्ररी विचार गर्नुहाेस् ।

मुभी, म्युजिक, फाइल र एभी एप सेभ गर्नका लागि कम्प्युटरको हार्ड ड्राइभको रुपमा पयोग गरिरहनु भएको छ कि ? छैन भने ३२ जिबी आन्तरिक मेमोरीले पनि काम चल्न सक्छ ।

हार्ड ड्राइभको विकल्पमा पछिल्लो समयमा उपलब्ध क्लाउड सेवालाई पनि उपयोग गर्न सकिने विकल्प त छँदैछ । कम्तीमा २ जिबी र्‍याम र ३२ जिबी आन्तरिक मेमोरीलाई चाहिँ न्युनतम आधार बनाउन सक्नुहुन्छ ।

स्मार्टफाेनका लागि अर्काे कुरा ध्यान दिनुपर्ने भनेकाे क्यामेरा हाे । फोनको क्यामेराको छनौटका लागि धेरैजसोले त्यसको मेगापिक्सेलमा ध्यान दिइरहेका हुन्छन् । तर त्यसो गर्नु राम्रो होइन । यदि त्यसो हुँदो हो त थोरै मेगापिक्सेलको आईफोनबाट धेरै मेगापिक्सेल भएका एन्ड्रोइडको भन्दा राम्रो फोटो कसरी खिचिँदो हो ?

त्यसैले राम्रो क्यामेराको ग्यारेन्टी मेगापिक्सेलले दिँदैन । बरु क्यामेराको सेन्सर, अपार्चर, शटर स्पिड र प्रोसेसरले क्यामेरालाई राम्रो बनाउने गर्दछ । यस्तोमा फोन खरिद गर्दा क्यामेरासँग सम्बन्धित सबै विषयमा ध्यान दिनुहोस् ।

धेरै एप भएको वा दैनिक रुपमा लामो समय प्रयोग गरिरहनुपर्ने मोबाइल छ भने त्यस्तोमा ठूलो ब्याट्री आवश्यक हुन्छ । यस्तोमा सकेसम्म कम्तिमा ४००० एमएएच क्षमताभन्दा ठूलो ब्याट्री नै रोज्नुहोस् । मोबाइलहरु बढी रिफ्रेश रेट, धेरै ब्राइटनेस र उच्च रेजोलुसन सहित आउन थालेपछि ब्याट्रीको खपत पनि त्यही मात्रामा बढी हुने गर्दछ र ठूलो आकारको ब्याट्रो जरुरी हुन्छ ।

संभवतः आफूसँग स्मार्टफोन खरिदका लागि सीमित रकम मात्रै छ भने, त्यो नै खरिद गर्न लागिएको मोबाइलको मूल्यको लागि पहिलो आधार हो । तपाईं जुनसकुै स्मार्टफोन खरिद गर्नुहोस्, त्यसको मूल्य अनलाइन अर्थात ईकमर्स तथा अफलाइन बजारमा तुलना गर्न नछुटाउनुहोस् ।

एउटै मोबाइल फरक फरक शपिङ साइटमा फरक मूल्य र डिस्काउन्टमा उपलब्ध हुनसक्छ । आफ्नो भएभरको सबै तलब प्रयोग गर्ने कि केही सस्तो तर समानान्तर रुपमा आवश्यकता पूर्ति गर्ने अर्को कुनै सेट किन्ने व्यक्तिगत रोजाइको कुरा हो ।

विशेष फिचर युक्त स्मार्टफोन खरिद गर्नका लागि पैसा पनि धेरै खर्च गर्नुपर्छ भन्ने जरुरी छैन । जुन अनुभव प्रयोगकर्तालाई प्रमियम डिभाइसमा प्राप्त हुन्छ, मिड रेञ्ज सेग्मेन्टमा पनि त्यही स्तरको फिचर भएको स्मार्टफोन पाउन नसकिने भन्ने हुँदैन । त्यसैले स्मार्टफोन खरिद गर्दा लागतमा भन्दा आफ्नो आवश्यकतामा बढी ध्यान दिनुहोस् ।

तर, सबैजसो रेन्जमा रहेका केही डिभाइस अन्यको तुलनामा उत्तम हुन सक्छन् भन्नेतर्फ चाहिँ विचार गर्न नभुल्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३