close

प्रहरी अस्पतालमा पनि अब क्यूआर कोड र पोस मसिनबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत २६, २०७७ १९:१३

प्रहरी अस्पतालमा पनि अब क्यूआर कोड र पोस मसिनबाट भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पोस मसिन हस्तान्तरण गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहीबार सो प्रविधि हस्तान्तरण गरे ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पोस मसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पताललाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी गराए ।

बि.सं. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरिक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१