काठमाडाैं । मोबाइल होस् वा कम्युटर । हामी औंलाले छोएकै भरमा चाहेको कुरा खोज्न सक्छौं । साथीभाइ र आफन्तलाई म्यासेज, अडियो र भिडियो कल गर्न सक्छौं । घरमै बसेर अफिसको काम गर्न सक्छौं । यी सबै काम गर्न पाएको जस हामी इन्टरनेटलाई दिन्छौं ।
तर, इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । तपाईंलाई पहिले पहिले हुलाकमार्फत कसरी चिठ्ठी पत्रको आदान प्रदान हुन्थ्यो भन्ने त पक्कै थाहा होला । त्यतिखेर हुलाकमार्फत आफन्तलाई चिठ्ठी पठाइन्थ्यो ।
एक ठाउँको हुलाकमा खसालिएको चिठ्ठी केही दिनमा अर्को ठाउँ पुग्थ्यो । खाममा हालेर आफन्तलाई चिठी पठाउथ्यौं । तर त्यो पत्रमा के लेखिएको छ भन्ने कुरा कसैलाई थाहा हुन्थेन ।
खामबाहिर लेखिएको ठेगानामा चिठ्ठी पुग्थ्यो र चिठ्ठी पाउनेलाई पनि कहाँबाट चिठ्ठी आएको हो भन्ने थाहा हुन्थ्यो । हुलाकको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पत्र पुगेजस्तै अहिले इन्टरनेटको माध्यमबाट एक कम्युटर डिभाइसबाट अर्को कम्युटर डिभाइसमा अक्षर, फोटो, भिडियो र अनेकथरी सामग्री पुग्छन् ।
तर इन्टरनेटमार्फत आदानप्रदान हुने सामग्री एक ठाउँबाट अर्को ठाउ पुग्न सेकेन्ड पनि लाग्दैन । पत्र पठाउँदा पाउने र पठाउनेको ठेगाना भएजस्तै, इन्टरनेटमार्फत हुने यस्ता सामग्रीको आदानप्रदानका लागि हरेक कम्प्युटर डिभाइसको आफ्नै ठेगाना हुन्छ ।
जसलाई आइपी एड्रेस अर्थात इन्टरनेट प्रोटोकल भनिन्छ । जसरी एकठाउँबाट पठाइएको चिठ्ठी विभिन्न हुलाक कार्यालयमार्फत साइकल, मोटरसाइकल, गाडी, हवाइ जहाज भएर अर्को ठाउँमा पुग्छ, त्यसैगरी, इन्टरनेटमा जोडिएको एउटा उपकरणबाट दिइएको डिजिटल आदेश विभिन्न तार, ताररहित प्रविधि, डिभाइस हुँदै अर्को ठाउँमा पुग्छ ।
इन्टरनेटमार्फत हुने यस्तो आदेशको आदानप्रदानलाई प्रविधिको भाषामा प्याकेट भनिन्छ । यस्ता प्याकेटमा हरेक प्रयोगकर्ताले दिएका आदेशहरु अटाएका हुन्छन् र तिनले कयौं तार, डिभाइस र ढोका पार गरेर प्रयोगकर्ताले भनेको सामग्री बोकेर आउँछन् ।