close

मोटोरोला एज २० सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

साउन १५, २०७८ ११:५१

मोटोरोला एज २० सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । मोटोरोलाले आफ्नो एज २० अन्तर्गत तीन ओटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एज २० लाइट, एज २० र एज १० प्रो गरी नयाँ फ्ल्यागशिप फोनको बजारमा ल्याएको हो ।

फाइभजी सपोर्ट रहेका यी तीनै मोबाइल फोनमा १०८ मेगापिक्सलको मेन क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसैगरी  ओएलईडी स्क्रिन सहित हाई रिफ्रेश रेट र ३० वाटको चार्जर समेत उपलब्ध गराइएको छ । यति धेरै स्पेसिफिकेसन समान हुँदाहुँदै पनि यी तीन फोनबीच केही भिन्नता पनि छन् । 

मोटोरोला एज २० प्रो 

स्न्यापड्रागन ८८८ को साटो यसमा स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ । यो फोन बजारको प्रतिस्पर्धामा आवश्यक उपलब्धि हासिल गर्न प्रयाप्त रहेको कम्पनीको दाबी छ । मूल्यको हिसाबले पनि यो फोनमा ८७० चिपसेट राखिएको कम्पनीको भनाई छ ।

नौ सय ९९ अमेरिकी डलर अर्थात करिब एक लाख १८ हजार रुपैयाँ पर्ने मोटोरोला एज प्लस भन्दा यो फोन सस्तो हुने कम्पनीले जनाएको छ । १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज रहेको यो फोनमा एक सय ४४ हर्ज रिफ्रेश रेट सहितको ६.७ इन्च डिस्प्ले राखिएको छ ।

यो फोनको मूल्य ८३० अमेरिकी डलर अर्थात ९८ हजार पाँच सय ४७ रुपैयाँ रहेको छ । ४५ सय एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १०८ मेगापिक्सेलको मेन क्यामेरा राखिएको छ ।

त्यस्तै फोनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र आठ मेगापिक्सेलको पेरिस्कोप लेन्स दिइएको छ । यो फोन ब्लु भेगन लेदर, मिडनाइट ब्लु र इरिडिसेन्ट ह्वाइट गरी तीन ओटा कलर भेरियन्टमा उपलब्ध छ । 

एज २० 

मोटोरोलाको एज सिरिजको स्ट्यान्डर्ड मोडलको रुपमा चिनाइएको एज २० का धेरै फिचर एज २० प्रो भेरियन्टमा जस्तै रहेका छन् । प्रो भेरियन्टमा जस्तै यसमा पनि १४४ हर्जको रिफ्रेश रेटसहितको ओएलईडी स्क्रिन रहेको छ ।

तर यो फोनमा चार हजार एमएएच ब्याट्री रहेको छ । त्यस्तै यसमा स्न्यापड्रागन ७७८ चिपसेट राखिएको छ । यो फोन छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । 

यसको मूल्य ५९० अमेरिकी डलर अर्थात करिब ७० हजार रुपैयाँ रहेको छ । यो फोन फरेस्टेड इमरल्यान्ड, फरेस्टेड ग्रे र फरेस्टेड ह्वाइट कलरमा उपलब्ध छ । 

एज २० लाइट 

यदि तपाईंलाई एज २० मन परेको छ, तर तपाईं त्यसको मूल्य तिर्न तयार हुनुहुन्न भने तिनै फिचरसहितको एज २० लाइट तपाईंको विकल्प बन्न सक्छ । ९० हर्ज रिफ्रेश रेट रहेको यो फोनमा ६.७ इन्चको ओएलइडी स्क्रिन राखिएको छ ।

त्यस्तै फोनमा पाँच हजार एमएएचको ब्याट्री दिइएको छ भने पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् ।  जसमा १०८ मेगापिक्सेलको मेन क्यामेरासहित यसमा आठ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

चार सय १५ अमेरिकी डलर अर्थात करिब ४९ हजार २७३ रुपैयाँ मूल्य रहेको यो फोन इलेक्ट्रिक ग्रेफाइट र लगुन ग्रिन कलरमा उपलब्ध छ । यी तीन वटै फोन एसिया, युरोप र ल्याटिन अमेरिकामा उपलब्ध हुनेछन्  भने एज २० लाइट र प्रो मोडेल मध्यपूर्व पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१