close

एकैपटक सयौं एन्ड्रोइड एप डिलिट गर्दै गुगल, यस्तो छ कारण

टेकपाना टेकपाना

साउन २१, २०७८ १५:३१

एकैपटक सयौं एन्ड्रोइड एप डिलिट गर्दै गुगल, यस्तो छ कारण

काठमाडौं । गुगलले आउँदो महिना प्ले स्टोरबाट सयाैं एप हटाउने निर्णय गरेको छ । कम्पनीले आफ्नो पछिल्लो कन्टेन्ट पाेलिसी उल्लंघन गर्ने एपलाई आफ्नो प्लेटफर्मबाट हटाउने भएको हो ।

यसअघि गुगलले प्ले स्टोरमार्फत रहेको दर्जनौं एप हटाएको थियो । एपमार्फत मालवेयर डाउनलोड गराई प्रयोगकर्ताको डेटा लिने जस्ता क्रियाकलाप हुने गरेको भन्दै कम्पनीले विभिन्न एप हटाएको थियो । जसको पछिल्लो उदाहरण ‘सुगर ड्याडी’ एप्स हुन् ।

तर, अब भने कम्पनीले एकैपटक सयाैं एप सधैंका लागि डिलिट गर्ने भएको हो । त्यो हुँदा प्ले स्टोरबाट एन्ड्रोइड फोनमा डाउनलोड भएका त्यस्ता एप पनि आफैं रिमुभ हुनेछन् ।

हामीमध्ये कतिपयलाई ‘सुगर ड्याडी’ एपको विषयमा जानकारी नहुन सक्छ । ‘सुगर’ शब्दको अर्थ दुई व्यक्ति सम्बन्धमा रहँदा एकले अर्कोलाई महँगो उपहारहरू दिने, घुमाउन लाने, पैसा दिनेजस्ता गतिविधिहरू हुन्छन् ।

विशेषगरी युवा युवतीहरू आफूभन्दा धेरै उमेर भएका पुरुष वा महिलासँग पैसाका लागि सम्बन्धमा बस्ने अवस्थालाई ‘सुगर रिलेसन’ भनिन्छ ।

पुरुष भएको खण्डमा ‘सुगर ड्याडी’ भनिन्छ भने महिला भएको खण्डमा ‘सुगर ममी’ भन्ने गरिन्छ । गुगल भने यस खालका सम्बन्धलाई प्रोत्साहन गर्ने एपहरूको पक्षमा नभएको देखिएको छ । गुगल प्ले स्टोरमा डेटिङसँग सम्बन्धित सयौं एपहरू उपलब्ध छन् ।

तीमध्ये एकदमै नाम कमाएका एप टिन्डर, बम्बल र ओकेक्युपिड हुन् । यी एपहरू पनि सुगर ड्याडी एपको रुपमा चिनिन्छन् । यस्ता एप गुगलको नयाँ नीतिभन्दा बाहिर रहेका छन् ।

यस्ता एप गुगलमा साधारण सर्च गर्दामात्रै पनि दुई सय ५० भन्दा बढी रहेको देखिन्छ । जसमार्फत कतिपय युवा युवतीले मासिक १८ हजार युरो आम्दानी गर्दै आएको जनाइएको छ ।

एक अध्ययनका अनुसार अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयमा सन् २०१९/०२० को सेसनमा अध्ययनरत एक हजार विद्यार्थी यसमा जोडिएका थिए । उनीहरूले आफ्नो अध्ययनका लागि आवश्यक पर्ने खर्च यसैबाट उठाउने गरेको समेत उल्लेख गरिएको छ ।

तर, अब भने गुगलले यस्ता सम्पूर्ण एप बन्द गर्ने भएको हो ।

‘हामी प्रयोगकर्तालाई सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौं,’ गुगलका प्रवक्ताले भनेका छन्, ‘तर, यस्ता एप हाम्रो नीतिभन्दा बाहिरको विषय हो । त्यसैले यस्ता एपलाई गुगल प्ले स्टोरबाट हटाउने तयारी भएको हो । प्ले स्टोरमार्फत मात्रै नभएर प्रयोगकर्ताको मोबाइलबाट पनि यस्ता एप हट्नेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१